प्रदेश राजधानीमै हात्तीपाइले रोगको औषधि खुवाउन चुनौती

मधेस ब्युरो । मधेस प्रदेशको ४ जिल्लामा सञ्चालन भएको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियानमा प्रदेश राजधानी जनकपुरमा नै ठुलो चुनौती देखिएको छ । मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लाका ३५ प्रतिशत मानिसले हात्तीपाइले विरुद्धको औषधि खान नमानेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

वर्तमान अवस्थामा एड्स र क्यान्सर रोगभन्दा पनि घातक रहेको हात्तीपाइले रोग विरुद्धको औषधि सबैले अनिवार्य रूपमा सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । वैशाख १६ देखि ३० गतेसम्म सञ्चालन हुने औषधि खुवाउने कार्यक्रममा सहभागी भई सहयोग गर्न धनुषाका स्वास्थ्य कार्यालयका प्रमुख अधिकृत उमेशकुमार यादवले जानकारी गराएका छन् ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख यादवले अभियानलाई सफल बनाउनु सबैको दायित्व भएकोले अभियानमा सहभागी हुन आग्रह गरेका छन् । हात्तीपाइले रोगको दृष्टिकोणले धनुषा निकै संवेदनशील भएकोले सबै शिक्षित मानिसहरूले यस अभियानलाई आफ्नो दायित्व मान्नुपर्ने प्रमुख यादवको भनाइ छ ।

धनुषाको सबैभन्दा बढी जनकपुरमा हात्तीपाइले रोगका बिरामी छन् । जनकपुरधाम उपमहानगरपालिकामा २०२ तथा भारतसित सिमाना जोडिएको नगराइन नगरपालिकामा १९५ जना हात्तीपाइले रोगी रहेको प्रमुख यादवको भनाइ रहेको छ । २ वर्षभन्दा माथिको उमेरका गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीबाहेक सबैलाई औषधि सेवन गराउन आफूहरू लागिपरेको र विभिन्न माध्यमले जनचेतना जगाउँदै कार्यान्वयनको प्रयासमा रहेको कार्यालय प्रमुख यादवको दाबी रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिनकुमार साहले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान रौतहटमा सामान्य रूपमा चलिरहेको बताउँछन् । रौतहटमा हात्तीपाइले रोगविरुद्ध औषधि अभियान २ दिनसम्म उत्साहवद्र्धक रूपमा चलेको र १८ वटै पालिकामा राम्रोसित सफल बनाउन आफूहरू योजनाबद्ध किसिमले लागिरहेको साहको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया