काठमाडौँ । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस गुरुङ’को चौथो संस्करण सुरू भएको छ ।
आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै २६ असारमा काठमाडौँको सामाखुसीस्थित विशाल फुटसलमा पहिलो चरणको अडिसन राखेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।
‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् ।
गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने उद्देश्य बोकेको प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोसुट, पब्लिक स्पिकिङ लगायतका प्रशिक्षणबाट दक्ष बनाइनेछ ।
तालिमपश्चात ग्रान्ड फिनामा निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ । विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ ।
यस प्रतियोगिताले गुरुङ जातिको वेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगिताको डिजिटल पार्टनरको रूपमा जिनोपे जोडिएको छ ।
प्रतिक्रिया