१२ वर्षदेखि जहाज नदेखेको विमानस्थल

रुकुम पश्चिम । कालोपत्र गरेपछि जहाज कुरेर बसेको चौरजहारी विमानस्थल सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’ जस्तै भएको छ । एअरपोर्ट छ, तर जहाज आउँदैन ।

५४ वर्षअघि रुकुम पश्चिमको चौरजहारीमा निर्माण भएको विमानस्थलको धानमार्ग ४२ वर्षपछि (२०७०–७२ सालमा) कालोपत्र गरियो । कच्ची धावनमार्ग हुँदा फाट्टफुट्ट उडान हुने यो विमानस्थल पक्की भएपछि भने उडान नै ठप्प छ । १२ वर्षदेखि चौरजहारीमा जहाज अवतरण नै भएनन् ।

२०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । कालोपत्र भएदेखि विमानस्थल बन्द हुनुको मुख्य कारण नेपाल वायु सेवा निगमसँग जहाज र जनशक्ति अभाव हो ।
मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो विमानस्थल छिमेकी जिल्ला जाजरकोट, सल्यान र रुकुमका बासिन्दालाई लक्षित गरी बनाइएको थियो । ३ वटै जिल्लाको पायक पर्ने ठाउँबाट उडान हुने भएपछि सर्वसाधारणमा जागेको आशा लामो समय विमानस्थल बन्द हुँदा निराशामा बदलिएको छ ।

५ करोड ५९ लाख ४९ हजार ९५२ रुपैयाँ लागतमा कालोपत्र भएको विमानस्थल १ दशकभन्दा बढी समयदेखि बन्द हुँदा अहिले धावनमार्ग झाडीले छोपिने अवस्थामा पुगेको छ । विमानस्थल वरपर गाईबस्तु चराउने र चराचुरुंगीको बासस्थान बनेको छ । कालोपत्र हुनुअघि नेपाल एयरलाइन्सको जहाजले सातामा २ दिन उडान गथ्र्यो ।
चौरजहारी नगरपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गिरी भन्छन्, ‘एअरपोर्ट पिच भएदेखि जहाज नै आउन छाड्यो । अहिले त विमानस्थलका सबै सामानसहित कार्यालय नै सारिसके । करोडौँ खर्चेर कालोपत्र गरेको धावनमार्ग अलपत्र छ ।’ नियमित सञ्चालनका लागि स्थानीय सरकारले पटक–पटक निगममा अनुरोध गर्दा पनि ‘व्यवस्था गरिन्छ’ भन्नुबाहेक केही नगरेको गिरीले बताए ।

१२ वर्षदेखि विमानस्थल नै बन्द भएपछि अब जहाज आउने आशासमेत नरहेको स्थानीय दौलत बिष्ट बताउँछन् । जहाज बन्द हुदा मिसन अस्पतालबाट रिफर गर्नुपर्ने बिरामी बढी मर्कामा परेको बिष्ट बताउँछन् ।

अहिले विमानस्थलको कार्यालय र सुरक्षाकर्मीसमेत हटाइएको छ । निगमका अनुसार नियमित उडान हुन नसक्दा समस्या भएको हो । पहिले हप्तामा २ दिन उडान भर्ने विमानस्थल र टावरमा अहिले कर्मचारी छैनन् । चौरजहारीबाट सबै सामग्रीसहित कार्यालय नै उठाएर नेपालगन्ज लगिएको छ ।

विमानस्थल अनिश्चित भएपछि रुकुम जिल्लाकै सबैभन्दा ठुलो मिसन अस्पतालमा आउने जटिल अवस्थाका बिरामीले सास्ती खेप्दै आएका छन् । विमानस्थलको स्तरोन्नति तथा निर्माणका लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले १२ अर्ब २४ करोड बजेटसमेत विनियोजन गरेको थियो ।

विमानस्थल बन्द हुँदा यात्रु मात्रै मारमा परेका छैनन्, नयाँ सहरका रूपमा रहेको चौरजहारीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सकिएको छैन । जसले होटल, ट्राभल एजेन्सी, गाइड, रेस्टुरेन्ट जस्ता व्यवसायमा ठुलो घाटा पुगेको छ । हवाई मार्गबाट आउने अत्यावश्यक सामग्री, औषधि, कृषि वस्तु तथा अन्य व्यापारिक सामान ढुवानीमा ढिलाइ हुने गरेको छ । कार्यालय नै बन्द भएपछि विमानस्थलसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न कर्मचारी, व्यवसायी, सवारी चालक, र ट्राभल एजेन्टहरू सबैको रोजगारी प्रभावित भएको छ ।

भौगोलिक रूपमा विकट र पहाडी क्षेत्रका लागि विमानस्थल केवल यातायातको माध्यम मात्र नभई विकास, राहत, उद्धार, पर्यटन र व्यापारको मेरुदण्ड हो । त्यसैले कुनै पनि विमानस्थल लामो समयका लागि बन्द हुनु भनेको समग्र क्षेत्रीय र राष्ट्रिय प्रणालीमा गहिरो असर पर्ने संकेत हो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया