बोक्सी, हिन्दू र डलरको खेती (भाग–२ )

बोक्सी प्रथा विश्वव्यापी फैलिएको रुढीवादी चलन थियो र सबैभन्दा बढी युरोपमा थियो र युरोपमा बोक्सीको सिकारको नाममा खोजीखोजी जम्मा गरेर महिलालाई आगोमा हालेर जलाउने परम्परा नै थियो । जसको सिकार लाखौँ महिला हुन परेको कालो इतिहास जिउँदै छ । युरोपमा लाखौँ प्रकृतिपूजक पेगन (८० प्रतिशत जति महिला) लाई धर्म परिवर्तन गर्न नमानेकै कारणले क्रूरतापूर्वक नरसंहार गरेको थियो । सन् १६९२ मा अमेरिकाको म्यासाचुसेट्समा बोक्सीको आरोपमा २० जना मारिएका थिए ।

मोहन लामा रुम्बा

दोस्रो विश्वयुद्धपछि साम्यवाद र पुँजीवादको नाममा झन्डै आधा शताब्दीसम्म शीतयुद्ध चल्यो । यो शीतयुद्धमा जब साम्यवादी सत्ता विघटन भएर पुँजीवाद (अमेरिका युरोप)को विजय हुनपुग्यो । त्यसपछि विजेता अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुसले नयाँ विश्व व्यवस्थाको उदय भएको घोषणा गरे ।

शीतयुद्ध समाप्ति पछिको एक धुर्वीय विश्वव्यवस्थासँगै अबको विश्वको रूपरेखा कस्तो हुन्छ भनेर प्रसिद्ध विद्वान् प्राध्यापक स्यामूयल हन्टिङटन जो विश्वविद्यालय हार्वर्डका अन्तर्राष्ट्रिय मामलाका प्राध्यापक पनि हुनुहुन्छ उहाँले सन् १९९३ को ‘फरेन अफेयर्स’ पत्रिकामा एउटा लेख छपाएर भन्नुभएको थियो, ‘अब विश्व वैचारिक द्वन्द्वबाट सभ्यताको द्वन्द्वमा प्रवेश गर्नेछ भनेर दाबी गरेको छ ।’ तत्कालीन समयमा उहाँले गरेको यो दावीलाई धेरैले खण्डन गरे तापनि यो एक धुर्वीय व्यवस्थाको उदयसँगै भ्याटेकिन सिटीको सक्रियता एक्कासि दक्षिण एसियाली देशमा ह्वात्तै बढ्न पुगेको थियो ।
लगत्तै जस्तो सन् १९९५ मा भ्याटेकिन सिटीको पोप जोनपलले श्रीलंकाको राजकीय भ्रमण गरे । उक्त भ्रमणको अन्त्यमा पोपले घोषणा गरेका थिए, ‘दक्षिण एसिया (भारतीय महाद्वीप बाट) आउने २० वर्षमा १० करोड मान्छेलाई प्रभु येशुको चरणमा घुँडा टेकाउनेछु ।’ हालै केही समयअगाडि युक्रेन युद्ध चलिरहेको बेला मस्कोको रेड स्क्वायरमा रसियाका राष्ट्रपति ब्लादिमिर पुटिनले राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नो एक भाषणमा –‘पश्चिमीहरू हाम्रो रसियन सभ्यता (अर्थाेडक्स सभ्यता) मास्न खोजिरहेको छ त्यो हामी कदापि हुन दिनेछैनौँ’, भनेर बोलेका थिए ।

आजको लडाइँ घुमाइफिराइ सभ्यताको लडाइँ हो, बाहिरी आवरणमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, महिला अधिकारजस्ता जेजस्तो हेडलाइनमा सतहमा देखिएता पनि अन्तर्यमा चाहिँ घुमाइफिराइ सभ्यताको नै लडाइँ हो । यो सभ्यताको लडाइँ भनेको सिधा रेखामा लडाइँ हुँदैन । एकप्रकारको छद्म लडाइँ हुन्छ । आफ्नो सभ्यताको कुरुप इतिहासलाई लुकाउने, अरूको सभ्यताको कुरुपतालाई घरीघरी नांगो पारिरहने गरिन्छ जसलाई हत्तपत्त सर्वसाधारणले बुझ्न सक्दैन । मध्ययुगीन रुढीबादी बोक्सी प्रथालाई जोडेर महिलालाई लक्षित गर्दै बनाइरहेकोे चलचित्रहरूले नयाँ पुस्तालाई तिमीहरूको इतिहास तिमीहरूको पू्र्खाको अवस्था यस्तो थियो भनेर उनीहरूको मस्तिष्कमा आफ्नो इतिहासप्रति घृणा र वितृष्णा भर्नु हो ।
जबकि बोक्सी प्रथा विश्वव्यापी फैलिएको रुढीबादी चलन थियो र सबैभन्दा बढी युरोपमा थियो र युरोपमा बोक्सीको सिकारको नाममा खोजीखोजी जम्मा गरेर महिलालाई आगोमा हालेर जलाउने परम्परा नै थियो । जसको सिकार लाखौँ महिला हुन परेको कालो इतिहास जिउँदै छ । युरोपमा लाखौँ प्रकृतिपूजक पेगन (८० प्रतिशत जति महिला) लाई धर्म परिवर्तन गर्न नमानेकै कारणले क्रूरतापूर्वक नरसंहार गरेको थियो । सन् १६९२ मा अमेरिकाको म्यासाचुसेट्समा बोक्सीको आरोपमा २० जना मारिएको थियो । तिनमा १४ जना महिला थिए भने १ जनालाई फाँसी दिइएको थियो । बन्दी अवस्थामा २ जना बच्चाको मृत्यु भएको थियो ।

यहीँ तिब्बतमा पाहुनालाई अतिथि सत्कार गर्ने बेला अझैसम्म जिब्रो निकालेर देखाउने चलन थियो, यसको अर्थ कालो जिब्रो (प्रेतात्मा) नभएको भनेर आश्वस्त पार्ने रूपमा लिइन्थ्यो । बोक्सी प्रथालाई जंगबहादुर राणाले उहिल्यै सन् १८५३ मा नै मुलुकी ऐन ल्याएर यसरी कानुन बनाएक थिए, ‘पानी नचलन्या जातले हवोस, छिटो हालनु पन्र्या जातले होस, कसैले इलाज गर्दा पानी प¥याको औषधि उल्टा गरी फुकी आफूले नछोइ थुकना पन्र्या गरी टाढाबाट मत्रि दियाकामा फुकन्यालाई पनि षान्यालाइ पनि षत लाग्दैन, प्रायश्चित्त गर्नु पनि पर्दैन । बेहक्मा अर्कालाई विरूप गराई कपडा रंगाइ बेइज्जत गरी गाउँ सहर घुमाउन्यालाई लोग्न्या मानिसलाई घुमायाको भया २५ स्वास्नी मानिसलाई घुमायाको भया ५० रुपैयाँ दंड गर्नु, रुपैयाँ नति¥या श्रम बमोजिम कैद गर्नु ।’

यसरी जंगबहादुर राणाले आजभन्दा १७१ वर्ष अगाडि रुढीवादी बोक्सी प्रथा विरुद्धमा सख्त कानुन ल्याइसकेको बेला आजको आफूलाई विकसित र सभ्य ठान्ने युरोपेली अमेरिकीहरू त्यतिबेला यही अंग्रेजहरूले यहीँ दार्जिलिङमा अंग्रेजको घरमा कुकुर र भारतीयलाई प्रवेश निषेध भनेर साइनबोर्ड झुन्डाएर बसिरहेको हुन्थ्यो । जंगबहादुरले यस्तो कानुन ल्याएको बेला अंग्रेजहरूले भारतमा ‘क्रिमिनल ट्राइबल्स एक्ट अफ इन्डिया १८७१’ पारित गरेर खास जातिका मानिस चाहिँ जन्मजात अपराधी हुने कानुन बनाउँदै गरेको थियो ।

जंगबहादुरले मुलुकी ऐनमार्फत बोक्सी प्रथा हटाइसक्दा पनि अमेरिकाले ‘द एसियाटिक बार्ड जोन एक्ट १९१७’ पारित गरी जापानी र फिलिपिनो बाहेकका एसियाली नागरिकलाई मूर्ख, पेशेवर भिखारी, भाडाका मजदुर एवं पागलपन भएका व्यक्ति ठह¥याएर कानुन पारित गर्दै थियो । हो हामी आज विविध कारणले भौतिक आर्थिक विकासमा युरोप अमेरिकाभन्दा पछि प¥यौँ तर यसको अर्थ यो होइन कि इतिहासमा पनि युरोपेलीभन्दा हामी पछि थियौँ । त्यस्तो होइन, इतिहास खोतलेर हेर्ने हो भने युरोपेली अमेरिकी क्यानडाका गोरा हातहरू रक्तरन्जित हातहरू हुन् ।

लाखौँ महिलाहरूलाई बोक्सीको आरोपमा मार्ने लाखौँ रेड इन्डियन लाखौँ माउरी आदिवासी जातिलाई मार्ने कालो इतिहास छ । यसको फिल्म कसले बनाउने ? यसको नाटक मञ्चन कसले गर्ने ? यसको इतिहास कोट्याएर कसले उपन्यास लेख्ने ? अतः आज नारी प्रधान चलचित्र बनाएर तिनका मनोभावनामाथि इमोसनल ब्ल्याकमेलिङ गर्दै सबै रुढीवादी हिन्दूमा मात्रै बोक्सी प्रथा पनि हिन्दूमा मात्रै महिला उत्पीडन भएको पनि हिन्दूमा मात्रै भन्ने जुन भाष्य तयार गर्दै छ, जुन प्रकारले हिन्दू र ब्राह्मण जात जोडेर उछितो काड्दै छ, यो भनेको अघोषित रूपमा लामो समयदेखि चलिरहेको दुई सभ्यताको लडाइँ हो । लडाइँमा खेलिने यस्ता रणनीतिक चाललाई बुझौँ र त्यसको सिकार हुनबाट जोगिऔँ ।

कुनै फिल्म निर्माताले अश्लील प्रकारको फिल्म बनाएको रहेछ भने वयस्क उमेरकाहरूले मात्रै फिल्म हेर्न मिल्ने भनेर चलचित्र बोर्डले प्रमाणपत्र दिने गरेको हुन्छ । यदि हिन्दू विरोधि सनातन धर्म विरोधि फिल्म बनाएको रहेछ भने कसले के दिने ? ठिक त्यस्तै अब हामीले पनि जनस्तरबाट सनातन विरोधी बहिष्कार (एसबी) अभियान चलाउने पो हो कि ? एसबी अर्थात ‘सनातन विरोधि’ फिल्मको अर्थमा । तत्कालका लागि हामीसँग योभन्दा बढी गर्न सक्ने केही होलाजस्तो लागेन । अहिले व्यापक रूपमा बाढी नै आएको छ सनातन विरोधि फिल्मको ।

हाम्रो सनातन संस्कार संस्कृतिमाथि गाईजात्राको नाममा रुढीवादी हटाउने नाममा महिला उत्थानका नाममा धेरै अगाडि देखिन सामाजिक व्यंग्यलाई कथा वस्तु बनाएर घुमाउरो रूपमा प्रहार गर्दै छ । हामीले उनीहरूको यो अभियानको निहित मनसुवा नबुझेको वा बुझ्नेहरू मौन बसिरहेको मात्रै हो ।
राई लिम्बु जाति कुनै समय पिछडिएको थियो होला तर फिल्ममा अझैसम्म पनि जाँडरक्सी खाएर विकृतिको डंगुर बोकेर हिँड्ने जातिको रूपमा ‘मनसरा’ बनाएर फिल्म देखाउँदै छ, एउटा अर्को फिल्म पनि थियो लिम्बु संस्कृति छोडेर चर्चमा गएपछि सुखी सभ्य भएको लघु डकुमेन्ट्री फिल्म पनि प्रसारण गरेको थियो । यस्तो थुप्रै जातीय फिल्म टेलिफिल्म नाटक व्यापक रूपमा बन्दै छ ।

बौद्धिक आक्रमण सबैभन्दा बढी खतरापूर्ण हुन्छ, त्यसको माध्यम भनेको फिल्म, टेलिफिल्म, नाटक, उपन्यास यावत् माध्यमबाट गर्ने गरिन्छ । अहिले चौतर्फी सनातन संस्कृतिमाथि अतिक्रमण भइरहेकोले हामीले जनजागरण ल्याउन सनातन विरोधि फिल्म रहेछ भने ‘एसबी’ फिल्म, ‘एसबी’ उपन्यास, ‘एसबी’ नाटक भनेर सामाजिक संजालबाट होहल्ला गरेर हामी हाम्रो समुदायलाई सजगता गराउन त सक्छौँ नि होइन ? आउनुहोस् एकपटक यससम्बन्धी सामुहिक छलफल गरेर एउटा निष्कर्ष निकालौँ न है ।

प्रतिक्रिया