मनका भावहरूको सुन्दर प्रतिबिम्ब : ज्याकारान्डाको सहर

प्रदिप सापकोटा

‘शान्त क्षणमा सञ्चित अनुभवहरूबाट उत्पन्न मनोभावनाको स्वतःस्फुर्त प्रवाह कविता हो ।’ – वीलियम वर्डसवर्थ


मानव सभ्यताको विकासको क्रमसँगै कविताको विकास भएको मानिन्छ भने नेपाली साहित्यको आरम्भ पनि कविताबाट भएको मानिन्छ । कविताको गगनमा कवि लक्ष्मी ‘रेशमी’ले आफ्नो कविता कृति ‘ज्याकारान्डाको सहर’मार्फत सफल उडान भरेकी छन् । जीवनका तीन दशकको समय शिक्षण पेसामा समर्पित भएर लागेकी कविको ‘ज्याकारान्डाको सहर’भित्र विषयगत विविधाका ५१ थान कविता समावेश भएका छन् ।

प्रस्तुत कृतिमा संश्लेषित कविताहरूले कविको हृदयका भावहरू अभिव्यक्त गरेका छन् । उनका कविताहरूले जीवनप्रतिको आशावादिता जागृत गराउँछन् । सामाजिक यथार्थभावको प्रकटीकरण गर्छन् । यति मात्र कहाँ हो र मान्छेका जीवनप्रतिको विशिष्ट भाव प्रष्फुटन गर्छन् । कविको आत्मबोध कवितामार्फत सार्वजनिकीकरण गर्छन् । लक्ष्मीले जे जति कुरा बोध गरेकी छन् ती कुराहरू घनिभूत रूपमा आफ्ना कवितामार्फत आएको भान पर्छ । यस कृतिमा समावेश कविताहरू भावको विशिष्टीकरणमा देखिएका छन् । लय विधानको दृष्टिकोणले कवि सचेत छिन् । उनका गद्य कविता लयमा नै देखिन्छन् । अनुप्रासीयता, शब्द र पंक्तिका आवृत्ति, विभिन्न चिन्हहरूको प्रयुक्तिको हिसाबले गद्यात्मक बान्कीका कविताहरू रहेका छन् भन्न अप्ठ्यारो मान्नु पर्दैन ।

शीर्षक ‘ज्याकारान्डाको सहर’ कृतिभित्रकै एक कविताबाट जुराइएको छ । यसरी हेर्दा हिजोको परम्परागत शैलीमा शीर्षक चयन गरिएको पाइन्छ । वासन्ती याममा बैजनी सौन्दर्य पस्कने काठमाडौँ सडक विग्नोनेसिया परिवारमा पर्ने पाहुना फूल ज्याकारान्डाले ढकमक्क भइदिँदा मन प्रफुल्लित पारेकी कवि स्मृतिका पलकहरूमा रमाउँछिन् । कलेजका सुन्दरपलहरू, बिना भिडको सहर, रत्नपार्कको पाउ, वरिपरि हरियाली फाँटहरू, सफा र स्वच्छ बगेका वाग्मती र विष्णुमतीहरू, निर्वाध रूपले गगनमा स्वच्छन्द उडान भर्ने चरीजस्तै जिन्दगीले हिजो भरेको उडान सम्झेर कविमन नोस्टाल्जिक भएको छ । कवि प्रकृतिप्रेमी भएको बुझ्न कठीन पर्दैन । सुन्दर प्रकृतिको रस्वादानमा उनी भावविभोर हुन्छिन् । कवितामा प्रकृतिको महत्वलाई पनि मज्जैले खिपेकी छन् । लाग्छ प्राकृतिक चेतले भरिएका कविताहरूमा उनी जम्ने प्रयासमा छिन् । ज्याकारान्डाको ‘सहर’, ‘खुसी’, ‘झरी’, ‘धरोहर’ आदि कविताहरू यस कोटीमा पर्दछन् ।

उनी शिक्षणजस्तो सामाजिक दायित्वबोध गर्ने पेसामा संलग्न छिन् र त उनमा राजनीतिक चेत दर्बिलो छ । नेपाली राजनीति र यसका विकृतरूपलाई उनले नियालेकी छिन् । यसमा रहेका विसंगतिले उनको मन पोल्छ र पीडाबोध हुन्छ । अनि आक्रोशित पनि हुन्छिन् । भन्ने र गर्ने कुरामा फरक परेको कविको ठम्याइ छ । राजनीतिकचेत र व्यंगचेतले भरिएका थुप्रै कविताहरू यस कृतिमा पढ्न पाइन्छ । ‘समृद्धि’, ‘मौनता’, ‘निर्लज्ज’ ‘शालिक’, ‘शरणार्थी’, ‘छेपारो’, ‘कसलाई दुखेको छ मेरो देश ?’, ‘बधाई’ जस्ता कविताहरू यस कोटीमा पर्दछन् । यस्ता कविताहरूले राजनीति सिद्धान्त बिहीनताको दिशातर्फ उन्मुख भएको, कोरोना कहरकोे महामारीमा जनता आक्रान्त हुँदा पनि त्यसतर्फ राजनीतिज्ञहरूको ध्यान नखिचिएको केवल, सत्ता, सत्ता परिवर्तन र दलगत स्वार्थमा फसेको जस्ता कुराहरूमा उनले ब्यंग प्रहार भएकी छन् । यस्ता क्रियाकलापलाई नजिकबाट नियालिरहेको कविमन स्वभावतः वर्तमानको दुर्दशामा पटक पटक दुःखेको छ । विकृत राजनीति र यसको यथार्थको प्रकटीकरण यहाँ भएको छ । हामी र हाम्रो वर्तमान विडम्बनापूर्ण अवस्थाले भोग्नुपरेको पीडालाई अभिव्यक्त गरेको छ । यसैले भन्न सकिन्छ वर्तमान समाजको यथार्थ तस्बिर बनेर आएका छन्, कविताहरू ।

यस संग्रहमा आफ्नाले गरेका भूमिका, निर्वाह गरेका जिम्मेवारी र कर्तब्यलाई नतमस्तक भएर स्मरण गरेकी छन् । यसहिसाबले हेर्दा आदर्शचेतले भरिपूर्ण लाग्छिन् लक्ष्मी । यसैले उनले आफ्ना बुबाको आदर्शको परछाईंलाई पछ्याएकी छन् । शिक्षक भएर शिष्यहरूलाई असल, नैतिकवान बन्न प्रेरित गरेकी छन् । ‘बुबा’जस्ता कविता यसतर्फ लक्षित छन् ।

तिमै्र बाटो हिँड्दै आज

यहाँसम्म आइपुगेँ

बुबा तिम्रो आदर्शलाई

जीवनभरी पछ्याउँछु म । (बुवा)

म लक्ष्मी ‘रेशमी’का कविताहरूमा घोत्लिरहेछु । तिनीहरूसँग संवाद गरिरहेछु । सुललित कविताहरूमा बहिरहेछु । मज्जा आइरहेछ मलाई कविताहरूमा डुब्दा । अनि कविताहरूप्रतिका आफ्ना अभिव्यक्तिहरू यहाँ कोरिरहेछु । जसरी कविमा अहंपन छैन उस्तै कवितामा पनि । आफ्नो भोगाइका तरंगहरूमा तरंगित हुँदा आएका भावहरू, कविता लेखनीमा निस्केका शब्दका छालहरूमा डुबेर कविले गुथेका कविताका गुच्छाहरूको माला हो ‘ज्याकारान्डाको सहर’ । कविमा भएका बेचैनी र छटपटीमा निस्केका शब्दहरूबाट सिर्जित कविताहरू यस कृतिमा समावेश छन् । छरछिमेक, समाज र सिंगो आफूले भोगेको समयका भोगाइका साक्षी हुन कविताहरू । हो यस्तै कुराहरूको प्रकटीकरणको समुच्चता । यसमा के छैन प्रेम छ, दुःखपीडा छ, खुसी छ, उत्साह अनि सपना छ । जीवनप्रतिको आशावादिताको प्रकटीकरण पनि छ यहाँ । आशाको सञ्चार आफ्ना सिर्जनामार्फत गरिएका कविता पनि यस कृतिमा परेका छन् । ‘निराशाभित्रको थोरै आशा’, ‘जीजीविषा’, ‘पूर्णचन्द्र’, ‘नयाँ…?’ जस्ता कविताहरू यसतर्फ लक्षित छन् ।

कवितामा नारीस्वरको मधुर गुञ्जन छ । नारीमाथि हुने गरेका हिंसाप्रति कविको आक्रोश छ । नारीका समस्याप्रतिको राज्यको उदासीनता उनलाई मन परेको छैन । यस कृतिमा नारी जागरणको स्वर उरालेका कविता पढ्न पाइन्छ ।

भेदभाव छैन भन्छ

नियम, कानुन र किताब हाम्रो

बलात्कार र हिंसा हुँदा

समाज, सरकार किन बन्छ चाम्रो ? (सुरक्षा)

यस्तै अर्काे कविताका केही पंक्ति हेरौँ :

छोरीहरू दिनदहाडै बलात्कृत बनिरहुन्

बुहारी बनेर भित्रिएकाहरू मारिए मारिउन्

प्रेमी र श्रीमतीलाई एसिडले छ्यापून्

अनि छोरीलाई करणी गरिरहून् । (कसलाई दुःखेको छ मेरो देश ?) आजको नेपाली महिलाहरूको अस्मितामा राज्यको उदासीनताको सत्यापन गरेको यो कविता बलशाली छ ।

कविमा जीवनप्रतिको बोध झनै प्रगाढ पाइन्छ । जीवनका समुच्च अनुभूतिहरूको बाढी नै देखिन्छ । संस्कृतिको वैभवता बोकेको नेवार सम्प्रदायमा जन्मेकी लक्ष्मीको सांस्कृतिक चेतना पनि उच्चस्तरको भएको कविताहरूले पुष्टी गर्छन् । यस्ता कविताहरूले संस्कार र संस्कृति नासिनलाग्दा, मार्न लाग्दा चिन्तित देखिएको भान पर्छ । उनी आफ्ना कविताहरूमा वारम्बार नोस्टाल्जिक बनेकी छिन् ।
कविताको प्रारम्भको माध्यमिक कालदेखि आएको शृंगारिक चेत कविमा नहुने कुरै भएन । तसर्थ, उनका कविताहरूमा प्रेमिल कविताहरू पनि छन् । प्रेमको सुन्दर अभिव्यक्तिलाई कविताहरूमा प्रस्तुत गरिएको छ । प्रेमको नाममा उच्छृंखलता उनको विषय होइन । कवितामा शालिनता, सौम्यता, भावुकता पोखिएको छ । प्रेमको पक्षमा शालितापूर्वक उभिने खुवी कविमा देखिन्छ । ‘माली’, ‘जीवनको गोरेटोमा’, ‘वर्षा र तिमी’, ‘प्रेम’, ‘याद’, ‘साउती’, ‘भेट’, ‘तिमी भित्र म भेटेँ’, ‘पर्खाइ’, ‘मायालु’, ‘प्रीति’ आदि कविता प्रेमिल भावले लेखिएका छन् ।

कविको विचारको पोयो बाँधेको छ यो संग्रहले । उनी कहिले सुसाउँछिन् पीडाले, कहिले उत्साहले पुलकित हुन्छिन् । कहिले अलिकति निरास देखिन्छन् । कवि लक्ष्मीको कवितामा विविधतायुक्त प्रवृत्ति र विशेषता देखिन्छ । मानवतावादी भावले भरिपूर्ण भएर आएका कविताहरू पनि यसमा पढ्न सकिन्छ । यान्त्रिक जिन्दगी जिइरहेका मान्छेको आधुनिक जीवनको विवशता पोखिएको पनि यहाँ पढ्न पाइन्छ । उनका कवितामा सहज अनुभूति भरिएका हुन्छन् । शैक्षिक उन्नयनमा निरन्तर लागेकी उनी पेसाले जसरी आदर्शवादी छन् उनको लेखनी पनि त्यसैतर्फ अग्रसर देखिन्छ । सांस्कृतिक चेतले भरिएको कविमन त्यसतर्फ पनि कलम चलाएको पाइन्छ । व्यस्त जीवनका हरेक समयलाई छोपेर कविताकर्ममा लाग्ने कविको इच्छाशक्तिलाई कम आँक्नु हुँदैन भन्ने कुरा यस कृतिले बुझ्न कठिन पर्दैन कि रेशमीको हृदयभित्र उदित भाव काव्य रचना गर्ने तीव्रतर इच्छाको परिणाम हो । कवितामा सिद्धान्त उनको विषय देखिँदैन । लाग्छ उनका कविताको रचना गर्भको आधार जीवनको अनुभव हुन् । रूपान्तरण हुन अझै बाँकी रहेको हाम्रो राजनीतिक आनीबानी, सामाजिक विसंगतिप्रति आममान्छेको आँखाले नियालेर लेखेको भान पर्दछ । हामी भित्रको कुसंस्कारप्रतिको कटाक्ष छ । सामाजिक संस्कारले सिर्जना गरेको विकृत मनोविज्ञानले पारेको नकारात्मक सोचप्रति लक्षित छ ।

कविलाई समाजपरक र आँखाले देखेका कुरा मनले छुने रहेछ । भोगाइ र अनुभूतिलाई सुस्वाद्य बनाएर पोख्न मन लागेको रहेछ भन्ने कुरा कविताहरू पढेपछि बुझ्न सकिन्छ । समसामयिक जीवनका सन्दर्भहरूको पोयो तयार पार्न मन हुँदोरहेछ र त कृति जन्मियो । कवितालाई बिम्ब र प्रतिकको प्रयुक्तिले राम्रो पार्ने हो । तिनको उचित समायोजनले कविता राम्रो बन्ने हो । कविका निजात्मक अनुभूतिका थिम बोकेका कविताहरू धेरै देखिन्छन् । कविता सीप र सौन्दर्यको समायोजनले भरिएका छन् । छोटा कविता, उस्तै छोटा शीर्षक, भावगत विविधाका कविता बिम्बशैली, प्रतिक, अलंकारहरूको प्रयुक्तिले भरिएका कविताहरू सरल र सुन्दर लाग्छन् । सौन्दर्यको दृष्टिकोणले कविताहरू जीवन्त देखिन्छन् ।

कविताको आस्वादान गर्न पाठकले सहज महसुस गर्नसक्छन् । भाषाको सहजता कविताको विशेषता लाग्छ । सुवोध्य कविता, विचारबोध, जीन्दगी बोध,मानवीय मूल्यमान्यता, प्रेम, समाज, आदिसँगको सामिप्यतामा कविता कर्म गर्नु कविको विशेषता हो । साधारण अभिव्यक्तिमा कविताहरू पोख्ने उनको खुबी लाग्छ । ग्रन्थको हिसाबले ढिलो आएको यो पुस्तक अन्तिम नहोस् । सदावहार शैलीमै बगेका कविताहरू मध्यम वर्गका मान्न जो कोहीलाई कर लाग्छ । कतै कतै सामान्य व्याकरणीय त्रुटी भने नभएका होइनन् । तर यो प्रारम्भ हो, अन्त्य होइन । आगामी दिनमा अझै तिखारिएको कलमले सिर्जना कर्म अगाडि बढिरहोस् शुभकामना ।

प्रतिक्रिया