चौथो पर्वतीय महोत्सव सुरु


गोविन्द सुवेदी
पोखरा, २६ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संघ्राहालयमा चौथो पर्वतीय महोत्सव सुरु भएको छ ।

महोत्सवको एक कार्यक्रमका बीच पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै उनले नेपालका प्राकृतिक सम्पदा संरक्षण गर्ने र यसैलाई माध्यम बनाएर संख्यात्मक र गुणात्मक दुबै ढंगले पर्यटन प्रवद्र्धन गरिने बताए ।

उनले निजी र सरकार दुवै पक्षले हातेमालो गरे सन २ हजार २० सम्ममा वार्षिक २० लाख पर्यटक भित्राउन समस्या नरहेको दावी गरे । नेपालको जम्मा हवार्ई सेवाको क्षेमतामा २५ प्रतिशत मात्र अपूर्ति भएको भन्दै उनले पोखरा विमानस्थल लगायत निर्माणाधिन विमानस्थल बन्दा र सञ्चालनमा आउँदा मात्रै उल्लेख्य प्रगति हुने तर्क गरे । त्यसका लागि चाहिने सम्पूर्ण पूर्वाधार बनिसक्दा नेपालले पर्यटनको क्षेत्रमा गुणत्मक फड्को मारिसक्ने उनले बताए ।

नेपाली खानपान, रहनसहन, विविधतामा रहेको संस्कृतिको सहिपहिचान गर्ने र त्यसको उजागर गर्न आवश्यक रहेको उनको भनाई छ । ‘नेपाली खानाको परिकारको प्रतिस्पर्धा र साहसिक खेलकुदको प्रतिस्पर्धा जस्ता आधारभूत कुराले समेत पर्यटन पवद्र्धनमा उल्लेख्य प्रभाव पार्छ,’ उनले भने ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भइसकेको अवस्थामा अव पर्यटन प्रवद्र्धनका धेरैकाम स्थानीय तहले नै गर्ने उनको भनाई छ । प्रदेश सरकारसंग केन्द्रीय सरकारले पर्यटनका क्षेत्रमा सहकार्य गर्ने नीति निर्माण गरिने उनले बताए । पर्यटकीय क्षेत्र रहेका स्थानीय निकायले पर्यटन प्रवद्र्धनका लागि धेरै रकम छुट्याउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासु त्रिपाठी, पोखरा लेखनाथ महानगरपालिका १७का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा पर्यटन परिषद्का महासचिव श्रीकृष्ण भण्डारी, अन्नपूर्ण च्याप्टरका अध्यक्ष कृष्णप्रसाद काफ्ले, नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामा र उपाध्यक्ष दिवशविक्रम शाह लगायतले बोलेका थिए ।

विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवं उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव अयोजना गरिएको हो ।

साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष महोत्सव स्थलमा राखिएका छन् । महोत्सव संयोजक कुशल गुरुङले जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरण र पैदलयात्राको वर्तमान अवस्थाबारे सन्देशमूलक कक्ष पनि राखिएकोे जानकारी दिए ।

एक दशकदेखि बनाएर सञ्चालनमा आएको संग्राहलयमा विश्वका हिमालमा अहिलेसम्म भएका गतिविधि र हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको प्राचीन जीवनशैली झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया