बझाङको परिणामले फेरिएको सुप समिकरण

काठमाडौं । बझाङ (क)मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) दमनबहादुर भण्डारीले विजय हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीको भाउ घट्ने र राष्ट्रिय प्रजातन्त्र पार्टीको बढ्ने स्थिति बनेको छ ।


सुदूरपश्चिम प्रदेशमा यसअघि नाउपा निर्णायक अवस्थामा थियो । उ जता लाग्यो उसकै बहुमत पुग्ने स्थिति हुँदा उसको वार्गेनिङ पावर बढेको थियो तर, अब बझाङमा नेकपा(एमाले)ले जितेको छ । ‘सुप’ प्रदेशसभामा एमालेकोे एक सिट बढेको हो । यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसमा प्रदेश सांसदको दुर्घटनामा मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुँदा एमाले विजयी बनेको हो ।


अब सुप प्रदेशसभामा एमालेको संख्या ११ पुगेको छ । माओवादीको सभामुखसहित ११ सांसद छन् भने एकीकृत समाजवादीको ४ सांसद छन् । यी तीन दलको सांसद संख्या सभामुख बाहेकै २५ हुन्छ । सुदूरमा सरकार बनाउन चाहिने संख्या २७ हो । एक जना स्वतन्त्र सांसद छन् जो यही गठबन्धनलाई समर्थन जनाइरहेका छन् । अब एक जना भए बहुमत पुग्छ र त्यो एक सांसद राप्रपासंग छ ।


यसकारण अब पहिलेजस्तो नाउपा सुदूरमा निर्णयक शक्ति नरहेको हो । आन्तरिक विवादको भूमरीमा रुमल्लिएको नयाँ दल नाउपाले अब सुदूरपश्चिममा मुख्यमन्त्रीको वार्गेनिङ पावर गुमाएको अवस्था छ । यसअघि कांग्रेस र एमालेसहितको गठबन्धन दुवैतिरबाट उसले मुख्यमन्त्रीको अफर पाएको थियो । तर, आन्तरिक विवादकै कारण अवसर गुमाएको थियो । यद्यपी मुद्दा अदालतमा विचाराधिन छ ।


अब नाउपाले चाहेर पनि नेतृत्व पाउन सहज छैन । किनभने, कांग्रेस नेतृत्वको गठबन्धनले हालको सत्ता गठबन्धनको कुनै घटकलाई नतानेसम्म सरकार बनाउने सामथ्र्य राख्दैन । तर, सत्ता गठबन्धनलाई नाउपा नभए पनि बहुमत प्रदर्शन गर्न सक्ने ठाउँ छ ।


त्यहाँ कांग्रेससँग १८ र नाउपासँग ७ सांसद छन् । नाउपा सिंगै कांग्रेसतिर लाग्दा पनि बहुमत पुग्न सक्दैन । अझै दुई सांसद आवश्यक पर्छन् । त्यसका लागि स्वतन्त्र र राप्रपाले साथ दिनुपर्ने हुन्छ । बरु सुदूरपश्चिममा राप्रपा निर्णायक भएर आउँदा उसैको ‘बार्गेनिङ पावर’ बढेको छ । एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भए पनि उनको नियुक्तिको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा प्रश्न उठेको छ । उता नाउपाको पनि रञ्जिता श्रेष्ठ र रेशम चौधरीमध्ये ‘को’ वैधानिक अध्यक्ष भन्नेलगायत रञ्जिताले प्रदेश सांसदमाथि गरेको कारवाहीको विषयसमेत सर्वोच्च अदालतमा विचाराधिन छन् ।

प्रतिक्रिया