प्रधानमन्त्री ओलीसँग रुसी प्रतिनिधिमण्डलकाे भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघ अन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे ।

जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए । भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया