
मान्छेको ५ ज्ञानेन्द्रियमा पर्ने आँखा संवेदनशील अंग मध्येको एक हो । सबै उमेर समूहका मानिसका लागि आँखा सबैभन्दा महत्वपूर्ण अंगमा पर्छ । हामीले बाहिरी दृश्य देखेपछि त्यसैको प्रतिक्रिया जनाउने भएकाले पनि हेर्नका लागि आँखाको महत्वसँग अरूको तुलना गर्न सकिन्न । आँखासम्बन्धी समस्या कसलाई हुने कुन बेला हुने वा यो कुन उमेरकालाई हुने भन्ने हुँदैन । जो कसैलाई पनि आँखाको समस्या हुन सक्छ । यद्यपि उमेर बढेसँगै आँखामा समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय बालबालिकामा समेत आँखासम्बन्धी समस्या बढ्दै गएको छ ।
पछिल्लो समय बालबालिकामा अन्य स्वास्थ्य समस्या जस्तै आँखाको समस्या पनि प्रशस्तै देखिन थालेको छ । प्रायः पाको उमेरमा वा चालिसे लागेपछि (उमेरले ४० वर्ष भएपछि) देखिने गथ्र्यो आँखाको समस्या । तर, पछिल्लो समय ठुला मान्छेसँगै बालबालिकामा पनि आँखाको समस्या बढ्दो रूपमा देखिन थालेको छ । प्रायः बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । ठुला मान्छेले जस्तो आफ्ना समस्या सुनाउन नसक्दा कैयौँ अवस्थामा उपचारमा ढिलो हुने र समस्या जटिल हुने गरेको छ ।
हरेक अभिभावकले आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर विशेष ध्यानदिन जरुरी भएको छ । बालरोग विशेषज्ञहरूका अनुसार बच्चा जन्मेपछि २–३ महिनापछि अनुहार हेरेर मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ । यदि ३ महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ कि वस्तु हेरेर पनि पछ्याउँछ विचार गर्नुपर्छ । त्यसले पनि बच्चाको दृष्टिशक्ति कस्तो हुँदै छ भनेर अनुमान लगाउन सकिने विज्ञ बताउँछन् ।
आँखा हल्लिइरहेको वा दुवै आँखाले सिधा अगाडि सोझो हेर्दैन भने अभिभावकले बच्चाको आँखा कमजोर रहेछ भनेर बुझ्नुपर्ने विज्ञहरू बताउँछन् । यस्तो कुनै समस्या भएको शंका लागेमा डाक्टरकोमा जचाउनुपर्छ । स्कुलमा राम्रोसँग पढ्न सक्दैन, गृहकार्य गर्न सक्दैन र घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै आएर हेर्न खोज्छ भने दृष्टि कमजोर भएको हुनसक्छ । त्यस्तो बेला अभिभावकले उनीहरूको उपचार गराउन ढिला गर्न नहुने डाक्टर बताउँछन् ।
०००
अभिभावकले ख्याल गर्नुपर्ने कुरा
आफ्ना नानीबाबुहरूको आँखा कस्तो छ भनेर हरेक अभिभावक सचेत हुनपर्छ । बालबालिका नयाँ ठाउँमा जाँदा अभिभावक खोज्ने, आफैँ हिँड्न नसक्ने, आवाज पछ्याउने तर हेरेर हिँड्न नसक्ने हुनथाले त्यो आँखा कमजोर भएको संकेत हो । हिँड्न खोज्दा ठोक्किने, पटकपटक लड्ने भयो भने पनि आँखामा समस्या छ कि भनेर बेलैमा ध्यान दिनुपर्ने विज्ञ सुझाउँछन् । यस्तै हरेक मान्छेको आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो रङ देखिएमा चिकित्सकलाई देखाइहाल्नु पर्छ ।
बच्चाहरूको आँखाको नानी अस्वाभाविक रूपमा टल्किरहन्छ वा बिरालोको जस्तो नानी देखिएको छ भने तुरुन्त जाँच गराउन डाक्टरहरूको सुझाव छ । त्यस्तो लक्षण देखिएमा आँखाको क्यान्सर पनि हुन सक्ने विज्ञ बताउँछन् । त्यसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । विज्ञका अनुसार यस्तो समस्याको समयमै उपचार भएमा औषधि दिएर ट्युमर सानो बनाउन सकिन्छ । केमोथेरापी दिएर ज्योति बचाउन सकिन्छ तर ढिला भएमा आँखा झिकेर फाल्नुको विकल्प हुँदैन ।
यसैगरी गर्भवती अवस्थामा महिलालाई मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ । त्यो समयमा कुनै संक्रमण भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ । यस्ता कुरा अभिभावक, विद्यालयका शिक्षकले ध्यान पु¥याउन आवश्यक हुन्छ । त्यसबाहेक पनि ६ महिना वा १ वर्षमा नियमित रूपमा बच्चाको आँखा जाँच गराइरहनुपर्छ । बच्चा समय नपुग्दै जन्मिएको छ, जन्मँदा बच्चाको तौल १५ सय ग्रामभन्दा कम छ भने आँखामा समस्या देखिने प्रबल सम्भावना हुन्छ ।
०००
मानिसको शरीरको सबैअंग महत्वपूर्ण हुन्छ तर, जतिबेला जे समस्या पर्छ त्यसैलाई महत्वपूर्ण ठान्ने गरिएको पाइन्छ । सबै अंगको आआफ्नै महत्व हुन्छ । हाम्रो शरीरमा आँखा महत्वपूर्ण पाटो हो । त्यसैले हामीले सारा दुनियाँ हेर्ने आँखाको महत्वलाई कम ठान्नु हुँदैन । आँखा स्वच्छ तथा सुन्दर हुँदा मात्रै त्यसले सुन्दर संसार देख्न सक्छ । त्यसलाई हेरविचार ग¥यौँ भने त्यसले हाम्रो हेरविचारमा सहयोग गर्छ ।
अहिले पनि धेरैलाई लाग्न सक्छ, आँखा त बुढाबुढी भएपछि कमजोर हुन्छ, त्यो बुढाबुढीलाई लाग्ने रोग हो । तर, त्यो भनाइ र बुझाइ निकै पुरानो भइसकेको छ । पछिल्लो समय बालबालिकामा पनि प्रशस्तै मात्रामा आँखाको समस्या देखिने गरेको छ । बाल आँखा स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण र संवेदनशील हुन्छ, जति प्रौढ र वृद्धवृद्धाको हुन्छ ।
शरीर विज्ञानले पनि बाल आँखा रोग एउटा छुट्टै र गहन विषय भएको बताउँछ । यसले बालबालिकाको दृष्टि एवं अन्य आँखासम्बन्धी रोगहरूको बारेमा जाँच, उपचार र परामर्श गर्दछ । एक अध्ययनका अनुसार संसारमा अन्धोपनको प्रमुख कारण मोतिबिन्दु, जलबिन्दु, नानीसम्बन्धी समस्या, पर्दासम्बन्धी समस्याहरू हुन् । तर, बाल अन्धोपनलाई एउटा बालकले आफ्नो जीवनभर आँखा देख्न नसक्ने भएर बाँच्नुपर्ने अवधिको रूपमा हामीले मापन गर्ने हो भने यो मोतिबिन्दु पछि संसारमा अन्धोपन गराउने प्रमुख कारकको रूपमा देखिन्छ ।
०००
विश्व स्वास्थ्य संगठनले बाल अन्धोपनलाई आफ्नो प्रमुख प्राथमिकताका रोगहरूको सूचीमा राखेको छ । नेपाल जस्तै अन्य विकासोन्मुख देशमा लाग्ने बाल अन्धोपनसम्बधी झण्डै दुईतिहाइ रोगहरू समयमै पत्ता नलागेर वा उपचार नपाएर बल्झिने गरेको छ । बालबालिकाका आँखासम्बन्धी समस्या ठुला व्यक्तिमा हुने समस्याभन्दा निकै भिन्न तरिकाले हुन्छन् । यिनलाई गर्ने जाँच र उपचार पद्धति पनि भिन्न हुने विज्ञहरू बताउँछन् ।
साना केटाकेटीहरू आँखा दुख्ने, रातो हुने, दृष्टि कमजोर हुने जस्ता समस्या र त्यसका लक्षणबारे केही भन्न सक्दैनन् । बाल अवस्थामा लागेका आँखाका रोगहरू समयमै पत्ता लगाएर उपचार गर्न नसके आँखा अल्छी भएर जान्छ । त्यस्तो अल्छी आँखाको उपचार ठुलो भएपछि जटिल हुने विज्ञ बताउँछन् ।
खासगरी बच्चामा देखिने आँखाका समस्या भनेको अल्छी आँखा, छड्के आँखा, जन्मजात हुने मोतिबिन्दु, जलबिन्दु, आँखामा लाग्ने चोटपटक, संक्रमण (आँखा पाक्ने) र एलर्जीसम्बन्धी समस्याहरू साथै रतन्धो आदि प्रमुख हुने गरेको विज्ञ बताउँछन् ।
०००
लक्षण
आँखाको कालो नानीमा सेतो देखिनु
कुनै पनि वस्तु हेर्दा मुन्टो तथा अनुहार बंग्याउनु
आँखा छड्के देखिनु
आँसु आउनु, धेरै आँखा झिम्क्याउनु वा रातो हुनु
आँखा चिलाइरहनु
नजिकबाट टेलिभिजन हेर्नु
सामाधन
यदि कुनै बच्चामा यस्ता लक्षणहरू देखिएमा तुरुन्तै आँखा जाँच गराउनु पर्दछ । त्यसबाहेक, सबै बालबालिकाका आँखा कम्तिमा पनि जन्मेको ४५ दिनदेखि २ महिनामा १ पटक, ६ महिनामा १ पटक, विद्यालय भर्नाको समय (३–४ वर्ष) मा १ पटक जँचाउनुपर्ने विज्ञ बताउँछन् ।
यस्तै ८ देखि १० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष बालबालिकाको आँखा जाँच गराउनु पर्छ । यसका साथै कम तौल भएका र अवधिभन्दा पहिले जन्मिएका शिशुहरू (प्रिम्याच्योर बेबी) को आँखा जाँच जन्मेको १ महिनादेखि ६ हप्ताभित्रमा गराउनुपर्ने विज्ञहरू सुझाउँछन् ।
बालबालिकामा देखिने आँखाको एक प्रमुख समस्या हो, दृष्टिदोष (रिफ्रिक्टिभ एरर) । यो बालबालिकामा सबैभन्दा बढी देखिने आँखाको समस्या रहेको बिज्ञ बताउँछन् । यी विभिन्न प्रकारका हुन्छन् जसलाई अंग्रेजीमा मायोपिया हैपरमेट्रोपिया, अस्टिगमाटिज्म भनिन्छ । आँखामा राम्रोसँग किरण परिवर्तन नहुँदा यो समस्या देखिने बताइन्छ । मायोपिया धेरैजसो स्कुले केटाकेटीमा पाइन्छ । साधारणतया यो रोगभन्दा पनि आँखामा हुने एउटा यस्तो अवस्था हो जसलाई ‘फिजिओलोजिकल मायोपिया’ पनि भनिन्छ ।
००००
धेरै मानिसमा आँखामा हुने दृष्टिदोष बारे अहिले पनि गलत धारणाहरू पाइन्छ । यति सानो उमेरमा नै आँखा कमजोर हुन्छ र ? यति सानो उमेरमा नै चस्मा लगाउन पर्छ र ? मेरो बच्चाले चस्मा कसरी लगाउँछ ? चस्मा लगाइदिएमा आँखा झन्झन् कमजोर बन्ने र चस्माको पावर बढाउनुपर्ने हुँदैन र ? अलि ठुलो भएपछि लगाए हुँदैन र ? यस्तै यस्तै कुरा सुनिने गर्छ ।
यस्ता गलत धारणालाई सबैले हटाउनुपर्ने विज्ञको सुझाव छ । विज्ञका अनुसार धेरैजसो दृष्टिदोष एकपटक देखा परेपछि अलिअलि बढ्दै जान्छ । तर आँखाको पावर कति छ भन्दा पनि चस्मा लगाएपछि कति दृष्टि आउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दृष्टिदोषको समयमै उपचार नगरेमा आँखा अल्छि भएर जान्छ । यदि चाहिने जति पावरको चस्मा लगाउँदा पनि दृष्टि नफर्केमा त्यस्तो अवस्थालाई अल्छि आँखा भनिन्छ । यदि आँखा अल्छि देखिएमा यसको समयमै उपचार जरुरी छ ।
चर्चा गरिएका बालबालिकाका आँखाका सबै रोग यदि समयमै पत्ता लगाएमा उपचार सम्भव हुन्छ । तर उपचारमा ढिलाई गरेमा पछि उपचार गराए पनि बालबालिकाको दृष्टि फर्कने सम्भावना न्यून हुने विज्ञ बताउछन् । रोग पत्ता लगाउने उपाय भनेको पहिलो कुरा रोगका केही सामान्य लक्षणहरूको बारेमा जानकारी राख्नु नै हो । दोस्रो, प्रत्येक बालबालिकाको समय समयमा आँखा जाँच गराउनु नै राम्रो उपाय हो । आफ्ना समस्या बालबालिकाले बताउन नसक्ने भएकाले यसमा अभिभावक नै सचेत हुनेपर्ने विज्ञहरूको सुझाव छ ।
००००
बालबालिकामा दृष्टिदोषको समस्या बढ्दो छ : डा.इन्दुप्रसाद ढुंगेल, आँखा रोग विशेषज्ञ

बालबालिकामा आँखामा समस्या देखिने गरेको छ । खास गरेर विद्यालय जाने बेलाका बालबालिकामा देखिने आँखाको समस्यालाई दृष्टिदोष भनिन्छ । त्यसमा आँखाको पावर मिल्दैन । आँखाको पावर नमिलेपछि बालबालिकाले टाडाको दृश्य राम्रोसँग देख्दैनन् । टाडाको नदेखे पछि उनीहरूलाई हेर्न समस्या हुन्छ । त्यो समस्या उनीहरू भन्न सक्दैनन् । नजिक देख्ने टाडा नदेख्ने समस्या कतिपय अवस्थामा सहजै परिवारले थाहा पाउँदैनन् ।
यो समस्या हुनका प्रमुख कारण भनेको आँखाको बनावटकै कारण हुन्छ । आँखाको बनावटका कारण सफा, प्रष्ट नदेख्ने हुन्छ । यसलाई मायोपिया भनिन्छ । उक्त समस्याले विद्यालय जाने बच्चाले बोर्डमा लेखेको अक्षर देख्दैनन् । कतिपय विद्यार्थी त्यस्तो अवस्थामा अगाडिको बेन्चमा बस्छन् । कि पढन नै आउँदैनन्, समस्या भन्न सक्दैनन् । सबै बाबुआमाले पनि समस्या बुझ्दैनन् । केटाकेटी विद्यालय नै नजाने अवस्था आउँछ । यस्तो अवस्थामा घरमा बस्ने, मोबाइल हेर्ने गरेको केस धेरै आउने गरेको छ ।
अर्को भनेको हिजो आज धेरै मात्रामा मोबाइल हेर्ने गरेर पनि आँखामा समस्या आउने गरेको छ । यसमा अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने, आफ्ना बालबालिकाले धेरै नजिकबाट मोबाइल, टिभी हेर्ने वा कम्प्युटर, ल्यापटप चलाउने गरेका छन् भने उनीहरूमा आँखाको समस्या छ भनेर बुझ्नुपर्छ । यसै गरी आँखा रातो हुने, टाउको भारी हुने, आँसु आउने, पढन मन नलाग्ने, पढ्दा अक्षरहरू दुईवटा देख्ने जस्ता समस्या हुनसक्छ । योचाहिँ दृष्टि दोष होइन । यो समस्या सबै उमेर समूहमा हुन सक्छ ।
पहिलाको तुलनामा बच्चामा आँखाको समस्या बढी देखिनु भनेको उपचारको प्रक्रियामा आएर पनि हो । अर्को कुरा विभिन्न निकायले विद्यालय विद्यालयमा स्वास्थ्य परीक्षण गर्छ । काठमाडौँका धेरैजसो विद्यालयमा गएर बच्चाका आँखा परीक्षण गर्ने गरिएको छ । त्यसले पनि उनीहरूको समस्या बाहिर आउने गरेको छ । बच्चामा टाढाको नदेख्ने समस्या निकै बढेको छ । अहिले अभिभावक पनि सचेत भएको पाइन्छ । अझ सचेत भएर त्यस्तो समस्या देखिएमा उपचार गराउनु पर्छ । बच्चाले कसरी हेरिरहेको छ । ख्याल गर्नुपर्छ ।
प्रतिक्रिया