आत्महत्या न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बारा । लागुऔषध बाल हिंसा तनाव व्यवस्थापन सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया क्याम्पसमा बिद्यार्थीलाई लागुऔषध, बालहिंसा, तनाव व्यवस्थापन, सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बारामा पछिल्लो समयमा आत्महत्याको घटना घट्दै गएको बताउँदै उक्त घटनालाई प्रहरीले निरुत्साहित गर्नका निम्ति सामाज र विद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताएका छन् ।

विद्यार्थीलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्ता उपायहरू अबलम्बन गर्ने भन्ने बारेमा न्यूनीकरण गर्नका लागि व्यक्तिगत तथा सामूहिक रूपमा र संस्थागत रूपमा अपनाउनुपर्ने सावधानी लगायतको विषयमा प्रस्तुतीकरणमार्फत प्रहरी नायब उपरीक्षक दाहालले प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जितपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले सबैले सकारात्मक विचारका साथ अगाडि बढ्नुपर्ने भन्दै यसले पनि आत्महत्याको घटनामा कमी आउने कुरा बताएका थिए ।

विशेष गरेर उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको पाइएको छ । यसलाई रोकथामका लागि मुख्यतः सामूहिक पहल गरी मान्छेमा भएको एकोहोरो र निराशापन हटाउन सिकायो भने आत्महत्या कमी ल्याउने सकिने प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालेले जानकारी दिए । समाजमा बढ्दै गइरहेको बालविवाहलाई रोक्नका लागि सबैलाई आ–आफ्नो ठाउँबाट अवाज उठाउन उनले आग्रहसमेत गरे ।

आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयंले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक धनञ्जय गौतमले बताए । लागुऔषध, बालहिंसा, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रममा बकुलिया क्याम्पसमा कक्षा ११, १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया