रास्वपाले भन्याे – पाकिस्तानमा रहेका नेपाली विद्यार्थीकाे तुरुन्त उद्धार र सुरक्षाको पहल होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै त्यसका पहल गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिससभाको बैठकमा बौल्दै उनले भने, ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस् ।’

हालै भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै खनालले नेपाल र्साकको अध्यक्ष भएकाले भारत–पाकिस्तान तनावबारे स्वभाविक चासो हुनुपर्ने धारणा समेत राखे ।

‘भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएकोछ,’ उनले भने, ‘आफ्नो छिमेकी मात्रै होइन र्साकको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्दछ ।’

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर आतंकवादविरुद्ध स्पष्ट अडान राखेको भन्दै त्यसको स्वागत गर्दै खनालले भारत र पाकिस्तानबीच युद्ध भएमा नेपाललाई पर्ने असरबारे योजना निर्माण गर्न समेत माग गरे ।

उनले भने, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भए पनि विज्ञप्तिमार्फत सार्वजनिक गरेको आातंकवादविरुद्धको अडानको स्वागत गर्दै भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपालाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपुर्ति शृंखलाको साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्नसक्ने प्रभावसम्मको मूल्यांकनगरी योजना निर्माणको माग गर्दछु ।’

खनालले यसबारे संसद्‍मा जानकारी गराउन समेत रुलिङको माग गरे । उनले भने, ‘यो संसदलाई समग्र पक्षको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङ होस भन्ने माग गर्दछु ।’

प्रतिक्रिया