कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिएका छन् ।

प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १६ महिना ११ दिनभित्र ३ पटक संसद्को विश्वास पाइसकेका छन् भने चौथो पटक विश्वासको मत लिएका हुन् ।

३१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ३० गतेभित्र संसद (प्रतिनिधिसभा) बाट विश्वासको मत लिनुपर्ने थियो ।

आज प्रतिनिधिसभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

त्यसपछि पुनः सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए ।

विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले । यसअघि प्रधानमन्त्री दाहालले २०७९ पुस २६ गते २६८ मत, २०७९ चैत ६ गते १७२ मत, २०८० फागुन ३० गते १५७ मत र आज २०८१ जेठ ७ गते फेरि १५७ गरी सांसदहरुबाट विश्वासको मत पाएका हुन् ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया