एङ्गेल्सले स्रष्टा र लेखकलाई नै स्पष्ट रूपमा उल्लेख गर्दै आफ्ना विचार, धारणा र दर्शनलाई रचनाहरूमा प्रछन्न रूपमा राख्नुपर्छ भन्नुभएकोे छ । बुद्धिजीवी परिषद् र एमाले पार्टी संगठनका कार्यक्रममा कुनै फरक नदेखिएपछि परिषद्को मौलिक भूमिकाको हत्या हुन्छ । माक्र्सवाद र जबज नभनी माक्र्सवाद र जबजका सार र सन्दर्भ उल्लेख गर्ने कला विकास गर्नुपर्छ । यसले आमपाठक, स्रोता तथा दर्शकलाई प्रभाव पर्छ ।
नेकपा एमाले निकट संस्थाका रूपमा २०४७ सालदेखि प्रारम्भ गरिएको नेपाल बुद्धिजीवी परिषद् विधानतः द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा दृढविश्वास राख्छ । यसलाई स्वीकार गर्ने अनेक तह तप्काका विषय, विधा, विज्ञता, पेसा, व्यवसाय, सीप र सिर्जनाका बुद्धिजीवीहरूको संस्थाका रूपमा यो संस्थाको स्थापना गरिएको हो । समय क्रममा यो संस्थाबाट अलग हुनेहरू देखापर्न थाले । कम्युनिस्ट पार्टीपिच्छेका संस्था गठन भए । यो परिषद् प्रगतिशील लोकतान्त्रिक बौद्धिक कर्मका साथ देशव्यापी रूपमा सक्रिय रहेको छ । देश र जनताका हितलाई सर्वोपरि राखी बौद्धिक, प्राज्ञिक, अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक कर्म गर्ने आलोचनात्मक चेतका साथ यो संस्था परिचित छ ।
आफ्नो शरीरको मयल आफैँ सफा गर्नुपर्छ । आलोचनात्मक चेत भनेको पनि आफैँ भित्रका कमजोरी हेर्नु र त्यसलाई सच्याउनु हो । यही दूरदृष्टिका साथ जननेता मदन भण्डारीको अगुवाइमा पार्टीले बुद्धिजीवी परिषद् स्थापना र परिचालित गरेको हो । बुद्धि, विवेक र उच्च बौद्धिक तथा उच्च चेतनाको समाज र संगठन त्यसअनुसार उन्नत रूपमा सोच विचार र अभिव्यक्ति प्रदान गर्दै क्रियाशील हुन्छ र हुनुपर्छ । तुलनात्मक रूपमा सच्चा माक्र्सवादी बुद्धिजीवी देश, जनताका हितमा र त्यसलाई प्राप्त गर्ने एउटै महान् उद्देश्यमा समर्पित पार्टीलाई शीर्ष स्थानमा राख्छ । यो समुदाय किमार्थ नितान्त निजी स्वार्थ सिद्ध गर्न आफ्नो इमान, जमान, विवेक र बुद्धि बन्धक बनाउँदैन ।
परिषद्को दुईदिने राष्ट्रिय भेला २०८१ वैशाख २९–३० गते सम्पन्न भयो । तर, विधानतः पहिचान केन्द्रित विषय सन्दर्भ र प्रस्तुति बुद्धिजीवीबाट खासै भएन । विभिन्न विषय क्षेत्र र विधाका बौद्धिक व्यक्तित्वहरू संगठनमा आबद्ध छन्, तर तिनमा परिषद्ले माग गरे अनुसारको सिद्धान्त, संगठन र सिर्जना जस्ता त्रिआयामिक विशेषताको प्रायः अभाव देखिन्छ । मृतआत्माको चिर शान्तिको कामना गर्ने धार्मिकलगायत अनेक अन्धविश्वासमा विश्वास राख्नेहरू परिषद्मा धेरै पाइन्छन् । नेतालाई गाली गर्ने तर मौका पाए आफैँ हाम गर्ने संस्कारका बुद्धिजीवी धेरै देखिन्छन् । सन्देशमूलक, सार्थक तथा देश र जनताका पक्षमा बोल्नेको पनि अभाव पाइन्छ । सिद्धान्त र व्यवहारका बीच तालमेल नुहुनु जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा खास ख्याल नगर्नु र संगठन गठन पुनर्गठन सम्मेलन र भेलामा मात्र रमाउने प्रवृत्ति पनि व्यापक देखिन्छ । तर मौका पाए बौद्धिक विलाश गर्न अघिअघि सर्ने बानी भने धेरै पाइन्छ ।
