साढे ८ दशकदेखि नृत्य र गायनमा रमाउँदै कलाकार अनुप सहनी

आरके श्रीवास्तव

रौतहटमा एक यस्ता कलाकार छन् जो साढे आठ दशकदेखि निरन्तर नृत्य र गायनमा रमाएका छन् । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका ९० वर्षीय कलाकार अनुप सहनी विगत ८५ वर्षभन्दा लामो समयदेखि नृत्य गर्दै र गाउँदै आएका छन् । यस उमेरमा पनि नृत्य गर्न र गाउन नछाडेका कलाकार सहनी भने गाउँकै रामजानकी मठमा भने कहिलेकाहीँ भजन गाउँदै तालमा नृत्य पनि गर्छन् ।

४–५ वर्षको उमेरदेखि नै नृत्य गर्न र अरूले गाएको गीत गाउन थालेका सहनीको सम्पूर्ण जीवन नै कलाकारिता क्षेत्रमा बित्यो । यत्तिको लामो समयसम्म कलाकारिता पेसालाई अँगाल्ने सहनीजस्ता निकै कम प्रतिभा देशमा हुनुपर्छ । गाउँकै सारंगीवादक रामकृपाल ठाकुर हजामसित बाल्यावस्थामा घुँघरु बाँधेर नाच्न सिकेका सहनीले जीवनसँगै नृत्य र गायनलाई डोर्याइरहे वा नृत्य र गायनसँगै जीवनलाई डोर्याइरहे, पत्तै भएन । गीताको निष्काम कर्म झैँ केवल नृत्य र गायनमा समर्पित सहनी कहिल्यै कुनै पदमा गएनन् तथा कहिल्यै कुनै सरकार वा संस्थाले सम्मान गरेन । हालै, जनकपुरस्थित श्री सरस्वती राजनारायण प्रतिष्ठानले रौतहटको कला सम्बद्र्धन समितिमार्फत गरुडामा सहनीलाई सम्मानित गर्दा आजीवन कलाकार सहनी द्रविभूत भएका थिए ।

पिता पुलिस सहनी र माता मखनीदेवी सहनीलाई बाल्यकालमा आफूले नृत्य गरेको त्यति मन पर्दैनथ्यो तर नृत्यप्रतिको लगावको कारण पछि मातापिताले पनि सहनीलाई प्रोत्साहन नै गरेका थिए । पहिलेको चलन अनुसार किशोर अवस्थामा केटीको कपडा लगाएर केटीको भेषमा नृत्य गर्ने सहनी उमेर बढ्दै जाँदा युवती हुँदै आइमाई बनेर निरन्तर नाचिरहे । महिला बनेर नृत्य गर्ने पुरुषलाई स्थानीय बज्जिका भाषामा लवन्डा भन्ने गरिन्छ । लवन्डाले आफैँले मुखले गाउने र नृत्य गर्ने चलन पहिले थियो । अहिलेको जस्तो वाद्ययन्त्र तथा साजबाजको विकास भइनसकेको जमानामा सहनीले वर्तमानमा रहेको मधेस प्रदेशको हरेक जिल्लामा नृत्य गरिसकेका छन् । यसैगरी भारतको पनि एक दर्जन जिल्लामा नृत्य गरिसकेको सहनी बताउँछन् ।

नृत्यले नै परिचित कलाकार सहनी विभिन्न लोकगीत तथा आधुनिक गीत गाउनुका साथै अनेक किसिमका परम्परागत गीत गाउँदै आएका छन् । कलाकार सहनीलाई कसैले नचनिया भन्यो भने अहिले पनि अनुहार उज्यालो बनाउँछन् जबकि अन्य कलाकारलाई भने नचनिया भनेर सम्बोधन गर्दा अपमान महसुस गर्दछन् ।

उनी भन्छन्, ‘अब लाठीको सहाराबिना हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ तर जब कतै ढोलक बजेको आवाज सुन्छु तब मेरो मन भने त्यसको तालमा नाच्न थाल्छ ।’ कलाकार सहनीको रौंं रौंमा, नसानसामा कलाकारिता भरिएको छ ।

समयको मागअनुसार सहनीले अनेक किसिमका भूमिका निर्वाह गरेका छन् कलाकारितामा । राजा भरथरि, बिरजाभार, राजा विक्रमादित्य, सती बिहुला, शीत–वसन्त जस्ता लोकनाटक तथा परम्परागत नृत्यका साथै विभिन्न धार्मिक नाटकमा जीवनभर महिला पात्रको भूमिका निर्वाह गरेका कलाकार सहनी गायनमा पनि विशेष गरेर लोकगाथा तथा लोकगीत गाउँदै आएका छन् । नाचमा आवश्यकता तथा दर्शकको मागअनुसार निर्गुन, सोहर, पूर्वी जस्ता लोकगीतका साथै अनेकौँ भक्तिगीत गाउने र आफूले गाएकै तालमा बज्ने बाजाको तालमा नृत्यको सन्तुलन मिलाउनमा खप्पिस कलाकार सहनी भन्छन्, ‘पहिलेको जुग जमाना सबै बदलिइसक्यो । पहिलेको तुलनामा अहिलेको नृत्यमा खासै परिश्रम र कला देखिँदैन ।’

मधेस प्रदेशका सबै जिल्लाका साथै भारतका विभिन्न जिल्लामा नृत्य र गायनमा संलग्न रहँदै गर्दा कलाकार सहनी सबैभन्दा खुसीको क्षण त्यसलाई मान्दछन् जब कोही ठुलो मानिस आफ्नो कलाकारिताको प्रशंसा कला देखेपछि भेटेर गर्दछन् । धेरै ठाउँमा कलाकार सहनीको कलाबाट प्रभावित भई दर्शकले सोझै पैसा दिएका छन् । यसरी पैसा पाउँदा सोझै सम्मानित भएको लागे पनि वास्तवमा पैसाभन्दा ठूलो सम्मान प्रशंसा हुने गरेको कलाकार सहनी बताउँछन् । जब कला सम्बद्र्धन समितिले सम्मानपत्रसहित पाँच जिल्लाका उच्च बौद्धिक व्यक्तित्व तथा कलाकारको बीचमा सम्मानित गर्यो तब सहनीलाई हर्षविभोर बनेका थिए । ‘हमर जीवन सफल भेल हए’ कलाकार सहनीको मुखबाट मातृभाषा बज्जिकामा प्रस्फुटन भएको थियो ।

कलाकारिता क्षेत्रलाई राम्ररी चिनेका कलाकार सहनीलाई कलाकारिता क्षेत्रले भने चिन्न सकेन । मिडियामा कहिल्यै पुग्न नसके पनि ग्रामीण क्षेत्रका नागरिकका दुःख र सुख दुवैका साथी बनेका कलाकार सहनी सबै उत्सव तथा परम्परागत संस्कृतिमा गायन र नृत्यमार्फत समाजको सेवा गरेका छन् । अब व्यावसायिक कलाकारिता जीवनबाट अवकाश लिइसकेका विशिष्ट कलाकार सहनीलाई अझै पनि विभिन्न ठाउँमा भाकल पूरा गर्ने सांस्कृतिक नृत्यको लागि अवसर आउने गरेको छ । कलाकारिताबाटै घरपरिवार पालेका सहनी भन्छन्, ‘मेरो जीवन सफल भएको म मान्छु ।’

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया