नयाँ दिल्ली । एकपछि अर्को गर्दै बलिउड कलाकारहरू ‘डिप फेक’ भिडियोको सिकार भइरहेका छन् । पछिल्लो समय नायक रणवीर सिंह पनि यसको सिकार बनेका छन् । एआई प्रविधिको सहयोगमा बनाइएको भिडियोमा रणवीरले भारतीय प्रधानमन्त्री र उनको पार्टीको आलोचना र भारतीय कंग्रेसको समर्थनमा बोलेको देखिन्छ । भारतमा लोकसभा चुनावको मिति नजिकिँदै गर्दा यो भिडियोले स्वाभाविक रूपमा चर्चा पाउँदा उनी हैरान बनेका छन् ।
प्रविधिको दुरुपयोग गरी रणवीरको चरित्रमा असर गर्ने काम काम भएको भन्दै उनका बुबा जुगजित सिंह प्रहरीसमक्ष पुगेका छन् । जुगजितले मंलबार महाराष्ट्र साइबर प्रहरीमा उजुरी दर्ता गराएका हुन् । जुगजितले प्रहरीमा दिएको बयानअनुसार रणवीरले १४ अप्रिलमा एक फेसन सोमा दिएको अन्तर्वार्ताको डिप फेकको सहयोगमा दुरुपयोग गरी सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक भएको हो ।
सो भिडियो १७ अप्रिलमा नक्कली एक्स खाताबाट सार्वजनिक भएको थियो । भारतीय मिडियामा अन्तर्वार्ता दिँदै महाराष्ट्र साइबर प्रहरीका डिआइजी सञ्जय शिंत्रेले नक्कली खाता प्रयोगकर्ताको पहिचान भइसकेको र तीव्र रूपमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । यसअघि रश्मिका मन्दना, आलिया भट्टलगायतका भारतीय कलाकार डिप फेक भिडियोको सिकार भएका थिए ।
प्रतिक्रिया