बाढीपहिरोसँगै झाडापखाला र हैजाको जोखिम

— इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो प्रतिवेदनअनुसार देशभर संक्रामक रोगहरू बढ्दो छ । महाशाखाका अनुसार पछिल्लो एकसाताको अवधिमा मात्रै देशभर ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन् । पछिल्ला ३ साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ बढी बिरामी भेटिएको इडिसिडीले जनाएको छ ।

– मनसुन सक्रिय भएर वर्षा सुरु भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम उच्च बनेको विज्ञले बताएका छन् । लगातारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति अवरुद्ध भएपछि हाल उपत्यकाका विभिन्न क्षेत्रमा ट्यांकरमार्फत खानेपानी वितरण भइरहेको छ । विगतमा काठमाडौँ, ललितपुर, कैलाली, रूपन्देही र प्युठानमा देखिएको हैजाको मुख्य स्रोत दूषित खानेपानी नै रहेको ठहर भएकाले यस वर्ष पनि ट्यांकर तथा अन्य स्रोतको पानी शुद्धीकरण नगरी प्रयोग नगर्न स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।

केही दिनदेखि देशभर मनसुन सक्रिय भएको छ । वर्षासँगैको बाढीपहिरोले पानीका मूलसमेत प्रदूषित हुने गर्दछन् । मनसुन सक्रिय भएको अवस्थामा पानीजन्य तथा विभिन्न संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढ्ने विज्ञ बताउँछन् । अहिले पनि निरन्तर वर्षात भएकाले संक्रामक रोग बढेको पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशभर झाडापखाला, हैजा, टाइफाइड, डेंगु र श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीहरूको संख्या उल्लेखनीय बढेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । यो आग्रहले पनि देशभर विभिन्न प्रकारका पानीजन्य संक्रामक रोगको जोखिम बढेको संकेत गर्दछ ।

सामान्यतः गर्मी तथा वर्षाको मौसम सुरु भएसँगै सरुवा रोगको जोखिम बढ्ने गरेको विगतको अनुभव छ । पानीजन्य संक्रमण, खानपान, हावा र कीटाणुका कारण विभिन्न प्रकारका सरुवा रोग लाग्ने गर्छ । यसको कारण भनेको वर्षायाममा भेल मिसिएर खानेपानीका स्रोतहरू दूषित हुनु पनि हो । पानीमा जनावरको मलमूत्र मिसिएर पनि खानेपानीको स्रोत दूषित हुन्छ । त्यसैले दूषित पानीबाट सर्ने रोग गर्मी र वर्षयाममा धेरै हुने गर्छ ।

दूषित खानेपनीका कारण हुने विभिन्न संक्रमणसँगै यो समयमा लामखुट्टे पनि बढी हुने भएकाले यसले पनि विभिन्न रोग निम्त्याउने गर्छ । धेरै गर्मीका कारण खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिंगा, लामखुट्टे, साङ्ला पनि यो मौसममा धेरै पाइने भएकाले यो समयमा संक्रमणको जोखिम धेरै हुनेगर्छ । त्यसैले वर्षातसँगै गर्मी मौसममा हुनसक्ने विभिन्न स्वास्थ्य समस्याबाट बच्नुपर्ने स्वास्थ्य विज्ञ सुझाउँछन् । यस्तोमा गर्मी तथा वर्षामा लाग्ने मुख्य रोगहरू र तिनबाट बच्ने उपाय अपनाउन जरुरी हुन्छ ।

००००

झाडापखाला : हरेक वर्षको वर्षायाम सुरु भएपछि देखिने समस्या मध्ये एक हो, झाडापखाला । यो समयमा झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढ्ने गर्छ । प्रायः जीवाणु, विषाणु तथा परजीवीलगायत संक्रमणले गर्दा झाडापखाला लाग्ने गर्छ । दूषित पानी पिएमा, सडेगलेको, झिंगा भन्केको खाना खाएमा, यस्तै काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जीवाणुहरू पानी, खाना र हातको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

खासगरी झाडापखाला हुँदा बान्ता हुने, पेट दुख्ने, पेट गड्याङगुडुङ गर्ने, रक्तचाप कम हुने, हातखुट्टा र मांसपेशी दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउनेलगायत लक्षण देखा पर्छ । धेरै बान्ता र पखाला भएर जलवियोजन भएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

झाडापखाला खाना तथा पानीबाट सर्ने भएकाले स्वस्थ जीवनशैली तथा आनीबानी र स्वस्थ आहारविहारले यो रोग लाग्न तथा फैलिनबाट जोगाउँछ । खाना बनाउनुअघि, खानुअघि र दिसा धोइसकेपछि राम्रोसँग साबुन पानीले हात धुने, खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरू राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ । त्यसमा सावधानी अपनाउन पर्ने विज्ञ बताउँछन् ।

हैजा : वर्षात्को समयमा हुने अर्को समस्या हो, हैजा । यो खासगरी दिसा हुने किटाणु मिसिएको पानी वा खाना खानाले लाग्ने गर्छ । भिब्रियो नामक ब्याक्टेरियाका कारण हुने हैजा संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्दछ । दूषित पानी र खानाबाट समेत यो मानिसमा सर्ने गर्छ । हैजाको संक्रमण भएमा बिरामीलाई चौलानी जस्तो दिसा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपेशी बाउँडिने, बेहोस हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरमा पानीको मात्रा कम हुने जस्ता लक्षण देखा पर्छन् ।

यस्ता समस्या आउन नपाउन् भनेर सचेत हुनुपर्ने हुन्छ । त्यसका लागि घरमा नै गर्न सकिने केही उपाय पनि छन् । वर्षायाममा हुनसक्ने सरुवा रोगबाट बच्न पानी उमालेर, शुद्धीकरण गरेर मात्रै पिउनु पर्छ । तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खानुपर्छ । यसका साथै घर वरपर सफा राख्ने, फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्नुपर्छ । अत्यधिक ज्वरो आउने, दिसामा रगत देखिने, दिनमा ५ पटकभन्दा बढी पखाला लाग्ने जस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।

टाइफाइड : गर्मीसँगै हुने वर्षात्को समयमा देखिने अर्को स्वास्थ्य समस्या हो टाइफाइड । अहिलेको मौसममा टाइफाइट हुने सम्भावना पनि बढी हुन्छ । साल्मोनेला टाइफी तथा टाइफी ब्याक्टेरियाले यो रोग लाग्छ । यसको सुरुआती लक्षण ज्वरो हो । सुरुसुरुमा उच्च ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, शरीर कमजोर हुने, खोकी लाग्ने, खान मन नलाग्ने, कसैकसैमा शरीरमा गुलाबी खालको बिमिरा आउने जस्ता लक्षण देखा पर्छन् । यसको समयमा उपचार भएन भने आन्द्रा प्वाल परेर रक्तस्राव पनि हुनसक्छ । त्यसैले यस्तो लक्षण देखिनासाथ चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ ।

टाइफाइडबाट बच्न पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने, खानुअघि राम्ररी हात धुने, तारेको, भुटेको खानेकुरा नखाने, जतिसक्दो, ताजा र पौष्टिक आहारा खाने र टाइफाइडग्रस्त मानिसको संसर्ग नबस्ने आदि कुरामा ध्यान दिनुपर्छ ।

डेंगु : वर्षात् र गर्मी बढेका बेला एडिस् जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता संकेत यसका लक्षण हुन् ।

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्नसक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्दछ ।

औलो : अहिलेको मौसममा देखिने अर्को समस्या भनेको औलो हो । यो पनि लामखुट्टेकै टोकाइबाट लाग्ने रोग हो । यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । औलो संक्रमित बिरामीलाई एकदमै जाडो हुने, कामज्वरो आउने, अत्यधिक पसिना आउने, टाउको दुख्ने, बान्ता हुने, शरीर दुख्ने, ४८ वा ७२ घण्टाको फरकमा ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । यो रोग लामखुट्टेले टोकेर परजीवीहरू शरीरमा प्रवेश गरेको सामान्यतः १० देखि १५ दिनभित्रमा देखिन सुरु हुन्छ । समयमै उपचार भएन भने बिरामीको मृत्युसमेत हुनसक्छ ।

औलोबाट बच्न पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्ने तथा घरबाहिर निस्कँदा लामखुट्टेको टोकाइबाट बच्ने मलमको प्रयोग गर्नु नै औलोबाट बच्ने प्रमुख उपाय हो ।

जन्डिस (हेपाटाइटिस ए, ई) : दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ अर्थात् जन्डिस सर्न सक्छ । गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो रोगको भाइरस मानिसको पेटमा प्रवेश गर्छ । यो रोग लागेमा आँखा पहेँलो हुने, खानामा रुचि कम हुने, पेट दुख्ने, ज्वरो आउने, पिसाब हल्का कालो हुने, कमेरो खालको दिसा आउने, टाउको दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखा पर्छन् । जन्डिसबाट बच्न शुद्ध पानीको प्रयोग गर्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ र सफा तथा सन्तुलित खाना खानुपर्ने विज्ञहरू बताउँछन् ।

००००

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो प्रतिवेदनअनुसार देशभर संक्रामक रोगहरू बढ्दो छ । महाशाखाका अनुसार पछिल्लो एक साताको अवधिमा मात्रै देशभर ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन् । पछिल्ला ३ साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ बढी बिरामी भेटिएको इडिसिडीले जनाएको छ ।

महाशाखाका अनुसार इन्फ्लुएन्जाजस्तो रोगका ५ सय, श्वासप्रश्वास संक्रमणका ४३६, डेंगुका ११३, स्क्रब टाइफसका ३७, ज्वरोसँगै बिबिरा आउने समस्या भएका ३३ बिरामी फेला परेका छन् । यस्तै झाडापखालाका सबैभन्दा धेरै ३८० बिरामी बागमती प्रदेशमा फेला परेका छन् । त्यस्तै, इन्फ्लुएन्जाका सर्वाधिक बढी १९८ बिरामी सुदूरपश्चिम प्रदेश र श्वासप्रश्वास संक्रमणका १०७ बिरामी लुम्बिनी प्रदेशमा देखिएका छन् । डेंगुका संक्रमितहरूमध्ये सबैभन्दा धेरै ४३ जना कोसी प्रदेशमा फेला परेका छन् भने स्क्रब टाइफसका बिरामी गण्डकी र सुदूरपश्चिममा बढी देखिएका छन् ।
मनसुन सक्रिय भएर वर्षा सुरु भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम उच्च बनेको विज्ञले बताएका छन् । लगातारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति अवरुद्ध भएपछि हाल उपत्यकाका विभिन्न क्षेत्रमा ट्यांकरमार्फत खानेपानी वितरण भइरहेको छ । विगतमा काठमाडौँ, ललितपुर, कैलाली, रूपन्देही र प्युठानमा देखिएको हैजाको मुख्य स्रोत दूषित खानेपानी नै रहेको ठहर भएकाले यस वर्ष पनि ट्यांकर तथा अन्य स्रोतको पानी शुद्धीकरण नगरी प्रयोग नगर्न स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।

००००

संक्रामक रोगको जोखिमको समय हो : डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

अहिलेको मौसम जोखिमपूर्ण छ । झाडापखालाका बिरामी बढेका छन् । अहिलेको मौसमका कारण पानी दूषित भएर पनि संक्रामक रोगहरू देखिने गर्छ । अहिलेसम्म हेर्दा पिउन पानी स्वच्छ नभएकाले पनि समस्या भएको भन्ने छ ।
अहिलेको मौसम जोखिम हो । सामान्यतः मनसुन सक्रिय भएपछि विभिन्न संक्रामक रोगहरू देखिन्छ । अहिलेको समयमा विभिन्न प्रकारका पानीजन्य रोगहरू देखिने गर्छ । यसैगरी हावाबाट फैलने रोग पनि देखिने गर्छ । अर्को भनेको मौसमी फ्लु पनि यति बेला नै देखिन्छ । यी समस्या अब बढ्दै जाने हो । त्यसैले यसमा सबैले सचेत हुनपर्छ ।


अहिले भनेको पानी पर्दा धेरै नै पर्ने र गर्मी पनि धेरै हुने अवस्थामा समस्या देखिने गर्छ । अझ पानी जम्ने, मान्छेको घरघरमा पनि पानीको भेल पस्ने गरेको छ । यस्तो बेला झन् जोखिम हुनेगर्छ । घरभित्र पस्ने भेलमा धेरै दूषित पानी मिसिएको हुनसक्छ । त्यसले पनि समस्या पर्नसक्छ । अहिले पछिल्लो समय काठमाडौँमा यो समस्या बढी देखिएकोले यहाँ पनि जोखिम बढेको छ ।

अहिले काठमाडौँमा मेलम्चीको खाने पानी बन्द भएको छ । त्यसको विकल्पमा प्रयोग हुने पानी पनि समस्या हुनसक्छ । जार वा ट्यांकरको पानीको स्वच्छदा कस्तो छ ? त्यसमा प्रयोग कर्ताले ध्यान दिनपर्छ । पानी नभई हुँदैन तर, कस्तो पानी प्रयोग गरिरहेका छौँ ? भन्ने बारेमा भने सबैले सचेत हुनपर्छ । यसको उदाहरणका रूपमा भन्दा गएको वर्ष वीरगन्जमा हैजा फैलियो । त्यसले ठुलो क्षति पनि पु¥यायो । त्यहाँ पनि खानेपानीकै कारण फैलिएको भनियो । त्यसैले यसमा सबै निकाय सचेत हुनुपर्छ ।

अहिलेको अवस्थामा सचेत हुनु महत्वपूर्ण कुरा हो । पानी र खाना सफा खानुपर्छ । उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएको पानी मात्र पिउनुपर्छ । त्यसैगरी खाना राम्रोसँग पकाएर खाने, फलफूल तथा तरकारी सफा पानीले धोएर मात्र प्रयोग गर्ने र खुला स्थानका अस्वस्थ खाना नखाने गर्नुपर्छ । महत्वपूर्ण कुरा भनेको पानी हो । जारको पानी प्रयोग गर्दा ध्यान दिनुपर्छ ।

व्यक्तिगत सरसफाइका बारेमा सबै सचेत हुनपर्छ । सानो हेलचेक्राँइले ठुलो क्षति हुन सक्ने भएकाले नागरिक आफैँ सचेत हुन आवश्यक छ । पानीका साथै खानेकुरा राम्रोसँग पकाएर खानुपर्छ । फलफूल पनि राम्रोसँग पखालेर मात्रै खानुपर्छ । सबै सचेत भएमा क्षतिबाट बच्न सकिन्छ ।

प्रतिक्रिया