बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो ६ महिनाको जेल सजाय

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो ।

गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यस बेलादेखि कुनै पनि मुद्दामा शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो पटक हो ।

मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ । मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, ‘यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ ।’

यसअघि मुख्य अभियोजक ताजुल इस्लामले शेख हसिना विरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए । सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भएको थियो जसमा उनलाई ‘२२७ जनालाई मार्ने लाइसेन्स प्राप्त भएको’ भनिएको थियो ।

प्रमुख अभियोजकले यो कुराकानी एआईको नभएको दाबी गरे । ‘सीआईडीको फोरेन्सिक रिपोर्टको विश्लेषण र सबै तर्कहरू सुनेपछि, अदालत यो निष्कर्षमा पुगेको छ कि यस विवादास्पद कुराकानी मार्फत, शेख हसिनाले साक्षी वा अनुसन्धान अधिकारीहरू र मुद्दा प्रक्रियामा संलग्न व्यक्तिहरूको हत्या र घर जलाइन्,’ इस्लामले भने ।

हाल शेख हसिना आफ्नो देश बंगलादेशबाट भागेर भारतको शरणमा बसेकी छन् । हसिनाले ११ महिनाअघि पदत्याग गरी देश छाडेकी थिइन् । जुन २०२५ मा आईसीटीले शेख हसिनामाथि औपचारिक रूपमा मानवता विरुद्धका अपराधको आरोप लगाएको थियो ।

आरोप अनुसार, २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिनेमध्ये मुख्य व्यक्ति शेख हसिना रहेको अभियोजन पक्षले दाबी गरेको छ ।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनामाथि जुलाई र अगस्ट २०२४ मा भएका हिंसात्मक दमनहरूको प्रमुख योजनाकार भएको आरोप लगाइएको छ ।

अगस्ट ५, २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन् । त्यतिबेला ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया