बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सोमवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले र उपप्रमुख भोला अधिकारीले नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
केद्रको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले नागरिकको सेवामा सहजता ल्याउनका लागि नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याइएको बताए । आयुर्वेद चिकित्सा प्रति नागरिकको विश्वास बढी रहेकोले नगरमा आरोग्य सेवाले प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने पौडेलले बताए । आयुर्वेदकोे महत्तव बुझाई नागरिकलाई निरोगी बनाउन सेवा केन्द्रको महत्तवपूर्ण भूमिका रहने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला अधिकारीले सर्वाङिण क्षेत्रको विकासका साथै विशेष शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित रहेको र जीतपुरसिमरामा आरोग्य सेवा केन्द्रको स्थापनाले स्वास्थ्य क्षेत्रको विकासको लागि थप प्रयास गर्ने बताए ।
मधेस प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैयाको सहयोगमा नागरिक आरोग्री सेवा केन्द्रको सिमरामा उद्घाटन गरिएको जीतपुरसिमरा स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्करले जानकारी दिए ।
सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्रको बिस्तार गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाराकी प्रमुख पुनिता केशरीले बताइन् ।
एकजना वैद्य र एकजना कार्यालय सहयोगी नियुक्ति गरेर उपमहानगरपालिकाले उपलब्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो ।
नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने कार्यालय प्रमुख केशरीले बताइन् ।
‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ केशरीले भनिन्, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ ।’
बारा जिल्लामा ८ वटा स्थानिय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ भने ३ वटा स्थानिय तहमा अब चाडै नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिने जिल्ला आयुर्बेद कार्यालय बाराले जनाएको छ । उक्त उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगर वडा न २ को वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साह लगाएतको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया