दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई शपथ

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो ।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिएका दिएका हुन् ।

मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए ।

उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । वैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति रहेकाे थियाे ।

को हुन नवनियुक्त उपकुलपति र रजिष्ट्रार

उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रुपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आएका छन् । यसअघि उहाँ सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रुपमा समेत काम गरेका थिए ।

जोशीले अक्सपोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रुपमा पनि जोशीले काम गरेका छन् । काठमाडौँ चाबहिलका स्थानीय बासिन्दा जोशीले एमडी, एमफिल, पिएचडी, पिजिडिडि, एफआरएसपिएचलगायतका शैक्षिक उपाधी हासिल गरेकाे छ । चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुमा उहाँको सक्रिय संलग्नता रहेको थियो ।

त्यसैगरी, नवनियुक्त रजिष्ट्रार डा. भिमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील छ्न् । उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन् । उयसअघि उनले सहिद दशरथचन्द्र स्वास्थय विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यको रुपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका थिए ।

बैतडीको पाटन नगरपालिका १ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रुपमा समेत योगदान दिइसकेका छन् ।

प्रतिक्रिया