लगानी सम्मेलनले दिएको सन्देश

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाराका साथ सोमबार सुरु गरिएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन मंगलबार समापन भएको छ । लगानी सम्मेलनमा करिब ६० देशका ६०० भन्दा बढी अतिथिहरूको सहभागिता थियो । सम्मेलनका क्रममा वैदेशिक लगानीका लागि करिब १५० वटा परियोजना प्रदर्शन गरिएको थियो । यी मध्ये ज्यादै थोरै परियोजनाका लागि मात्रै लगानीको प्रतिवद्धता प्राप्त भएको छ । तर, अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सफल भएको जनाएका छन् । उनले देशवासीलाई सान्त्वना दिनका लागि मात्रै यसो भनेका हुन् या बास्तवमै विदेशी लगानीको वारावण बनेको हो ? भन्ने कुरा भावि दिनमा थाहा हुन्छ । किनकी तत्काल धेरै प्रतिवद्धता आउनुलाई मात्रै सफलता भन्न मिल्दैन । विगतका लागानी सम्मेलनमा पनि तत्कालीन प्रतिवद्धता धेरै आएका थिए, तर लगानी भने खासै भित्रिएको थिए । मुखले बोले अनुसारको लगानी विगतमा आउन सकेको थिएन । २०७३ सालको पहिलो लगानी सम्मेलनमा प्रतिवद्धता अनुसारको वास्तविक लगानी ठिकै थियो, तर २०७५ सालमा सम्पन्न दोस्रो लगानी सम्मेलनका क्रममा भने प्रतिवद्धता गरिए भन्दा ज्यादै कम लगानी भित्रियो । त्यसैले प्रतिवद्धता मात्रै ठूलो कुरा होइन लगानीको वातावरण बन्नु ठूलो कुरा हो । किनकी वातावरण बन्ने हो भने जुनसुकै बेला पनि लगानीकर्ताहरू आउन सक्छन्, सम्मेलन पर्खनै पर्दैन ।

उत्पादनका मुख्य साधन भनेका भूमि, श्रम, पुँजी र संगठन हुन् । पुँजीबाहेक उत्पादनका अन्य साधनहरू हाम्रो देशमा प्रचुर छन् । अन्य देशको तुलनामा श्रम निकै सस्तो छ । तै पनि लगानीकर्ताहरू ब्यापक रूपमा आकिर्षत हुन सकिरहेका छैनन् । जे जति लगानीकर्ता आएका छन्, उनीहरूले प्रसस्तै मुनाफा कमाएका छन् । विगतको माओवादी द्वन्द्वकालमा लगानीको वातावरण नभएको कुरा सत्य हो, तर अहिले त्यस्तो अवस्था छैन । सबै प्रमुख राजनीतिकदलहरू विदेशी लगानीलाई प्रोत्साहन गर्ने मामिलामा एकढिक्का छन् । विगतको जस्तो सैद्धान्तिक र वैचारिक समस्या छैन । जलविद्युत्, सिमेन्ट, सञ्चार लगायतका क्षेत्रमा लगानी गरेका विदेशी व्यवसायीहरूले ठूलो मुनाफा कमाइरहेका छन् । यति हुँदाहुँदै पनि व्यापक रूपमा विदेशी लगानी आउनु नसक्नुमा हाम्रो देशको कर्मचारी संयन्त्र त दोषी छ नै, विदेशी बस्तु आयातको व्यवसायमा संलग्न केही नेपाली व्यवसायीहरू पनि दोषी छन् । नेपालमा लगानीको वातावरण छैन भनेर उनीहरूले दुुष्प्रचार गरिरहेका छन् । सरकारले यस्तो दुष्प्रचारलाई चिर्न सक्नुपर्छ ।

सकेसम्म स्वदेशी पुँजी प्रयोग गर्न सकियो भने मुनाफा पनि देशमै रहन्छ । तर, स्वदेशी पुँजी प्रर्याप्त छैन । पुँजीको अभावमा देशको श्रमशक्ति पलायन भइरहेको छ । प्राकृतिक स्रोत र साधन खेर गइरहेको छ । त्यसैले विदेशी लगानी नेपालका लागि अनिवार्य छ । यस विषयमा जनतालाई पनि सचेत गराउनु जरुरी छ । उदाहणका लागि आजभन्दा १२ वर्षअघि प्रतिबोरा सिमेन्टको मूल्य ९०० रुपैयाँ थियो । ७० प्रतिशत सिमेन्ट विदेशबाट आयात हुन्थ्यो । जब सिमेन्ट उद्योगमा विदेशी लगानी आयो तब वार्षिक अर्बौं रुपैयाँको सिमेन्ट निर्यात भएको मात्रै छैन सिमेन्टको मूल्य घटेर प्रतिबोरा ५०० रुपैयाँमा झरेको छ । तर, लगानीकर्ताहरूले विदेशी मुद्रामा लगेको ठूलो नाफालाई भने नजरअन्दाज गर्न मिल्दैन । उदाहरणका लागि खिम्ति, भोटेकोसी जलविद्युत् आयोजनामा विदेशी कम्पनीहरूले १३ अर्ब रुपैयाँ लगानी गरे, २० वर्षको अवधिमा ६८ अर्ब रुपैयाँ मुनाफा लगे । तर, अहिले यी दुवै आयोजनाको ५० प्रतिशत सेयर नेपालको भइसकेको छ, अब पाँच वर्षपछि पुरै सेयर नेपालको हुनेछ । त्यसैले निराश हुनुपर्ने अवस्था छैन । ‘मह काढ्नेले हात चाट्छ’ भन्ने उखानै छ । हात चाटेकोमा आरिस गर्नुभन्दा मह काढिएकोमा धन्यवाद दिनुपर्छ । नेपालको जलविद्युत् क्षेत्र भनेको मह काढेजस्तै हो । किनकी जलविद्युत् क्षेत्र भनेको अन्य क्षेत्रजस्तो भविष्यका लागि साँचेर राख्न सकिन्न । उपयोग नगर्दासम्म श्रमशक्ति जस्तै खेर जाने क्षेत्र हो जलविद्युत् पनि । प्रयोग नगर्दा खेर जाने उत्पादनका क्षेत्रहरू नेपालमा धेरै छन् ।

प्रतिक्रिया