निर्वाचन आचारसंहिताविरुद्ध प्रहरीमा बढुवा

काठमाडौं, ५ असार । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारले नेपाल प्रहरीका उच्च अधिकारीको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीका उच्च अधिकारीको सरुवा गरेको हो ।

सरकारले ७ मंसिरमा पुन: संविधानसभाको निर्वाचन घोषणा गरेपछि आयोगले २४ जेठमा बाह्रबुँदे आचारसंहिता जारी गर्दै संविधानसभा निर्वाचन नहुन्जेल कर्मचारीको सरुवा, बढुवा तथा सेवासुविधा नदिन भनेको थियो । आयोगले आचारसंहिता जारी गरेपछि त्यसको कार्यान्वयनबारे अनुगमन गर्न आयुक्त अयोधीप्रसाद यादवको संयोजकत्वमा पॉच सदस्यीय अनुगमन समिति बनाएको थियो । समितिको अनुगमनमा सरकारबाट नै पटकपटक आचारसंहिता उल्लंघन गरेको भन्दै बुधबार मुख्यसचिव माधवप्रसाद घिमिरेलाई पुन: पत्र पठाई आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न सरकारसँग आग्रहसमेत गरेको थियो ।
तर, आयोगको आग्रह बेवास्ता गर्दै मन्त्रिपरिषद्को निर्णयबाट सोमबार पॉच एआइजी र १९ डिआइजीको सरुवा गरिएको छ । गृह मन्त्रालयको सिफारिसअनुसार भन्दै वरिष्ठ प्रहरी अधिकृतलाई आफू अनुकूलका निकायमा सरुवा गरेको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौंमा एआइजी नवराज ढकाल ल्याइएका छन् । आयुक्त कार्यालयमा रहेका कुवेरसिंह रानालाई कार्यविभाग प्रमुखमा पठाइएको छ । भीष्म प्रसाईंलाई प्रशासनमा, प्रकाश कुँवरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा र मानव स्रोतमा किरण गौतमलाई सरुवा गरिएको छ ।
त्यसैगरी, महानगरीय ट्राफिक प्रहरी महाशाखामा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखमा उपेन्द्रकान्त अर्यालको ठाउ‘मा डिआइजी सुरेन्द्र शाहलाई ल्याइएको छ । त्यस्तै अर्याललाई ट्राफिक महाशाखा, पर्शुराम खत्रीलाई पूर्वाञ्चल, राजेन्द्रसिंह भण्डारीलाई तालिम निर्देशनालय, यादव अधिकारीलाई मध्यमाञ्चल, रमेशशेखर वज्राचार्यलाई पश्चिमाञ्चल, सुशीलवरसिंह थापालाई सुदूरपश्चिम, वीरेन्द्रबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल, नारायण वस्ताकोटीलाई आतंकवाद सेल, केशव अधिकारीलाई मेट्रो–२, गोपाल भण्डारीलाई अख्तियार तथा केशबहादुर शाहीलाई मध्यपश्चिममा सरुवा गरिएको छ । प्रबन्धमा विज्ञानराज शर्मा र टपेन्द्र हमाललाई लागु औषध कानुन कार्यान्वयन एकाइमा पठाइएको छ । बैठकले प्रधानमन्त्रीको भ्रमणलाई स्वीकृत गर्दै कार्यबाहक प्रधानमन्त्रीका रूपमा उपप्रमप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई जिम्मेवारी सुम्पेको मन्त्री बद्री न्यौपानेले बताए ।
यसअघि २५ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका सहायक रथी सुरेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीका डिआइजी जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, पुष्पराम केसी, दिवाकर केसी, रामशरण पौडेल र नयनबहादुर पौडेललाई पनि सरकारले बढुवा गरेको थियो ।

धिताल पदमुक्त

सरकारले नेपाल टेलिभिजनका कायम मुकायम महाप्रबन्धक दीपकमणि धिताललाई पदमुक्त गरेको छ । गत २६ जेठमा खुल्लामञ्चमा कांग्रेस, एमालेलगायत २७ विपक्षी दलले गरेको सरकार विरोधीसभाको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेको अभियोग लगाउ‘दै महाप्रबन्धक धिताललाई पदमुक्त गरेको हो । टुँडिखेलमा गरिएको विरोधसभाको प्रत्यक्ष प्रसारण गरेको विषयलाई लिएर कायममुकायम महाप्रबन्धक धिताललगायत नेपाल टेलिभिजनको उच्च व्यवस्थापनसँग प्रधानमन्त्री भट्टराईका निजी सचिवालयका अधिकारी, मुख्यसविच माधवप्रसाद घिमिरे र सञ्चार सचिवले पटकपटक सोधपुछ गरेका थिए ।
सरकारको निर्णयको विरोध गर्दै नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आपत्ति जनाउ‘दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघले एउटा सञ्चारमाध्यमको प्रमुखले कर्तव्य निर्वाह गर्ने सिलसिलामा गरेको कामलाई लिएर सोधपुछ गरिएको घटनाको विरोध गरेको छ ।
यसैबीच, कामुमहाप्रबन्धक धिताललाई पदमुक्त गरेकोमा नेपाल टेलिभिजन प्रतिष्ठानसँग सम्बन्धित विभिन्न संघसगठनले विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया