काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने लक्ष्यका साथ नेपालले शुक्रबारदेखि विश्वकै उच्च शिखर सगरमाथाको नामबाट ‘सगरमाथा संवाद’ सुरु गरेको छ । सोही फोरममार्फत् विश्व समुदायलाई नेपालले जलवायुजन्य संकटका उदाहरणहरू प्रस्तुत गरिरहेको छ ।
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेका असरका विषयमा सबैको साझा धारणा बनाउन पनि सगरमाथा संवाद एउटा महत्वपूर्ण फोरम बन्ने अपेक्षा गरिएको छ । शुक्रबार सुरु भएको संवाद जलवायु परिवर्तनको असरबारे अन्य मुलुकलाई सुनाउने मात्र भन्दा पनि सम्भावित समस्या समाधानका लागि विश्व समुदायलाई एकजुट गराउने प्रयत्न पनि हो । सगरमाथा संवादमा सहभागी प्रतिनिधिहरूले शुक्रबार र शनिबार राखेका धारणा पनि जलवायुका असरसँग जुध्न सक्ने र जलवायु परिवर्तनका सम्भावित जोखिम न्यूनीकरणमा क्षमता बढाउनुपर्नेमै केद्रित थिए ।
सगरमाथा संवादको दोस्रो दिन शनिबार विभिन्न देशका प्रतिनिधि र विज्ञहरूले जलवायु तथा विश्व समुदायमा केन्द्रित वर्तमान अवस्थाबारे जानकारी गराउनुका साथै समस्या समाधानका उपायबारे पनि धारणा राखे । संवादका क्रममा जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरता, वायु प्रदूषण र सहरीकरण, हिमाली क्षेत्रमा जलवायुको असर, हिमाल संरक्षणको आवश्यकता, स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धि गनुपर्ने जस्ता विषय उठान भए ।
‘हिमालको संरक्षण विश्व समुदायको दायित्व हो’
त्यस्तै, ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व भएको उल्लेख गरे । उनीहरूले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिँदै हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा जोड दिए । हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसंख्यालाई लाभ पु¥याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।
स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड
संवादको ‘भविष्यको ऊर्जा ः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै सरोकारवाला पक्षहरूले स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिए । ऊर्जा उत्पादन बढाएर निर्यात प्रवद्र्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको उनीहरूले बताए । छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताए ।
यसैगरी काठमाडौँ विश्वविद्यालयका उपकुलपतिका डा. अच्युतप्रसाद वाग्ले, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याका निर्देशक डा. अदिति मुखर्जी, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेरालगायतले धारणा राखे ।
हिमाली क्षेत्र बढी जोखिममा
‘हिमाली क्षेत्रको जोखिम र मूल्यांकन’ विषयमा सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको निष्कर्ष निकालेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने उनीहरूको भनाइ छ । वर्तमान अवस्थामा हिमाली समुदायको जीवन र जीविकोपार्जन र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौँ मानिस जोखिममा पार्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।
दोस्रो दिनको छलफलमा विज्ञहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन् । ‘हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन’को विषयमा बोल्दै विज्ञहरूले जलवायुका असरसँग जुध्न अनुकूलनका कार्यक्रम परिचालन गर्नुपर्ने बताउँदै हानि नोक्सानीको प्रमाणित अनुसन्धान स्पष्ट हुनुपर्ने र कोषमा सहज पहुँचका लागि समेत व्यवस्था गर्नुपर्ने बताए ।
सहरीकरणको प्रमुख समस्या वायु प्रदूषण
सरोकारवालाहरूले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सगरमाथा संवादको ‘दिगो सहरहरू र समुदायहरू’ विषयक सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण सहरको ठुलो समस्या बनेको र यसले विशेष गरी बालबालिका तथा वृद्धहरूको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको भन्दै चिन्ता जनाइएको हो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको उल्लेख गरे भने काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचेको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिइन् । त्यस्तै, अन्य वक्ताहरूले सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्ने सुझाउँदै जलवायुजन्य विपद्का कारण सहरहरू असुरक्षित रहेको बताएका छन् ।
जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरता
सरोकारवालाहरूले जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । ‘पर्वतीय क्षेत्रमा अनुकूलनका लागि विज्ञान र प्रविधिको संयोजन’ विषयक समानान्तर सत्रमा वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा परेको र अझै बढी जोखिम बढ्नसक्ने बताए ।
त्यस्तै, ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्यान्ड्सका प्राध्यापक प्राडा क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकुलन प्रभावकरी हुने बताए । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्नेमा विज्ञहरूको बढी जोड छ ।
प्रतिक्रिया