काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।
थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङकङबीचको खेल बिहीबार भएको वर्षाले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।
नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङकङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् ।
नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङकङ र बहराइन छन् । यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् ।
समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले आ–आफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्ने छन् । सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
प्रतिक्रिया