काठमाडौँ । रौतहट बम काण्डमा उच्च अदालतबाट सफाइ पाउँदै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम कारागारबाट छुटेसँगै यसको चर्को विरोध भइरहेको छ । संविधानसभा निर्वाचनका अघिल्लो दिन २७ चैत, २०६४ मा रौतहटको राजपुरमा बम बनाउँदै गरेको स्थानमा विष्फोट हुँदा धेरै व्यक्ति घाइते भए । घटनाको पोल खुल्ने डरले घाइतेहरूलाई इटा भट्टामा हालेर मारियो ।
सोही मुद्दामा जिल्ला अदालत रौतहटले पूर्वमन्त्री आलमसहितलाई जन्मकैदको फैसला सुनाएको थियो । तर, गत १४ जेठमा उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दियो । उच्च अदालतले उक्त स्थानमा बम विस्फोट भएको र मान्छेलाई जिउँदै जलाएको प्रमाण नदेखिएको ठहर गरेको छ ।
तर, अदालतले नदेखेको जिउँदो प्रमाण बनेर वर्षौंदेखि भौँतारिइरहेका भारत सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले आइतबार पत्रकार सम्मेलन गर्दै आफू जिउँदो प्रमाण रहेको कुरा प्रष्ट्याएका छन् । उनले आफू बमकाण्डमा परी गम्भीर घाइते भएको भन्दै आफूले यो कुरा सम्बन्धित निकायमा बारम्बार भनिरहेको भए पनि सुनुवाइ नभएको गुनासो गरे ।
बम विष्फोटमा परी उनको दुवै कान उडेको छ । छाती र अनुहारभरि चोट छ । उनले आफू इटा बनाउने मजदुर भएको र इटाभट्टामा काम गर्न रौतहट आएको बताए । काम गरेको पैसा लिन त्यहाँ पुग्दा विष्फोटमा परी गम्भीर घाइते भएको र कसैले भारत पु¥याएका कारण बाँचेको उल्लेख गरे । अदालतले प्रमाण नदेखेकोप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘बम विष्फोटमा घाइते भएको प्रमाण म जिउँदै छु ।’ उनले यसअघि अनुसन्धानका क्रममा पनि यही बयान दिएका थिए ।
तर, बम विष्फोटमा घाइते गौरीशंकर र उनको बयानलाई नजरअन्दाज गरी अदालतले आलमसहितलाई सफाइ दिँदै ‘वारदात (घटनास्थल)मा उक्त घटना नै नभएको’ फैसला गरेको छ । उच्च अदालतले गौरीशंकर बम विष्फोटमा परेको कुरा अस्वीकार गर्दै स्टोभ पड्केर घाइते भएको उल्लेख गरेको छ । अस्पतालको कागजमा स्टोभ पड्केर घाइते भएको लेखिएको फैसलामा भनिएको छ ।
‘निजले उपचार गरेको भनिएको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्की घाउखत लागेको भन्ने देखिँदा निजको शरीरको खत बम विष्फोटको खत रहेको कुरा झुठा सावित हुन्छ,’ फैसलामा भनिएको छ । अझ अदालतले त गौरीशंकर सो इटाभट्टाका मजदुरसमेत नभएको भनेको छ । इटाभट्टामा काम गर्ने केही मजदुरले ‘गौरीशंकरकलाई चिन्दैनौँ’ भनेको भन्दै उनको दाबी झुटो रहेको अदालतको दाबी छ ।
त्यसो त गौरीशंक अहिले आलमसँग आतंकित पनि भएका छन् । उनलाई आफ्नो र परिवारको सुरक्षाको चिन्ता छ । पहिले पनि आलमको निकै धम्की आएको उल्लेख गर्दै उनले आफूले आलमविरुद्ध मुद्दामामिला गरेका कारण सुरक्षा चुनौती रहेको बताए ।
‘अफताब आलम छुटेकामा मलाई दुःख लागेको छ । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । अब मलाई मार्छ जस्तै लाग्न थालेको छ,’ उनले भने, ‘अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ । कसरी बाँचौँ म यो दुनियाँमा ?’
प्रतिक्रिया