दर्जनभन्दा बढी सम्झौता गर्दै सकियो लगानी सम्मेलन

५० करोडसम्मको लगानी स्वीकृत अब अनलाइनबाटै, उद्योग विभागमार्फत् ९ अर्ब १३ करोडको लगानी स्वीकृत

काठमाडौं । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । मुलुकमा स्वदेशी लगानी वृद्धि तथा विदेशी लगानी भित्र्याउने उद्देश्यका साथ आयोजना गरिएको लगानी सम्मेलनमा २५ सयभन्दा बढी विदेशी तथा स्वदेशी लगानीकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा सम्मेलन सम्पन्न भएको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गरिएको थियो । यस सम्मेलनबाट सरकारले १५४ सोकेस परियोजना राखेको थियो भने ९ खर्ब रुपैयाँको विदेशी लगानी भित्र्याउने लक्ष्य लिएको थियो ।

सम्मेलनको २ दिनमा दर्जनभन्दा बढी ंसम्झौता र सझदारीपत्रमा हस्ताक्षर भएको छ भने उद्योग विभागमार्फत् विभिन्न ४ वटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

त्यस्तै, नेपालमा लगानी भित्र्याउने विषयमा ३० भन्दा बढी विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानीकर्तासँग छलफलसमेत गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले जानकारी दिए ।

२ दिने सम्मेलनमा लगानी भित्र्याउने विषयमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ भने उद्योग विभागमार्फत् विभिन्न ४ वटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । त्यस्तै, सम्मेलनको अन्तिम दिन सोमबार सरकारले ५० करोडसम्मको विदेशी लगानीलाई अनलाइनबाटै स्वीकृति दिनका लागि स्वचालित प्रणालीसमेत सञ्चालनमा ल्याएको छ ।


सम्मेलनको पहिलो दिन बिएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापना गर्न समझदारी भएको थियो । सो समझदारीमा बिएलसी ग्रुपकी निर्देशक मेगा चौधरी र योट्टा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनील गुप्ताले हस्ताक्षर गरेका थिए । डेटा सेन्टरको लागत करिब ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।


सम्मेलनको पहिलो दिन नै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको थियो । सो समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाली उद्योग वाणिज्य महासंघका अध्यक्ष टन सी डेटो सोटियानले हस्ताक्षर गरेका थिए ।

लगानी सम्मेलनको अन्तिम दिन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र एमएबिसी इन्भेस्टमेन्ट ग्रुप प्रालि कोरियाबीच समझदारी भएको छ । नेपालमा लगानी भित्र्याउन भएको उक्त समझदारीमा नेक्सजेन म्यानेजमेन्टका तर्फबाट शिवराज दवाडी र एमएबिसी इन्भेस्टमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग लीले हस्ताक्षर गरे ।

नेपालमा सार्वजनिक निजी साझेदारी (पिपिपी) प्रवद्र्धन गर्ने विषयमा स्विट्जरल्यान्डमा मुख्यालय रहेको वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिनर्स (नाप)का बीच पनि सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्याय र वापका तर्फबाट अध्यक्ष जियाद अलेक्नजेन्डर हायकले हस्ताक्षर गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्स र लगानी सम्मेलनमा सहभागी हुन आएको क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच पनि समझदारी भएको छ । व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच समझादारी भएको हो ।

त्यस्तै, कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा साखः एन्ड कम्पनी र अनफरमन ग्रुपबीच समझदारी भएको छ । गोरुसिंगेमा २२ बिघा जग्गामा २ अर्ब रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः ग्रुप र हङकङको अनफरमन ग्रुपबीच समझदारी भएको छ । समझदारीमा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरे ।

मुगुको रारामा रिसोर्ट बनाउने विषयमा रारा होल्डिङ्स प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपबीच पनि सोमबार समझदारी भएको छ । मुगुको छायानाथ नगरपालिकास्थित मुर्माटपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गरी ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गर्ने गरी एक्सपर्ट ग्रुपका तर्फबाट बद्र्री अर्याल तथा सञ्जीव शर्मा र रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् ।


लगानी सम्मेलनकै अवसरमा नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने गरी चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले कोसी एनके मोटर्ससँग समझदारी गरेको छ । सिमेन गोल्ड ड्रागनले ३ अर्ब रुपैयाँ बराबर लगानी गरी वार्षिक ५ हजार गाडी उत्पादन गर्ने लक्ष्यसाथ समझदारी भएको हो ।

त्यस्तै, सम्मेलनको अन्तिम दिन उद्योग विभागमार्फत् विभिन्न ४ परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।


५० करोडसम्मको लगानी अब अनलाइनबाटै स्वीकृत

सरकारले अब विदेशी लगानीलाई अनलाइनबाटै स्वीकृति दिने भएको छ । तेस्रो लगानी सम्मेलनको अवसर पारेर उद्योग विभागले स्वचालित प्रणाली सञ्चालनमा ल्याएको हो । योसँगै अब विदेशी लगानीकर्ताले विद्युतीय प्रणालीमा आवेदन दिएपछि लगानी स्वीकृति इमेलमार्फत् पाउनेछन् ।


सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत् निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम छ ।


अनलाइनबाट आवश्यक कागजात पेस गरेपछि उद्योग विभागले लगानी स्वीकृत गर्नेछ । इमेलमार्फत् आएको स्वीकृतिका आधारमा लगानीकर्ताले नयाँ कम्पनी स्थापना गर्न सक्नेछन् । यसरी स्वीकृति प्राप्त लगानीकर्ताले ५० करोड रुपैयाँसम्म पुँजी भएका उद्योग व्यवसाय सञ्चालनमा ल्याउन पाउनेछन् ।

सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि भने स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ ।

उद्योग विभागमार्फत् ९ अर्बको लगानी स्वीकृत

उद्योग विभागमार्फत् विभिन्न ४ वटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका हुन् । उद्योग मन्त्रालयले उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो ।
मन्त्री भण्डारीले ती लगानीकर्ताहरूलाई सोमबारै प्रमाणपत्रसमेत दिइसकेका छन् । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब बराबरको लगानी स्वीकृत भएको हो ।

त्यस्तै, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २०० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबर लगानी पनि स्वीकृत भएको छ ।

लगानी सम्मेलनमा भएका सम्झौता र समझदारी

रारामा रिसोर्ट बनाउन अस्ट्रेलियन लगानी

मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन लगानी भित्रिएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने उक्त रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिनेछ ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको छ ।

कपिलवस्तुमा होटल खोल्न हङकङको कम्पनीसँग सम्झौता

सम्मेलनको दोस्रो दिन साखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपिलवस्तुमा वेलनेस होटल सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने गरी उक्त सम्झौता भएको हो ।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितिमा २ पक्षले उक्त सम्झौता आदानप्रदान गरे । कपिलवस्तुको गोरुसिंगेमा रहेको साखः समूहको २२ बिघा जग्गामा होटल बन्नेछ । यो होटलको प्रतिकोठाको शुल्क ३ हजारदेखि ५ हजार आरएमबी हुने बताइएको छ भने होटलमा करिब ७० वटा कोठा हुनेछन् । बोअर ग्रुपले हालसम्म जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटल सञ्चालन गरिरहेको छ ।

चिनियाँ लगानी भित्र्याउन २ समझदारी

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी २ वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोंगन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।
नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोंगन जिङ लङलाई सहजीकरण गर्नेछ । यी २ समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि उपस्थित थिए ।

पिपिपी सहकार्यका लागि ‘वाप’ र ‘नाप’बीच समझदारी

तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप)बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेजेन्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए ।
समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ ।

नेपालमा भौतिक पूर्वाधार तथा पिपिपी पाइपलाइन सुदृढीकरण, पिपिपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभा–सम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

यस सहकार्यले नेपालमा पिपिपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपिपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । वापका अध्यक्ष जियाद–अलेक्जेन्डर हायकले पिपिपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खास गरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पिपिपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए ।
स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको वाप पिपिपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पिपिपी अभ्यासकर्ताहरूको संस्था हो ।

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एसोसिएसनबीच सम्झौता

नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आइआइए)बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा सोमबार उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका हुन् ।

नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवद्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासंघका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । २ देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्य गरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

व्यापार र पर्यटनमा सहकार्य गर्न क्रोएसियाको निजी क्षेत्रबीच समझदारी

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको हो ।

सम्मेलनमा चेम्बरले जलविद्युत्, होटललगायत क्षेत्रका १ दर्जन योजना ‘सो–केस’मा राखेको छ । सो अवसरमा चेम्बर अफ कमर्श र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको थियो ।

रेमिट हाइड्रो अवधारणामा २ आयोजनामा लगानी

रेमिटेन्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षार गररएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अगुवाइमा रेमिटेन्सबाट आउने रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको छ । यस आवधारणाअनुसार दुईवटा आयोजनाहरू निर्माणको चरणमा जान लागेका छन् । यी आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने भएको छ ।

एचआइडिसिएलले रेमिट हाइड्रोको अवधारणा अनुरूप अघि बढाएका ताप्लेजुङ जिल्लामा रहेका ७० दशमलब ३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७ दशमलब ५ मेगावाट क्षमताको धुन्सा खोला जलविद्युत आयोजनाको सेयर लगानीमा वैदेशिक रोजगारीमा व्यक्तिहरूलाई सहभागी गराउन लागिएको हो ।

सम्झौताको मुख्य उद्देश्य नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासको लागि आयोजनाहरूको ऋण तथा सेयर लगानीमा रेमिटेन्स रकमको उपयोग गर्ने रहेको छ । सम्झौतामा दुवै पक्षको आ–आफ्नो प्रचलित नीति, नियमको अधिनमा रहेर वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको उच्चतम हित हुने गरी समझदारीको कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

एमएबीसी र नेक्सजेनबीच ६ अर्ब लगानी ल्याउने सम्झौता

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच लगानी सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सोसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका छन् ।
कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ ।

लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत् स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ ।

लगानी प्रवद्र्धन गर्ने सम्झौता

सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा महासंघका अध्यक्ष चन्द्र ढकाल र मलेसियाका तर्फबाट मलेसियन चेम्बर अफ कमर्सका अध्यक्ष टान सी डेटो थायन लाईले हस्ताक्षर गरे ।

डेटा सेन्टर निर्माण र सञ्चालन सम्बन्धी सम्झौता

डेटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका २ व्यावसायिक समूहबीच पनि सम्झौता भएको छ । डेटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिसेज भारतबीच सम्झौता भएको हो । सम्झौतामा बिएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका सिइओ सुनिल गुप्ताले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया