प्रहरीका जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

१. प्रहरी नायव महानिरीक्षकहरु श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।

४. भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

प्रतिक्रिया