आआफ्ना विषयको क्षेत्र, विषय र विधाको प्राध्यापन र शिक्षण गर्दा ती विषयमा निहित प्रगतिशील प्रगतिवादी चेतलाई सिर्जनात्मक रूपमा प्रवाह गर्ने कुरा पनि भएको पाइन्न । शिक्षण र शैक्षणिक अग्रगमनको सोच त्यति भएजस्तो लाग्दैन । ज्ञानका विभिन्न विषय, विधाहरू आत्मिक संस्कृति हुन् र तिनमा वर्गपक्षधरता अन्तर्निहित हुन्छ र ती विषयको समग्रता र सार तत्व विद्यार्थी र शिक्षार्थीलाई प्रवाह गर्नुपर्छ भन्ने सोच धेरै कममा पाइन्छ । सपाट साहित्य, संस्कृति, राजनीति, अर्थनीति भन्ने हुँदैन । त्यसैले संस्कृति र सांस्कृतिक रूपान्तरणजस्तो समाजको गुणात्मक परिवर्तन गर्ने विषय र क्षेत्रबारे धेरैजसो बुद्धिजीवी अज्ञात जस्तै देखिन्छन् । अनि गुरु नै ज्ञानी नभए पछि नेता, कार्यकर्ता मातहत बुद्धिजीवीले सिक्ने कुरै हुँदैन ।
एमाले अध्यक्ष केपी ओलीले आफ्नो गहन गम्भीर बौद्धिक प्राज्ञिक सम्भाषणका क्रममा आलोचनात्मक चेतको अर्थलाई बरालिएको बताउनुभयो । यसैले अब समालोचनात्मक चेत शब्द प्रयोग गर्नुपर्ने देखियो । समय क्रममा परिषद् अहिले एमालेको जनवर्गीय संगठनका रूपमा परिचित भएको छ । विचार सिद्धान्तका हकमा एमालेको जनसंगठन भए पनि यो आफ्नै विधानअनुसार सापेक्ष स्वतन्त्र रूपमा सञ्चालित संस्था हो । जनसमाजमा, आमपाठक स्रोता र जनताका बीचमा बाह्य रूपमा यसले आफ्नो अलि फराकिलो पहिचान राख्नु र देखाउनु पनि पर्छ । एङ्गेल्सले स्रष्टा र लेखकलाई नै स्पष्ट रूपमा उल्लेख गर्दै आफ्ना विचार, धारणा र दर्शनलाई रचनाहरूमा प्रछन्न रूपमा राख्नुपर्छ भन्नुभएकोे छ । बुद्धिजीवी परिषद् र एमाले पार्टी संगठनका कार्यक्रममा कुनै फरक नदेखिएपछि परिषद्को मौलिक भूमिकाको हत्या हुन्छ । माक्र्सवाद र जबज नभनी माक्र्सवाद र जबजका सार र सन्दर्भ उल्लेख गर्ने कला विकास गर्नुपर्छ । यसले आमपाठक, स्रोता तथा दर्शकलाई प्रभाव पर्छ ।
परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाका अध्यक्षतामा महासचिव इ.गजेन्द्र थपलियाले उद्घोषण गरेका थिए । त्यस्तै उपाध्यक्ष दीपेन्द्र भण्डारीले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा परिषद् स्थापना कालका बौद्धिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो, तर उहाँहरूका विषयगत विशिष्ट विज्ञता र कृति प्रकाशनजस्ता विषय सार संक्षेपमा उल्लेख गरिनुपथ्र्यो ।
संस्था र संगठनका आआफ्ना मूलभूत पहिचानलाई बिर्सेर कार्यक्रमको मौलिकता, ओज र उचाइ रहँदैन । सभामा विधानत परिषद्को औचित्य पुष्टि गरिएन । परिषद्मा आबद्ध हरेक बौद्धिक व्यक्तित्वले कक्षा कोठामा वा खुल्ला कक्षामा विद्यार्थीहरूलाई राम्रो प्रभाव पार्न सक्छ र सक्नुपर्छ । पार्टीको सिद्धान्त र पार्टीले जनहितमा गरेका कामहरू भन्ने पनि कला हुनुपर्छ । कुनै पनि विषय विधा र विज्ञता अन्तर्गतका प्रगतिशील विचार र धारणाहरू प्रभाव पर्ने गरी प्रवाह गर्नुपर्छ । यसरी पढाउँदा मात्र शिक्षार्थीहरूमा प्रगतिशील अवधारणा स्थापित हुन्छ । यस्ता महत्त्वपूर्ण विषय सभामा उजागर भएजस्तो लागेन । ओली कमरेडले बरु भातभन्दा सर्वोपरि महत्वको विषय देश र जनताको भविष्यप्रतिको चिन्ता हो भन्नुभयो ।
ओलीले नेपालको सर्वप्राचीन धार्मिक, सांस्कृतिक, साहित्यिक दार्शनिक, ज्ञान विज्ञान, परिभाषा, खगोल भूगोल, आयुर्वेद आधुनिक उपचार, कला साहित्य संगीत नृत्य नाट्य आदिका विषयमा सबिस्तार बौद्धिक प्राज्ञिक अभिभाषण गर्नुभयो ।
उहाँले पूर्वीय शिक्षा, सभ्यता र संस्कृतिको महानता जस्ता कुराहरू वस्तुपरक रूपमा रोचक तरिकाले प्रस्तुत गर्नुभयो । उहाँले कौटिल्य र चाणक्य एउटै व्यक्तिका दुई फरक नाम हुन् भन्दै सुझाउनु पनि भयो । उहाँले ज्ञान र विज्ञानको फरक एउटै वाक्यमा छर्लंग पार्नुभयो । ओलीको सम्भाषणमा एकाधबाहेक अंग्रेजी शब्द उच्चारण भएन र उहाँले स्तरीय नेपाली कथ्यभाषाको प्रयोग गर्नुभयो । तर त्यही सभामा एकाध पदीय हिसाबले उपल्ला तहका बुद्धिजीवीहरूको शब्द प्रयोग त्रुटिपूर्ण देखियो । तिनले बुद्दिजीवी (हुनुपर्ने बुद्धिजीवी) विद्दान् (हुनुपर्ने विद्वान्) परगति (हुनु पर्ने प्रगति) जस्ता अशुद्ध उच्चारण गरे । हामीलाई ओलीकै अभिव्यक्ति र विचार र भाषा प्रयोग सुनेर पनि धेरै जान्न र सिक्न सकिन्छ तर एक कानले सुन्ने अर्को कानले उडाइदिने संस्कारले प्रवाह गरेको ज्ञान असरल्ल पर्छ ।
बुद्धिजीवी परिषद्द्वारा निक्कै लगन र लगानीका साथ गरिएको भव्य आयोजनामा सम्पन्न सभा अत्यन्त ज्ञानवर्धक र उत्साहप्रद हुनुपथ्र्यो । बौद्धिक वर्गलाई नयाँनयाँ खोज, अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गर्ने खालको हुनुपथ्र्यो । नेपालमा निराशा मात्र छैन ।
एमाले ९ महिने र ओली नेतृत्वको अभूतपूर्व लोकप्रिय सरकारका केही महत्त्वपूर्ण सकार प्रभावशाली रूपमा अभिव्यक्त गर्नुपथ्र्यो । बोल्दा बोलेजस्तो होइन भित्रैदेखि मनदेखि बोलेको बोली मात्र धेरै प्रभावकारी हुन्छ । एमालेले सामाजिक सुरक्षा भत्ता र जनराहत सहितका तमाम आर्थिक भौतिक विकास निर्माणका अभूतपूर्व कामहरू विशेष उल्लेखनीय छन् । उपर्युक्त कामहरू नेपाललाई समाजवादोन्मुख बनाउने यात्राको शुभारम्भ हो भनेर कसले भनिदिने होला ? हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनी घोकेर मात्र हुँदैन, यसको मर्मबोध हुनुपर्छ । उपयुक्त विषयहरू लेख, रचना, कविता र अध्ययन तथा अनुसन्धानका विषय आजका दिनसम्म बनेको देखिन्न । नेता नै नभए पछि भुइँमान्छेले बोलेको कसैले सुन्दैन ।
नेता र वरिष्ठ वक्ताले नयाँ क्षितिज उद्घाटन गर्ने खालको बोल्नुपर्छ बोल्नका लागि मात्र के बोल्नु र ! ओलीसित कला, साहित्य, संगीत र संस्कृतिको आवश्यक भरपूर ज्ञान छ र न उहाँबाट सभाको प्रकृतिअनुसार मौलिकताका साथ धराप्रवाह र प्रभावकारी बोली बोल्नुहुन्छ । यसरी बोल्नेमा प्रदीप ज्ञवाली महत्त्वपूर्ण नेतामा पर्नुहुन्छ ।
कार्यक्रममा बुद्धिजीवी इन्चार्ज विद्या भट्टराईले पहिचान परक विचार राखिन् । कार्यक्रममा प्राडा कमलकृष्ण जोशी, स्थायी समिति सदस्य रघु पन्त, स्व.सुवास नेम्बाङ, प्रा.स्व.माधव शर्मालाई सम्मानित गरिएको थियो । यस खालको गरिमामय सभामा प्रायः बुद्धिजीवीले राष्ट्रगान गाउँदाको अनुशासन – आचरण नै थाहा नपाएको देखियो । सभामा प्राज्ञ, उच्च बौद्धिक गुरु गौरव व्यक्तित्वलाई सामान्य रूपमा सम्बोधन गर्नु र प्रमुख अतिथि बाहेकका नेताका भएभर फुलीसहित बेलिबिस्तार लगाएर सम्बोधन गरेको दयनीय दृश्य देखियो । सम्मानित व्यक्तित्व स्थायी समिति सदस्य रघु पन्त कार्ल माक्र्स र एङ्गेल्स र लेनिनको उदाहरण दिँदै बुद्धिजीवीहरूले आफ्नो देशको धर्म संस्कृति कला, साहित्य र इतिहासलगायत समकालीन वैश्विक अध्ययन गर्न परोक्ष रूपमा उल्लेख गर्नुभयो ।
कुरूप राजनीतिको कुप्रभाव बुद्धिजीवीमा चाहिँ नपर्ने कुरै भएन किनकि जेठो नीतिको प्रभाव त धेरैतिर जवर्जस्त परिहाल्छ तर जबजको मर्म बोध गर्नेहरू अतिगरुन्जेल वा अत्याचार नगरुन्जेल पार्टीप्रति प्रतिबद्ध नै हुन्छन् । पार्टीप्रति चिन्ता गर्नेहरू उपेक्षित हुने अवस्थाले परोक्ष रूपमा असन्तुष्टि प्रकट हुन थालेको देखिन्छ । विशेषतः सुनसरीलगायत जिल्लामा अतिले खति गर्छ भन्ने पनि बेलैमा बुझ्नु जाति हुन्छ ।
मूलतः पार्टी जिल्ला अध्यक्षका मनमोजी क्रियाकलापका कारण धरानलगायत नगरका नेता र कार्यकर्तामा निराशा छाएको छ । आपसमा मन माझामाझ गर्दा समाधान गरेर समाधान गर्न सकिने समस्यालाई पूरै बेवास्ता गरिएको छ । यसले गर्दा बुद्धिजीवीलगायत कार्यकर्ता पलायन हुन बाध्य बनेको देखिन्छ । पार्टीलाई त्रि–आयामिक विशेषताका साथ अर्थात् ३ ‘स’ अनुसार सञ्चालन गर्ने ल्यागत र ताकत नहुँदा समस्या बल्झिएको स्पष्ट हुन्छ । हरिया झिँगाहरूका बीच बस्न रुचाउने एकाध नेता र जिल्ला अध्यक्षका कारण पार्टीको लोकप्रियता खस्कँदो देखिन्छ । यसका बाछिटाहरू बुद्धिजीवीमा पनि परेको देखिन्छ । जनता, पार्टी र सिद्धान्तमा प्रतिबद्ध हुनुपर्ने बुद्धिजीवीहरू समालोचनात्मक चेतका साथ कति क्रियाशील हुन्छन् ? त्यसैमा पार्टी देश र जनताको भलो निहित हन्छ । आआफ्ना विषय, क्षेत्र, विधा र विज्ञताका आधारमा चुरो झैँ रहे मात्र त्यसको समाजमा अग्लो बौद्धिक पहिचान बन्छ । शिरदेखि तिरसम्म कार्यकर्ता मात्र भएर बुद्धिजीवीको कुनै उचाइ बन्दैन । यस्तो बुद्धिले पार्टी, देश र जनताको भलाइमा कुनै रचना, राय र रौनक दिन सक्तैन । बुद्धि नै बल हो र यस्तो बल निरन्तर अध्ययन, अनुसन्धान, सिर्जना र प्रकाशनबाट मात्र प्राप्त हुन्छ ।
प्रतिक्रिया