१३ विद्यालयलाई स्मार्ट बनाइँदै

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा रहेका विद्यालयहरू मध्ये १३ वटा विद्यालयलाई सरसफाइका क्षेत्रमा स्मार्ट विद्यालयका रूपमा विकसित गरिने भएको छ । स्मार्ट विद्यालय बनाउन सरसफाईका विभिन्न ६ वटा सूचक तयार गरिएको छ । ती सूचक कार्यान्वयनका लागि विद्यालयमा ६ वटा समूह निर्माण गरी एक समूहले अर्को समूहले गरेका कामहरूको अनुगमन तथा मूल्यांकन गरी प्राप्तांक दिने गर्छन् ।

जसअनुसार स्वच्छ शौचालयको प्रयोग र पहुँच, व्यक्तिगत सरसफाइ तथा साबुनपानीले हात धुने, महिनावारी व्यवस्थापन, सुरक्षित पिउने पानी, सुरक्षित एवं स्वस्थ खाना र स्वच्छ वातावरण गरी ६ वटा सूचक तयार गरी समूह निर्माण गरिन्छ । ती सूचकअनुसार निर्माण गरिएका समूहले एकअर्काको अनुगमन तथा मूल्यांकन गरी प्राप्तांक दिने र उत्कृष्ट समूह चयन गर्ने गरिन्छ, आदर्श मावि राँझाका प्रधानाध्यापक प्रकाश आचार्यले भने ।

‘स्मार्ट स्कुल’ निर्माणका क्रममा नेपालगञ्ज –२० स्थित आदर्श माविमा सरसफाइ सम्मेलन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, एसएनभी नेपाल तथा गेरुवा ग्रामीण जागरण संघको समन्वयमा गरिएको सम्मेलनमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा जानकारी दिन सम्मेलनको आयोजना गरिएको प्रधानाध्यापक आचार्यले बताए ।

विद्यालयमा छात्रामैत्री शौचालय छुट्टै बनाइएको तथा महिनावारीसम्बन्धी छात्राहरूलाई विद्यालय आउन प्रेरित गरेकै कारण उनीहरू विद्यालयमा नियमित उपस्थित हुने गरेको प्रअ आचार्यको भनाई छ । ‘विद्यालयका विद्यार्थीहरू व्यक्तिगत सरसफाइमा पनि सचेत छन्,, विद्यालयले पनि नियमित सरसफाइका गतिविधिमा सहभागी गराउँदै आएको छ । विद्यालयमा पढाउनेसँगै विद्यार्थीहरूलाई जीवनउपयोगी सीप दिने गर्छौं,’ प्रअ आचार्यले भने ।

‘उपमहानगरभित्रका विद्यालयलाई सरसफाईका क्षेत्रमा स्मार्ट बनाउँछौँ,’ नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भनिन, ‘बालबालिकाहरूलाई सानैदेखि सरसफाइसम्बन्धी ज्ञान दिनकै लागि यो कार्यक्रमको सुरुआत गरिएको हो ।’ उनले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यो कार्यक्रमलाई विस्तार गर्दै लैजाने बताउँदै भने, ‘यो कार्यक्रम निकै प्रभावकारी र जीवनमैत्री छ, यसको दिगो सञ्चालनका लागि सबै लाग्नुपर्छ ।’

उपमहानगरभित्रका आदर्श मावि, जय जनता मावि, मंगलप्रसाद मावि, सरस्वती मावि, लग्दहवा मावि, भवानीयापुर मावि, जगतज्योती मावि, ज्ञानसागर मावि, युद्व संस्कृत मावि, महाराजा मावि, नारायणी मावि, गौसिया मावि र बरकातिया मदरसामा यो परियोजना लागू भएको छ ।

नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले विद्यालयमा सरसफाइको सुधार गर्न परियोजना लागू गरेको बताए । उनले भने, ‘सरसफाई सूचकअनुसार समूह विभाजन गरिएको हुन्छ, सूचकको निर्देशिकाअनुसार काम हुन्छ र सोहीअनुसार प्राप्तांक दिइन्छ । यसले पनि विद्यार्थीमा सरसफाइका लागि प्रतिष्पर्धा भई सरसफाइमा क्रियाशील हुन्छन् ।’

वडाध्यक्ष कार्कीले सरसफाइका लागि विद्यालयमा मात्र नभई वडाभित्र अभियान नै सञ्चालन गरिएको बताए । वडा कार्यालयले राँझामा बृहत् सरसफाइ कार्यक्रमको आयोजना पनि गर्दै आएको छ ।

नेपालगञ्ज विमानस्थल रहेको राँझामा दैनिक सयौं संख्या बाहिरी जिल्ला र विदेशी नागरिकको आवागमन हुने भएका कारण सबैलाई सरसफाइप्रति सचेत हुन वडा कार्यालयले अभियान सञ्चालन गर्दै आएको उनले बताए । उनले सरसफाइका लागि सचेतना अभियानसमेत सञ्चालन भइरहेको बताए ।

गेरुवा ग्रामीण जागरण संघका कार्यक्रम संयोजक रामरूप कौशलका अनुसार यो परियोजनाको मूख्य उद्देश्य पढ्ने समयमा स्वच्छ वातावरण हुनुपर्छ भन्ने नै हो । विद्यालयको वातावरण विद्यार्थीमैत्री हुनुपर्ने मापदण्ड यसमा तोकिएको छ ।

‘यसले अभिभावकलाई पनि जिम्मेवार बनाउँछ,’ कार्यक्रम संयोजक कौशलले भने, ‘पहिलो कुरा वातावरणमैत्री विद्यालय र सरसफाइयुक्त विद्यार्थी भन्ने नै हो ।’ उनका अनुसार सरसफाईका ६ वटा सूचकमा ६ समूहको मूल्यांकनका लागि ६ वटा झन्डा विद्यालय परिसरमा राखिएको छ ।

उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले सम्मेलनले विद्यालयलाई वातावरणमैत्री बनाउनुका साथै सरसफाइमैत्री बनाउने दाबी गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्टु बर्माले स्वास्थ्यका लागि सरसफाइ अनिवार्य रहेकोले सरसफाइमा विद्यालयमा मात्रै नभई गाउँटोलमा समेत अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यस्ता गतिविधिहरू विद्यालयमा मात्र नभई गाउँटोलमा पनि जरुरी छन्, अभिभावकहरूलाई सचेत बनाउन गाउँगाउँमा यस्ता अभियानहरू सञ्चालन गरिनुपर्छ ।’ सो अवसरमा विद्यार्थीले विभिन्न प्रस्तुतिसमेत देखाएका थिए ।

प्रतिक्रिया