आफूले पढाउने विद्यालयमै आफ्ना छोराछोरी

हेटौँडा । सामुदायिक विद्यालयका शिक्षकका बालबालिका निजी विद्यालयमा पढाएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको भन्ने आरोप लागिरहँदा हेटौँडाको श्रमिक माध्यमिक विद्यालयका शिक्षकहरूले आफ्ना बालबालिका आफैँले पढाउने विद्यालयमा भर्ना गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका–४, कर्रामा रहेको सो विद्यालयका ६ जना शिक्षकहरूले सोमबार आफ्ना बालबालिकालाई आफ्नै विद्यालयमा भर्ना गरेका हुन् । शिक्षकहरूले आफैँले काम गर्ने विद्यालयप्रति विश्वास गरेर बालबालिका भर्ना गर्नु स्वागतयोग्य कदम भएको भन्दै वडाध्यक्ष नवीन सिग्देलले शिक्षकहरूलाई सम्मान गर्नुका साथै नयाँ भर्ना भएका बालबालिकालाई विद्यालयमा स्वागत गरेका थिए ।

विद्यालयमा कार्यरत शिक्षकहरू सुशील पोखरेल, सम्झना न्यौपाने, दिलासा शर्मा, सायरा खातुन, भीमकुमारी आचार्य र सम्झना न्यापानेले आआफ्ना छोराछोरीलाई स्वस्फूर्त रूपमा विद्यालयमा भर्ना गरेका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिए । प्रधानाध्यापक दाहालले आफ्ना छोराछोरीसमेत हेटौँडा–५ मा रहेको बालज्योति माध्यमिक विद्यालयमा अध्ययनरत रहेका छन् ।

विद्यालयको वातावरण बालबालिकाहरूका लागि उपयुक्त लागेर नै निजी विद्यालयमा पढाइरहेका छोराछोरीलाई यस वर्ष आफ्नै विद्यालयमा भर्ना गरेको शिक्षक सम्झना न्यौपानेले बताइन् । विगतमा आफूले पनि लामो समय संस्थागत विद्यालयमा शिक्षण गरेको बताउने न्यापानेले श्रमिकमा बालबालिकाहरू बढी स्वतन्त्र भएर सिक्ने वातावरण भएकाले पनि आफूलाई छोराछोरी आफ्नै विद्यालयमा ल्याउन प्रेरणा मिलेको उनको भनाइ छ ।

अर्का शिक्षक रमिका शाक्यले पनि विद्यालयको वातावरण उपयुक्त लागेकाले परिवारलाई मनाएर छोरालाई आफैँले पढाउने विद्यालयमा भर्ना गरेको बताइन् ।

३६ जना शिक्षक कर्मचारी रहेको विद्यालयका प्रायः स्थानीय शिक्षकहरूका बालबालिका आफ्नै विद्यालयमा अध्यापन गराइरहेका छन् । विद्यालयले पछिल्लो समय भौतिक संरचना मात्र नभई शैक्षिक गुणस्तरमा समेत विशेष ध्यान दिइरहेकाले अभिभावकको रुचिसमेत विद्यालयप्रति बढेर गएको प्रधानाध्यापक दाहालको भनाइ छ ।
हाल ५१७ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले यस वर्ष ३०० विद्यार्थी थप गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया