काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको र उनीहरुको सुरक्षाबारे पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
पछिल्लो समय भारत र पाकिस्तानबीच बढिरहेको द्वन्द्वको समय पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो ।
आज शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
आज बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा रहेका ८० नेपाली विद्यार्थीले उद्धारको माग गरेकाले त्यसका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया