सकियो ‘कोसेढुंगा’को छायांकन

काठमाडौँ । सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोसेढुंगा’को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् । मकवानपुरको चितलाग, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै सिनेमाको ५१ दिनमा सुटिङ सकिएको हो । ललितपुरको च्यासलबाट छायांकन सुरु गरिएको ‘कोसेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा छायांकन गरिएको थियो ।

नेपालसहित ४० भन्दा धेरै देशमा यो चलचित्र १२ भदौबाट एकसाथ रिलिज हुँदै छ । ‘कोसेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलोपटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।

‘पूर्णबहादुरको सारंगी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोसेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ । सरोजले निर्देशन गरेको ‘पूर्णबहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो ।

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको चलचित्र ‘कोसेढुंगा’को निर्माणपक्षले छायाकंनकै क्रममा फस्र्ट लुक्स पोस्टरका रूपमा सिनेमाकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड रहेको तस्बिर बाहिर ल्याएको थियो ।

नरदेवी चलचित्रको प्रस्तुति रहेको चलचित्र ‘कोसेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

प्रतिक्रिया