साहित्यकार सिलवालको कवितासंग्रह ‘डोरम्याट’ लोकार्पण

काठमाडौं । साहित्यकार तथा पत्रकार छविरमण सिलवालको कवितासंग्रह ‘डोरम्याट’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो ।

नेपाल स्रष्टा समाजको आयोजना रहेको सो कार्यक्रमको सभाध्यक्ष समाजका अध्यक्ष ओम श्रेष्ठ रोदन रहेका थिए । यसैगरी कार्यक्रमको प्रमुख अतिथिको रुपमा कवि तथा गीतकार दिनेश अधिकारी थिए ।

कार्यक्रममा समालोचक प्रडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार पवन आलोक, भुँडीपुराण प्रकाशनका प्रकाशक केशव पराजुली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको पहिलो खण्ड समाजका सदस्य मधु पाठकले र दोस्रो खण्ड कृतिकार सिलवालले आफैँ सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई समाजका महासचिव देविका तिमल्सिनाले स्वागत गरेकी थिइन् । निक्कै फरक किसिमले सञ्चालन गरिएको सो कार्यक्रममा सहभागी सबैलाई खादा, भोलामा पुस्तक र बिस्कुटले स्वागत गरिएको थियो । अतिथि र सहभागीहरुले एकै पटक उठेर कृतिको लोकार्पण गरेका हुन् ।

लोकार्पित कृति ‘डोरम्याट’ को बारेमा कसैले पनि बोलेनन् । बरु कृतिमा रहेका केही कविता भने टंक उप्रेती, प्रोल्लास सिन्धुलिय, ठाकुर बेल्बासे, मणि लोहनी, आरएम डंगोल, अनन्तप्रसाद वाग्ले लगायतले वाचन गरेर सुनाएका थिए ।

अतिथिहरु कवि दिनेश अधिकारी, प्राडा लक्ष्मणप्रसाद गौतम, प्रकाशक केशव पराजुली लगायतले कृतिकार सिलवाललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको यो कृतिको मूल्य २५० रहेको छ ।

प्रतिक्रिया