काठमाडौँ । नेपालको विकास निर्माणमा हुने ढिलासुस्तीको प्रमुख कारण ठेकेदारको लापरबाहीलाई लिने गरिन्छ । ठेक्का हात पार्ने र विभिन्न बहाना देखाएर समयमा काम नसक्ने प्रवृत्ति पछिल्लो समय झन् मौलाएको छ ।
तर, राज्यले स्रोतको सुनिश्चितता नगरी हचुवामा आयोजना छनोट गर्ने कारणले कतिपय आयोजना अलपत्र पर्ने गरेका छन् । सस्तो लोकप्रियता र मतदाता प्रभावित पार्नकै लागि नेतादेखि दल र सरकारसम्मले स्रोतको टुंगो नलगाई हचुवाकै भरमा आयोजना निर्माणको घोषणा गर्ने प्रवृत्तिका कारण निर्माण सुरु भएका आयोजना अलपत्र परेका छन् । समयमा काम नसकिँदा बनेका संरचना पनि काम नलाग्ने गरी बिग्रिने डर उत्तिकै छ भने करोडौँ रुपैयाँ यत्तिकै खेर गइरहेको छ ।
त्यस्तै प्रकृतिको आयोजना हो– बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि निर्माण थालिएको आयोजना । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको खानेपानी अभाव पूर्ति गर्न वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माणको काम बजेट अभावका कारण ठप्प भएको छ ।
निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले अघिल्लो आर्थिक वर्षदेखिकै १ करोड ३८ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । तर, सो योजनाका लागि चालु आर्थिक वर्षका लागि जम्मा १ लाख रुपैयाँ बजेट छुट्ट्याइएको थियो । संघ खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग २ करोड ४६ लाख रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका इन्जिनियर अजय तिमिल्सिनाले यसअघि गरेको कामको भुक्तानी नपाएको भन्दै थप बजेट प्राप्त हुने सुनिश्चित नभएपछि गत फागुनदेखि निर्माण रोकिएको बताए । ‘९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा गत वर्ष काम गरेको ५६ लाख रुपैयाँ पाउन बाँकी छ,’ उनले भने, ‘समयमा भुक्तानी नपाएको र खरिद ऐन संशोधनसँगै ठेक्काको म्याद थप हुने भएपछि काम रोकिएको हो ।’ उनका अनुसार १८ महिनाको ठेक्का अवधि बढेर ३ वर्ष पुग्न लागेको छ ।
आयोजनामार्फत् खडेरी, मुहान सुक्ने समस्या र पहिरोका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार हुने समस्या हटाउन विकल्पका रूपमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाउन पानी शुद्धीकरण गर्ने संरचना तयार पारिएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।
उनका अनुसार बराहपाखोमा ३ लाख ४० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइसकेको छ । साथै ५ दशमलव ९४ घनलिटर क्षमताका दुइटा पानी शुद्धीकरण गर्ने फिल्टर प्लान्ट निर्माण सकिएको छ ।
नयाँ प्रविधिको ‘सेडिमेसन’ र ‘सान्डफिल्टर’ ट्यांकी प्रयोगमा ल्याउन नसक्दा पानी शुद्धीकरण गर्न अतिरिक्त खर्च बढेको अध्यक्ष गिरीले बताए । ‘बजेट अभावमा पानी शुद्धीकरण गर्ने ट्यांकीमा राख्ने सामग्री ल्याउन नसक्दा नयाँ संरचनाको प्रयोग हुन सकेको छैन,’ उनले भने, ‘पुरानो ट्यांकीमा पानी शुद्धीकरण गर्ने संरचना मर्मत गर्दा धेरै खर्च बढिरहेको छ ।’
बेनी नगरपालिका–२ स्थित कालीगण्डकी नदी किनारको इनारदेखि १३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्यांकीसम्म करिब ९०० मिटर ४ इन्चको जिआई पाइप जडान गरेर लिफ्ट प्रविधिमार्फत् पानी तान्ने व्यवस्था मिलाइएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
हाल दुइटा पम्पबाट प्रतिसेकेन्ड १० लिटरका दरले पानी तानिएको छ । ३ वटै पम्प चलाउँदा प्रतिसेकेन्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिने संघ खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए । लिफ्ट प्रविधि सञ्चालन भए पनि पानी शुद्धीकरण गर्ने संरचना प्रयोगमा आउन नसकेको उनले बताए ।
आयोजनालाई पूर्णता दिन खानेपानी मन्त्रालयमा थप बजेट माग गरिए पनि सफल नहुँदा समस्या परेको इन्जिनियर सुवेदीले बताए । आयोजनाले २ वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि ४२ लाख ८१ हजार ८२० रुपैयाँ लागतमा २ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरेको थियो ।
आयोजनाको हाल १ लाख लिटर क्षमताको एउटा र २ लाख लिटर क्षमताका दुइटा रिजर्भ ट्यांकी छन् । मुहानबाट ट्यांकीमा संकलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको इन्जिनियर सुवेदीले बताए । उनका अनुसार बेनी–७, ८ र २ नम्बर वडाका ११ सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेन्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ ।
दैनिक ५ लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले जानकारी दिए । उनका अनुसार २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको छ ।
प्रतिक्रिया