गणतन्त्र जनताले ल्याएको नभएर संसद्ले ल्याएको हो, एउटा संसद्ले गरेको निर्णय राष्ट्रको आवश्यकताअनुरूप अर्को संसद्ले सच्याउने हक राख्छ ।
हेर्दाहेर्दै मुलुक जीवन–मरणको दोसाँधमा पुगेको छ । राजनीतिक दलहरूमा सत्ताको अन्धो आकांक्षा र एकछत्र राज्य चलाउने स्वार्थको भोकले अहोरात्र दौडधुपमा लगाइरहेको देखिन्छ, तर समाधान पहिल्याउने आँखा खोलिदिन सकेन । परिवर्तनका संवाहक भएको दाबी गर्ने पार्टी र तिनका नेताहरूविरूद्ध आज प्रत्येक नेपालीमा आक्रोश बढिरहेको छ । मुलुक थाम्ने राजसंस्थाले शासन छोडेर हिँड्नुपर्ने तर परिवर्तनका नाममा केही भ्रष्ट र विचौलियाहरू गणतन्त्रका हर्ताकर्ता भएर ढलीमली गर्न पाएको कारणले नै देश झन्झन् चौतर्फी संकटमा फस्दै गएको हो । विगत २ दशकले के अनुभव दियो भने निषेधको राजनीतिले कसैको पनि हित गर्दैन ।
गणतन्त्र नेपाली जनताका लागि आएको हो भन्ने प्रमाणित नै भएन । राजसंस्थाले आर्जन गरेको विरासत, प्रभाव, जनसमर्थन र लोकप्रियता राजनीतिक दलहरूमा सहज तरिकाले हस्तान्तरण भए, यस्तो विवाद नै आउने थिएन । राजसंस्थाले लिएको शक्ति दलमा होइन, दिल्लीमा पु¥याइएकोले पार्टीहरूको हातमा निर्णायक शक्ति नै छैन । ठुला भनिएका पार्टीका नेताहरूको वास्तविक सामथ्र्य र हैसियत कति रहेछ भन्ने यथार्थ भारतको सत्तारूढ पार्टी भाजपाका विदेश विभाग प्रमुखले हालै नेपालको तुफानी भ्रमण गरेर गणतन्त्रका नेपाली नेताहरू कति पानीमा छन् भन्ने छर्लंग पारे ।
नेपाली कांग्रेसका विदेश विभाग प्रमुख किरण पौडेल र नेकपा एमालेका डा.राजन भट्टराईकै समकक्षी हुन् भारतीय सत्ताधारी पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले । त्यसबाहेक उनी कुनै संवैधानिक वा सरकारी पदमा छैनन् । तर पार्टीको सामान्य विभागीय प्रमुखलाई भेट्न नेपालका बहालवालादेखि पूर्व प्रधानमन्त्रीहरू केपी ओली, शेरबहादर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायत बरिष्ठदेखि कनिष्ठ नेताहरू फूलको गुच्छा बोकेर लामवद्ध भए ।
‘…लाई भन्दा देख्नेलाई लाज’ भनेझैँ ‘मालिक–भेट’ को यस्तो अस्वभाविक, अनावश्यक र अनैतिक गतिविधिले यिनीहरू कसका रैती वा दास रहेछन् भनी जनतालाई चिन्ने मौका मिल्यो । गाई–गोठमा सबै गाईहरू आ–आफ्ना लैनो बाच्छालाई तुरुन्त चिन्दछन् भनेजस्तै गणतन्त्रका बिचरा हर्ताकर्ताहरूले पनि आफ्नो मालिकलाई चिन्न गाह्रो भएन ! भाजपाको एउटा सामान्य पदाधिकारीले गणतान्त्रिक नेपालका शक्तिशाली मानिएका नेताहरूलाई आफूसमक्ष लम्पसार बनाउनुले यमुनापारिलाई चाकरी पु¥याएर रिझाउन नेपाली स्वाभिमान र सार्वभौमिकतालाई विदेशीका चरणमा अर्पण गरेको देखियो । यतिसम्म गर्नेले देशभक्त र स्वाभिमानी नेपालीहरूलाई अब पनि रैती भन्न कुन मुखले देला ?
यस्तै विचित्रता र निर्लज्जता प्रदर्शनले गणतन्त्र नेपालको राजनीतिक रूप, चित्रण र परिभाषा दिन नसकिने गरी विकृत र दूषित भएको छ । गणतन्त्रले ल्याएका शासकीय अराजकताको कहर काटिरहेको छ वर्तमान नेपाल । अन्तर्राष्ट्रिय वित्तीय समुदायले ‘ग्रे–लिस्ट’मा हालिसकेको देशमा, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको लुछाचुँडी र अनिर्णयले गर्दा वित्तीय अन्योल र अराजकतालाई थप मलजल पुगिरहेको छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालको साख र प्रतिष्ठा धरापमा परेको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा महिनौँसम्म ढिलासुस्ती गरेको र विचौलिया हावी भएको कमिसनखोरी र पद बिक्री कार्यको हाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पुनरावृत्त भइरहेको देखिन्छ ।
‘गणतन्त्र’ भ्रष्ट र आपराधिक मानसिकता बोकेकाहरूको अवतारको रूपमा चिनिँदै छ, र यसले सच्चिने वा सुध्रिने सावधानीको चेत लिनुभन्दा झन्झन् विकृत र जब्बर हुने दिशातिर उन्मुख छ । आफ्नो हातबाट लगाम गुमाइसकेका राजनीतिक दलहरू विदेशी शक्तिका लागि निरीह र भावविहीन गोटीको रूपमा देखापरेका छन्, जसको मर्जीमा ‘गणतान्त्रिक राजनीति’ घिसिपिटी चलिरहेको छ । अब त वर्तमान सत्ताविरुद्ध जनआक्रोश कति बढेर आयो भने प्रधानमन्त्रीकी पत्नी सार्वजनिक रूपमा भाषण गर्दै ‘केपी ओलीको विरोध गर्नेहरूको भविष्य अन्धकार छ, उनीहरूका सन्तानको भविष्य पनि अन्धकार हुनेछ…’ भन्दै सत्तोसराप गर्न थालिन् ।
हिजो राजतन्त्र रहँदासम्म पार्टीहरूले आफ्ना अक्षमता र दोषका लागि राजतन्त्रतिर देखाइदिँदा तत्कालका लागि नाक जोगाउने उपाय हुन्थ्यो । राजतन्त्र नभएका यी दिनमा पनि राजातिरै दोष थोपर्न खोज्दा जनताको न्यायिक चेतनाले राजतन्त्रलाई नै ठीक देखेको भाव–लहर उठेको हो । कम्युनिस्टहरूलाई राजतन्त्र जतिसुकै मन नपरेको होस्, तर उनीहरूभित्र देशभक्तिको भावना झुटो होइन भने देश जोगाउने मामिलामा राजसंस्थासँग सहकार्य गर्न सक्दथे । ‘गिरिजाप्रसाद कोइराला र डा.बाबुराम भट्टराईले २०६० जेठ १८ आइतबार कोइरालाका भतिजा श्रीहर्षको घरमा भेटेपछि ‘श्री ५’ को उपाधि राजा, रानी, युवराज र युवराज्ञीमा रहने दुवै पक्षबीच सहमति भएको थियो’ (विवेककुमार शाहद्वारा प्रकाशित आफ्नो डायरीप्रधान संस्मरण ‘मैले देखेको दरबार’, प्रथम संस्करण पृ. ४५९) । ‘ठूला’ भनिएका पार्टीहरूले सबै राष्ट्रिय शक्तिसँग मेलमिलाप र राष्ट्र संरक्षणको विषयमा समन्वय र सन्तुलनको सम्बन्ध राखेको भए चौथाइवालेको चरणमा दुईतिहाइ शक्तिको लम्पसारजस्तो लज्जास्पद दुर्दशा भोग्नुपर्ने थिएन । राजा श्री ५ ज्ञानेन्द्रसँग गरिएका विभिन्न सहमतिहरूलाई दलहरूले इमानदारीका साथ पालन गरेको भए जनविद्रोहतिर उन्मुख देशव्यापी आक्रोश उठ्ने थिएन ।
गणतन्त्रसँग आएको निराशा र आक्रोशको अन्धकार वातावरणमा पूर्वराजा ज्ञानेन्द्रले जनतालाई आशावादी बनाउने कोशिस गर्नु कुन अर्थले ‘प्रतिगामी’ भयो ? राजनीतिक दलहरूलाई मुलुकको अखण्डता त के, आफ्नै पार्टीको अखण्डता जोगाउन धौधौ परिरहेको, दलहरू असफल र नेताहरू नालायकसिद्ध भएर मुलुक बेवारिस अवस्थामा पुगेको बेला पनि राजा ज्ञानेन्द्रले चुप लागेर बस्नुपर्ने ! पराजित मानसिकताले पूर्वराजा ज्ञानेन्द्रलाई गाली गरेको आधारमा न त नेताहरूको लोकप्रियता बढ्छ वा उनीहरूको क्रान्तिकारिता नाप्ने कसी त्यो हुनसक्छ, न त पार्टीहरूको औचित्य र सान्दर्भिकता प्रमाणित हुन्छ । पूर्वराजा र जनताले बुझेको तर गणतन्त्रका सञ्चालकहरूले बुझ पचाएको धरातलीय यथार्थ नै यही हो ।
मूलधारका पार्टीका नेता तथा कार्यकर्ताहरू नै पूर्वराजा ज्ञानेन्द्रको स्वागत, भेट र यात्रामा सामेल भएका छन् भने नेताहरूले आ–आफ्नै कार्यकर्ताको त्यो व्यवहार कुन यथार्थको द्योतक हो भन्ने प्रश्नको उत्तर आफैँभित्र खोज्नुपर्छ । पूर्वराजा ज्ञानेन्द्रलाई गाली गरेको हर्कत नै क्रान्तिकारिपनको मापदण्ड हुने नेताहरूको धारणा हो भने त्योभन्दा भ्रमपूर्ण र मूर्खता के हुन सक्ला ! राजतन्त्रको इतिहास र राज्य सिर्जना तथा एकीकरण अभियानको धेरै लामो सिलसिला छ र त्यही राज्यको ऐतिहासिक धरोहर र पहिचानमा हामीलाई बस्ने मन छ भने राजतन्त्र यो धर्तीका लागि कसरी वर्जित हुन सक्छ ? राजतन्त्र अस्वीकार हुन्छ भने ‘गणतन्त्र’ स्वीकार गर्नुपर्ने योगदान के छ ? बरू गणतन्त्रका संवाहकहरूले राजासँगै स्वस्फूर्त रूपमा हिँडिरहेको सिंगो नेपाल र नेपालीको मानसिकता पढ्न सक्नुपर्छ ।
२०३३ सालमा लामो निर्वासनबाट स्वदेश फर्केपछि राष्ट्रिय मेलमिलापका सन्दर्भमा बिपी कोइरालाले भन्नुभएको थियो, ‘राष्ट्रिय संकटको यस घडीमा राजा र मेरो गर्दन एकैठाउँमा जोडिएको छ … ।’ कुनै सोचविचार नगरी हावामा बोलिएको थिएन यो । तर, गणतन्त्र स्थापनाका नाममा कांग्रेसकै नेता र उहाँकै भाइलाई अगाडि सारेर बिपी विचारको विपरीत हर्कत गरेको कारण नै आज नेपाली कांग्रेसले गति र उचाई लिन नसकेर कम्युनिस्ट पार्टीहरूको वैशाखी वा उनीहरूको साधन बन्न पुगेको हो ।
यसअघिको राष्ट्रिय व्यवस्थामा नेपाली कांग्रेस, राजसंस्था र कम्युनिस्ट घटकहरू त्रिकोणात्मक सन्तुलनमा रहँदै आएका हुन् । नेपाली कांगे्रसलाई आफ्नै लागि राजतन्त्र नचाहिएको होस्, तर कम्युनिस्टहरूसँग सहअस्तित्वको अवस्थामा रणनीतिक रूपले आवश्यक छ । गणतन्त्रका दिनमा कांग्रेसले कुनै निर्वाचनमा पनि स्पष्ट बहुमत हासिल गरेन । जुन दिन कांग्रेस आफ्नो ११औँ महाधिवेशनबाट संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अन्तरभरोसाको लाइनबाट च्यूत भयो, त्यहीँदेखि नेपाल, नेपाली र नेपाली कांग्रेसको दशा सुरू भएको हो ।
मुलुकको बर्बादी र महागल्ती जहाँबाट सुरू भएको छ, त्यही बिन्दुबाट सुधारको अभ्यास सुरू हुनु अब एक मात्र उपाय बाँकी छ । जनताका बीच भएको राजसंस्थालाई मुलुकले जति छिटो पुनःस्थापना गर्छ, देशले त्यही दिनबाट राजनीतिक स्थिरता, अमनचैन र राष्ट्रिय लक्षको बाटो पाउन सक्छ । नयाँ मेलमिलापको नीति लिएर सहमतिको हात मिलाउनसके आज हारेकाहरूको पनि जित हुने सम्भावना पलाउनेछ । गणतन्त्र जनताले ल्याएको नभएर संसद्ले ठाडो प्रस्तावलाई टेबुल ठोकेको भरमा ल्याएको हो ।
त्यसकारण राष्ट्रिय आवश्यकता अनुरूप एउटा संसद्ले गरेको निर्णय अर्को संसद्ले संवैधानिक प्रक्रियाद्वारा सच्याउने हक राख्छ र संसदीय चलन पनि छ । राजतन्त्रमा राष्ट्राध्यक्ष एवं सेनाको परमसेनाधिपति रहेका राजालाई सेनाले आजसम्म विधिवत बिदाइ गरेको छैन, जबकी सेनामा एउटा सामान्य अधिकृतलाई पनि विधिवत बिदाइ गर्ने चलन छ । विदेशी हस्तक्षेपलाई परास्त गर्नका लागि पनि देशले ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता’ को थाम्नै नसकेको बोझ मिल्काउन जरुरी भइसकेको ध्रुब सत्यलाई सबैले आत्मसात गर्नु नै समयको माग हो ।
प्रतिक्रिया