रौतहट क्रिकेट संघद्वारा पालिका कपको खर्च विवरण सार्वजनिक, १३ लाखभन्दा बढी घाटा

रौतहट । गत चैत २४ गते सम्पन्न भएको पालिका कप क्रिकेट २०८० को खर्च विवरण सार्वजनिक गरिएको छ । रौतहट जिल्ला क्रिकेट संघले सदरमुकाम गौरमा पत्रकार सम्मेलन गरेर जिल्लामा पहिलो पटक आयोजना गरिएको पालिका कप क्रिकेट २०८० को आयव्याय सम्पूर्ण खर्च विवरण मंगलबार सार्वजनिक गरेको हो ।

१८ स्थानीय तहको टीम सहभागी रहेको पालिका कपमा ६७ लाख ९२ हजार २१५ रुपैयाँ खर्च भएको क्रिकेट संघ रौतहटका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले जानकारी दिए । क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको पालिका कपमा आर्थिकरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका स्थानीयले समयमा सम्झौता अनुसारको रकम उपलब्ध गराउन नसक्दा आर्थिक समस्या उत्पन्न समेत भएको परियोजना प्रमुख समेत रहेका नेपालले बताए ।

उक्त पालिका कप क्रिकेटका लागि राजदेवी नगरपालिकाले २ लाख ५० हजार, इशनाथ नगरपालिकाले ३ लाख, माधवनारायण नगरपालिकाले एक लाख ५० हजार, परोहा नगरपालिकाले ९४ हजार, यमुनामाई गाउँपालिका ९८ हजार ५०० र मौलापुर नगरपालिकाका टिमले एक लाख ७५ हजार गरी १० लाख ६७ हजार ५०० रुपैयाँ सहयोग आएको परियोजना प्रमुुख नेपालले जानकारी दिए ।

दायित्व बाँकी रहेको स्थानीय तहमा गौर नगरपालिका ३ लाख, दुर्गा भगवती गाउँपालिका ३ लाख, माधवनारायण नगर पालिका एक लाख ५० हजार, परोहा नगरपालिका २ लाख ६, राजदेवी नगरपालिका ५० हजार, गढीमाई नगरपालिका ३ लाख, बृन्दावन नगरपालिका ३ लाख, चन्द्रपुर नगरपालिका ३ लाख, गुजरा नगरपालिका ३ लाख, फतुवाविजयपुर नगरपालिका ३ लाख, कटहरिया नगरपालिका ३ लाख, देवाही गोनाही नगरपालिका ३ लाख, गरुडा नगरपालिका ३ लाख, बौद्धिमाई नगरपालिका ३ लाख, राजपुर नगरपालिका ३ लाख र परियोजनाबाट एक लाख ५० हजार गरी ४३ लाख ५७ हजार ५०० रुपैयाँ बाँकी रहेको कोषाध्यक्ष नेपालले जानकारी दिए । क्रिकेट प्रतियोगिता सञ्चालनमा १३ लाख ६० हजार २१५ रुपैयाँ घाटा भएको क्रिकेट संघ रौतहटले जनाएको छ ।

सार्वजनिक गरिएको खर्चमा खेलकुद सामग्री शील्ड, मेडल, बल र विकेटमा २ लाख ३१ हजार ५६० रुपैयाँ, किराना तथा मासु रासनमा ३ लाख १३ हजार १७५ रुपैयाँ, स्टेशनरीमा ९१ हजार ४४० रुपैयाँ, ब्यानर, फलाम फ्रेम, मायाको चिनो, प्रसंशा पत्र, स्टीकर, सम्मानपत्रमा ४ लाख ३० हजार ८ सय, अफिसियल खाना, खाजा, बासमा २ लाख २ हजार २ सय, लाइट, टेन्ट, मञ्च, जेनेरेटरमा ८ लाख ७० हजार, खेलाडी तथा अफिसियल पोशाकमा ७ लाख ३५ हजार ६५ रुपैयाँ, टिभी प्रत्यक्ष प्रसारणमा ७ लाख ६ हजार २५० रुपैयाँ, अफिसियल गराउण्ड स्टाफ क्यु्रेटर, एंकर पारिश्रमिक, मरमतमा २६ लाख ४९ हजार ७२५ रुपैयाँ र पुरस्कारमा ५ लाख ६२ हजार रुपैयाँ खर्च भएको संघले दाबी गरेको छ ।

प्रतिक्रिया