डढ्दो र खोस्रिँदो चुरे संरक्षणमा बनौँ गम्भीर

चुरेको दोहन त्यस कुखुराजस्तो भइरहेको जसले दिनहुँ सुनको अन्डा दिन्थ्यो । एकदिन कुखुरा मालिकलाई लागेछ कि कुखुरीलाई मारेर त्यसको पेट चिरेर सबै सुनको अन्डा एकैपटक निकाल्न सकिन्छ । अहिले चुरे दोहनको प्रवृत्ति करिबकरिब यस्तै रहेको छ । चुरे क्षेत्रबाट काठ, दाउराका साथै नदीजन्य पदार्थको निर्बाध दोहन त भएको छ नै, चुरे तथा चारकोसे झाडी क्षेत्रमा अनियन्त्रित बसोबासले पनि धेरै समस्या ल्याएको छ ।

सञ्जय साह मित्र

पूर्व–पश्चिम फैलिएको चुरे पर्वतमाला नेपालको भित्री मधेस र तराई–मधेसको सीमा क्षेत्र हो । मुख्यतः सदाबहार वनस्पतिले भरिइरहने चुरे पर्वतमालालाई कोमल पहाड पनि भनिन्छ । नेपालको जैविक विविधतामा अत्यन्त महत्त्वपूर्ण योगदान दिएको चुरे पर्वतमाला तराई र पहाडको साझा सांस्कृतिक आस्थाको प्रतीक पनि हो ।

चुरे पर्वत श्रेणीलाई विभिन्न ठाउँमा चुरियामाई मानेर पूजा गरिन्छ । धरतीलाई आमाको संज्ञा दिने आस्था र संस्कृतिसित सम्बन्ध राख्ने संस्कृति चुरेभन्दा उत्तर र दक्षिण दुवैतिर प्रचलनमा छ । सांस्कृतिक एकताको प्रतीक रहे पनि चुरेभन्दा उत्तर र दक्षिणको प्राकृतिक अवस्था भने निकै फरक छ । प्राकृतिक अवस्थाले हावापानी, रहनसहन, संस्कृति, भाषा तथा जीवनका अन्य क्षेत्रमा पनि बलियो प्रभाव परेको छ जसले गर्दा विविध पृथकता सम्भव भएको हो । बालीनाली, वनस्पति तथा उर्वरतामा पनि दुवैतिर पृथकता देखिन्छ । चुरेलाई गर्मी र शीतलताको साँध पनि मानिन्छ । दक्षिणकाले चुरे उत्तर शीतल हुने र उत्तरकाले पनि चुरे दक्षिण गर्मी हुने मान्नु स्वाभाविक र सामान्य हो ।

अहिले चुरेको अवस्था फेरिँदै गएको छ । ठाउँठाउँबाट उत्तर र दक्षिण जोडिनका लागि अनेक बाटाहरू निर्माण गरिएका छन् । कतिपय बाटाहरू फराकिला बनाइएका छन् भने कतिपय बाटाहरू गोरेटा नै छन् । चुरेलाई छिचोल्ने अनेक बाटाहरू निर्माण हुँदा वा स्वाभाविक रूपमा आवतजावत गर्ने अवस्था सिर्जना हुँदा चुरेको संरक्षणमा संकट उत्पन्न हुन थालेको छ । मानिसहरू चुरेको आसपासमा आफ्नो गतिविधि बढाउन थालेका छन् । मानवीय गतिविधिले चुरेको वातावरणीय परिस्थितिमाथि प्रहार गर्न थालेको देखिन्छ । चुरेको फेदसम्म अनियन्त्रित बसोबास हुनपुग्दा चुरेको जैविकविविधतामा पनि असर पुगेको छ । जहाँ मानिसको बसोबास हुन्छ त्यहाँ उसले आफ्नो लागि फराकिलो ठाउँ बनाउन खोज्दछ । खाद्यान्न, तरकारी उत्पादन गर्न खोज्दछ जसका लागि केही ठाउँ चाहिन्छ । वन छेउमा बस्नेले केही पशुपालन तथा पक्षीपालन आदि पनि गर्न सुरु गर्दछन् । यसै गरी विभिन्न साग, तरकारी तथा फलफूलको खोजी वनबाटै गर्न सुरु गर्दछन् । यिनै कारणले पर्वत तथा वनको परम्परागत वातावरणीय परिस्थितिमा बदलाव आउन सुरु हुन्छ ।

केही महिनादेखि वर्षा नहुँदा सबैतिर सुक्खा वातावरणले प्रभावित पारिइसकेको छ । यसले चुरेको जीवनमा पनि निकै ठूलो प्रभाव परेको स्पष्ट देखिन्छ । सुक्खा वा खडेरीको अवधि निरन्तर लम्बिइँदै गइरहेको छ । यसले गर्दा वन तथा चुरे क्षेत्रमा डढेलोले निकै धेरै प्रभाव पारेको छ । चुरेको फेददेखि टुप्पोसम्म धेरै ठाउँमा यस वर्ष सुक्खा मौसममा डढेलोले धेरै असर पारेको छ । डढेलोले पु¥याएको क्षतिलाई सामान्य रूपमा मूल्यांकन गरेर साध्य छैन । वनस्पति खरानी भएको छ । यसले बहुमूल्य जडीबुटीलाई विनाश गरेको छ नै जरा नै सुकाउने तथा सुक्खा बढाउने हुनाले सदाको लागि हराउने खतरालाई पनि निम्त्याएको छ । डढेलोले सुन्दरता हराएको छ । कमलो माटो वा नरम पत्थरमा पनि असर परेको छ । यसले गर्दा पहिरो जाने सम्भावनालाई बढाएको छ । वन्यजन्तु तथा चराचुरुंगीको जीवनमा गम्भीर संकट उत्पन्न गरेको छ । साथै पानीको मुहान सुक्ने समस्या र जमिनमा तातोपना बढ्ने समस्या पनि उत्पन्न भएको छ ।

यसको परिणामस्वरूप चुरे क्षेत्रमा पनि गर्मी निकै बढेको छ । पहिलेको भन्दा, स्थानीयवासीले, गर्मी निकै बढेको महसुस गरेका छन् । मरुभूमीकरणको खतरा बढ्दै चुरे क्षेत्रमा जल संकट बढ्दै गएको छ । डढेलोले जैविक विविधताको क्षेत्रमा गम्भीर नकारात्मक परिणाम त उत्पन्न गरेको छ नै । यसले वातावरणको क्षेत्रमा पनि समस्या उत्पन्न गरेको छ । चुरेको आसपासको क्षेत्रमा जताततै डढेलोले वातावरण प्रदूषित बनाएको छ । डढेलोको कैयौँ किलोमिटरसम्म मानिसका आँखा पोल्ने समस्या त सामान्य नै भइसकेको छ । यसबाट श्वासप्रश्वास समस्या ल्याउने चिन्ता पनि रहेको छ ।

केहीवर्ष पहिले अस्टे«ेलियाको वनमा भएको भीषण आगलागीले त्यहाँका मानिसमा ल्याएको श्वासप्रश्वाससम्बन्धी समस्या नेपालमा त्यहीँअनुरूप नहोला तर अध्ययनको विषय भने अवश्य बनाउँछ । नेपालको कार्बन उत्सर्जन सम्बन्धीनीतिले पनि सम्भव भएसम्म डढेलालाई नियन्त्रण गर्नुपर्ने भनेको छ । डढेलोले चुरे क्षेत्र डढिइरहँदा चुरे क्षेत्रका साथै चारकोसे झाडीका बासिन्दालाई पनि प्रभाव नपारेको होइन ।

चुरेको तल्लो भागमा रहेकाखोला, खोल्सी, खहरे आदिबाट नदीजन्य पदार्थको दोहन व्यापक भइरहेको छ । चुरे भएर बहने नदीले बगाएर लैजाने ढुंगा, गिटी, बालुवा, ग्राबेल, गेग्रान आदिलाई सोझै खन्दै वा खोस्रँदै गर्दा यसले निकै गम्भीर प्रभाव पार्ने सम्भावनालाई बढाएको छ । चुरेको फेदबाट बगेर आउने नदीजन्य पदार्थले चुरेलाई अडिन अडेसको काम गरेको हुन्छ तर तिनीहरूलाई खोस्रँदै बाहिर निकाल्दै जाने हो भने त्यहीँ चुरेबाट फेरि त्यस रिक्त स्थानमा नदीजन्य पदार्थ आइरहन्छ । यसरी आइरहने नदीजन्य पदार्थले गर्दा चुरे कमजोर हुने, चुरेको क्षमता कमजोर हुँदै जाने तथा चुरेले जोगाइरहेको जलाधार सुक्ने, जमिनमुनिको पानीको लेयर तल सर्दै जाने तथा चुरेदेखि तलको क्षेत्रमामरुभूमीकरण हुने समस्या देखिन्छ र देखिएको छ पनि ।

