हियर नेपालको साधारणसभा सम्पन्न

काठमाडौँ । हियर नेपाल (HEAR Nepal) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बानेश्वरस्थित महर्षि कलेजमा संस्थाका अध्यक्ष माधव जोशीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रमका डा. सुरेश मल्ल, सुष्मा खड्का तथा महर्षि कलेज, बानेश्वरका निर्देशक दिपेन्द्र जोशीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष माधव जोशीले प्रस्तुत गर्नुभएको अध्यक्षीय प्रतिवेदनमा विद्यालय स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, विद्यालय स्वास्थ्य नर्स (School Health Nurse–SHN) तालिम कार्यक्रम, संस्थागत विकास, विगतका उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइएको थियो । प्रतिवेदनमाथि सहभागी सदस्यहरूले रचनात्मक छलफल गर्दै संस्थाको भावी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। साथै, संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिले संस्थालाई सुशासन, पारदर्शिता, उत्तरदायित्व र दिगोपनका आधारमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रमुख अतिथि डा. सुरेश मल्लले हियर नेपालले विद्यालय स्वास्थ्य, स्वास्थ्य शिक्षा, किशोर–किशोरी स्वास्थ्य तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे ।

त्यसैगरी, विशेष अतिथिहरू सुष्मा खड्का र दिपेन्द्र जोशीले संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सामाजिक योगदानको सराहना गर्दै विद्यालय स्वास्थ्य कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष माधव जोशीले संस्थाको सफलतामा निरन्तर सहयोग, साथ र विश्वास प्रदान गर्ने प्रमुख अतिथि, विशेष अतिथि, सल्लाहकार, सदस्यहरू, साझेदार संस्था, दातृ निकाय, स्वयंसेवक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे ।

उनले आगामी दिनमा हियर नेपाललाई विद्यालय स्वास्थ्य, स्वास्थ्य शिक्षा र मानव अधिकारको क्षेत्रमा राष्ट्रिय स्तरको अग्रणी संस्थाका रूपमा स्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा प्रयासका साथ संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया