गाविस अध्यक्ष हुँदै प्रदेशसभा सदस्यमा भण्डारीको छलाङ

काठमाडौँ । बझाङ प्रदेशसभा १ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

सदर भएको २९ हजार ७०५ मतमध्ये एमालेका भण्डारीले ११ हजार ६१३, कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । सिंहभन्दा एमालेका भण्डारीले २६७ मत बढी ल्याएर चुनाव जितेका हुन् । त्यस्तै, माओवादी केन्द्रका उम्मेद्वार जनकबहादुर बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए । बझाङ (१) को प्रदेशसभा सदस्यका लागि २०७९ सालमा भएको चुनानवमा कांग्रेसले जिते पनि उपचुनावमार्फत् एमालेले उक्त नतिजा उल्ट्याइदिएको हो ।

गत वर्ष असारमा भएको सडक दुर्घटनामा परी प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि वैशाख १५ मा उपचुनाव भएको हो । यो चुनावमा कांग्रेसले पृथ्वीबहादुरकै छोरा अभिषेकलाई उम्मेद्वार बनाएको थियो । तर, अभिषेकले बुबाको जित भने जोगाउन सकेनन् ।

१५ गते भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेद्वार थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका सिंहले नेकपा एमालेका अभिभाल ओखेडालाई पराजित गर्दै विजयी बनेका थिए । २०७९ सालको चुनावमा गठबन्धन भएको बझाङ प्रदेशसभाको चुनावमा यसपटक सबै राजनीतिकहरु एक्लाएक्लै मैदानमा उत्रिएका थिए ।

२०७९ सालको चुनावमा कांग्रेसलाई माओवादी, नेकपा एसलगायत गठबन्धनमा रहेको दलहरुकले समर्थन गरेका थिए । यसपटक सबै दलहरू एक्लाएक्लै चुनावमा होमिँदा बाजी एमालेले मा¥यो । योसँगै सुदूरपश्चिम प्रदेशसभामा एमालेको १ सिट थपिएका छ ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वार रहेका सिंह १७ हजार ११२ मतका साथ विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाएका थिए ।

उपनिर्वाचनका लागि उम्मेद्वार सिफारिसमै बझाङ एमालेमा आन्तरिक मतदान भएको थियो । मतदानमा दमन भण्डारीले लोकप्रिय मत पाएका थिए । पार्टीभित्र ९४ मत पाउँदै भण्डारी उम्मेद्वार बनेका थिए । उनी पार्टीभित्र पहिलोभन्दा अफिलाल ओखेडाले ६०, गोकुल सिंहले २८ र प्रयागराज जोशीले १३ मत पाएका थिए ।

नेताहरुबीच मतदानमार्फत् उम्मेद्वारको चयन गरिए पनि सबै आकांक्षी नाम पार्टी केन्द्रमा पठाइएको थियो । आन्तरिक मतदान गराएर क्रमानुसार आएका नामहरू मध्ये भण्डारीलाई नै पार्टी केन्द्रले उम्मेद्वार बनाउने निर्णय गरेको थियो । यसरी आन्तरिक मतदानमार्फत् टिकट लिने विधि अपनाएका भण्डारीले संसदीय चुनावमा पनि कांग्रेसका उम्मेद्वारलाई हराउँदै प्रदेशसभा सदस्य जिते ।

को हुन् भण्डारी ?

५७ वर्षीय भण्डारी छविसपाथिभेरा गाउँपालिका–१ भण्डारी गाउँका स्थायी बासिन्दा हुन् । सामान्य किसान परिवारमा जन्मिएका भण्डारी राजनीतिक माहोलमा हुर्किएका हुन् । उनका हजुरबुबादेखि बुबासम्म राजनीतिमा सक्रिय भएर लागेका अनुहारमा गनिन्छन् । पञ्चायत कालमा उनका बुबा वडा सदस्य भएका थिए ।

भण्डारी अहिले बुबाको शोकमा छन् । यही वैशाख ११ गते उनका बुबाको निधन भएको थियो । चुनावको प्रचारप्रसारमै रहेका बेला उनले बुबाको अन्तिम संस्कार गर्न परेको थियो ।

गाउँबाट एसएलसी दिएर कानुन विषय पढ्न काठमाडौँ गएका उनी क्याम्पस पढ्ने बेलामा अनेरास्ववियुमा आबद्ध भएका थिए । २०५४ सालमा गाविस अध्यक्ष बनेका भण्डारी त्यससमय एमाले जिल्ला सदस्य हुँदै गाविस राष्ट्रिय महासंघको बझाङ जिल्ला अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी युवा संघको जिल्ला अध्यक्ष चुनिएका थिए ।

२०६९ सालमा एमालेको जिल्ला कमिटीको सचिव बनेका भण्डारी २०७८ सालमा जिल्ला अध्यक्षमा चयन भएका थिए । भण्डारी अहिले पनि नेकपा एमाले बझाङका अध्यक्षमा छन् ।

एससहित ८ उम्मेद्वारको जमानत जफत

बझाङ प्रदेशसभा (१) मा एमालेका भण्डारी विजयी हुँदा ८ जना उम्मेद्वारको जमानत जफत हुने देखिएको छ । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने हुन्छ । नर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको धरौटी जफत हुने व्यवस्था छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको धरौटी जफत हुने’ उल्लेख गरिएको छ ।

बझाङ १ (१) मा २९ हजार ७०५ सदर मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार धरौटी जफत नहुनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने थियो । तर, ८ उम्मेद्वारले सदर मतको १० प्रतिशत मत कटाउन सकेनन् । ऐनअनुसार प्रदेशसभा सदस्य उम्मेद्वारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा ५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ ।

निर्वाचनमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरे ।

जमानत जफत हुनेहरूमा नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत, राप्रपाका किशोर कुमार खड्काले २४२ मत, जसपाका रामबहादुर जाग्रीले ३५ मत, गजेन्द्र बहादुर थापाले ३५ मत, दीपकबहादुर खड्काले २८ मत, सुशीलादेवी विष्ट २६ मतले, खगेन्द्र्र्रबहादुर शाहीले २४ र कमल घर्तीमगर २ मत पाएका छन् ।

प्रतिक्रिया