चुरेको दोहन त्यस कुखुराजस्तो भइरहेको जसले दिनहुँ सुनको अन्डा दिन्थ्यो । एकदिन कुखुरा मालिकलाई लागेछ कि कुखुरीलाई मारेर त्यसको पेट चिरेर सबै सुनको अन्डा एकैपटक निकाल्न सकिन्छ । अहिले चुरे दोहनको प्रवृत्तिकरिब करिब यस्तै रहेको छ । चुरे क्षेत्रबाट काठ, दाउराका साथै नदीजन्य पदार्थको निर्बाध दोहन त भएको छ नै, चुरे तथा चारकोसे झाडी क्षेत्रमा अनियन्त्रित बसोबासले पनि धेरै समस्या ल्याएको छ । चुरेलाई संरक्षण गरेर दीर्घकालीन फाइदा लिन सकिने अवस्था माथि प्रहार भइरहेको छ र अल्पकालीन वा तत्कालीन फाइदा लिने प्रवृत्ति बढेको छ । अबैध रूपमा नदीजन्य पदार्थ खोस्रने र चोरी निकासी गर्ने गम्भीर घातक प्रवृत्तिले चुरेको भविष्यमाथि निरन्तर संकट निम्त्याइरहेको छ । चुरेको डढेलो र चुरेको अप्राकृतिक दोहनमाथि दीर्घकालीन नियन्त्रण अत्यावश्यक देखिएको छ ।

हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति हुन्छ । हुन त गाउँपालिका वा नगरपालिकामा पनि अध्यक्ष वा प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थान समिति रहने व्यवस्था छ । तर चुरे र चारकोसे झाडीको सन्दर्भमा कम्तीमा जिल्लास्तरको विपद् व्यवस्थान समितिले बढी प्रभावकारी काम सम्पादन गर्न सक्छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने गराउने काम, कर्तव्य र अधिकार क्षेत्र रहेको छ । सम्भव भएसम्म यसै समितिलाई नै चुरे तथा चारकोसे झाडीको प्रभावकारी संरक्षणको जिम्मेवारी दिन सकिन्छ ।

केहीवर्षदेखि लागू रहेको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमलाई नै प्रभावकारी कार्यान्वयन गर्नु उचित हुन्छ । यस कार्यक्रमको गुरुयोजनाले नै मुख्य रूपले ३ उद्देश्य निर्धारण गरेका छन् :

१. भौगर्भिक, भौगोलिक अवस्था र परिस्थितिकीय प्रणालीअनुकूल चुरे पहाड (खोचसहित) र भाव क्षेत्रकाप्राकृतिक स्रोतहरू (भूमि, पानी, वनस्पति र जैविकविविधता)को दिगो व्यवस्थापन सुनिश्चित गरी त्यहाँ बसोबास गर्ने व्यक्ति वा समुदायको जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने ।

२. चुरे पहाड, दुन र तराई मधेसमा जल–उत्पन्न प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणको साथै वातावरणीय सेवा प्रवाहको निरन्तरता दिने ।

३. ग्रार्हस्थ ऊर्जा उपयोगमा सुलभताका साथै राष्ट्रिय वनबाट टाढा रहेका बासिन्दा (खासगरी तराई मधेस)लाई काठ, दाउरा र अन्य इन्धन स्रोतको उपयोगमा पहुँच वृद्धि गर्ने । कार्यक्रमले गम्भीरतापूर्वक यी उद्देश्यहरूलाई कार्यान्वयन गर्ने हो भने डढ्दै गरेको चुरे तथा खोस्रिँदै गरेको चुरेलाई धेरै हदसम्म जोगाउन सकिन्छ ।

पश्चिम महाकालीदेखि पूर्व कोसीनदीसम्म ३६/३७ जिल्लाको करिब ८ सय वर्गकिलोमिटर क्षेत्रफलमा विस्तार भएको चुरे क्षेत्रले नेपालको करिब १२ दशमलव ७८ प्रतिशत भूभागलाई ओगटेको छ । प्राकृतिक रूपले अत्यन्त संवेदनशील चुरे क्षेत्रको संरक्षण हामी सबैको अपरिहार्य दायित्व हो । चुरे क्षेत्रलाई जोगाउन गम्भीरतापूर्वक लाग्नुपर्ने देखिएको छ । अहिले नै चुरे, चारकोशे झाडी तथा तराई मधेसको जनजीवन, पर्यावरण, जमिन र जलस्रोतमा गम्भीर असर देखिन सुरु भइसकेको छ । यदि चुरेको संरक्षण नहुने र अनियन्त्रित दोहन भइरहने हो भने समस्या अझ विकराल बन्दै जाने सम्भावना छ ।

प्रतिक्रिया