कतारका राजा फर्किएसँगै पुनः अन्धकार काठमाडौं !

काठमाडौं । वैशाख ११ गते कतारका राजा (अमिर) नेपाल भ्रमणमा आउँदा दिउँसैदेखि काठमाडौँका सडक बत्तीहरू (अमिरको सवारी रुटमा) झलमल्ल बलेका थिए । विशेष गरी माइतीघरदेखि तिनकुनेसम्मको क्षेत्र रातमा बलेका ती बत्तीले विदेशको जस्तै अनुभूति गराएको थियो । यस क्षेत्रमा सवारीसाधन कुदाउने र पैदल हिँड्नेहरू पनि मख्ख थिए । त्यसमाथि सडकमा फोहोरका नाममा कुनै कागजको टुक्राधरि देखिएन ।

तर, विदेशको जस्तो अनुभूति पाएका ती सवारीचालक र पैदलयात्रीहरू बत्ती बलेको दोस्रो दिन नै खिन्न भए । अर्थात् कतारी राजा भ्रमण सकेर स्वदेश फर्किएकै दिनदेखि ती बत्ती बल्न छाडे ।

११ गते नै महानगरले २ हजार ८९ वटा सडक बत्ती जडान गरेको जानकारी गराएको थियो । तर, महानगरले जानकारी गराएको दिन मात्र बत्ती बल्यो भने दोस्रो दिनदेखि फेरि पुरानै अवस्थामा फर्कियो । अर्थात् काठमाडौँको सो सडक पुनः अन्धारमय बन्यो ।

झट्ट हेर्दा राजाको स्वागतका लागि मात्र महानगरले बत्ती बालेको जस्तो देखियो । बानेश्वर क्षेत्रका स्थानीयको पनि ‘राजाका लागि बालिएको बत्ती राजा गएसँगै निभ्यो’ भन्ने प्रतिक्रिया पाइयो । भएको पनि त्यही नै हो ।

महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले वैशाख १२ गते सौर्य दैनिकसँग कुरा गर्दै ‘अब जहिले पनि सडक सफा रहन्छ र सडक बत्ती पनि निभ्दैन’ भन्ने प्रतिक्रिया दिएका थिए । तर, उनले त्यसो भनकै दिनदेखि तिनकुने हुँदै बानेश्वर र माइतीघर क्षेत्रका सडक बत्ती बल्न छाडे भने सडकमा फोहोर पनि देखिन थाल्यो ।

यस विषयमा प्रवक्ता मानन्धरसँग पुनः बुझ्न खोज्दा त्यसबारे आफूलाई जानकारी नभएको बताए । त्यस्तै, वडा नम्बर १० र ११ का वडाध्यक्ष पनि यस विषयमा अनभिज्ञ नै देखिए । जडान भएका सडक बत्तीका बारेमा आफ्नो फेसबुकमार्फत् जानकारी गराएका मेयर बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाह भने यस विषयमा जानकार देखिए ।

उनका अनुसार जडान भएका सडक बत्तीमध्ये तिनकुनेदेखि माइतीघरसम्मको हकमा मिटर जडान नहुँदा १ दिन मात्र बालेर निभाउनुपरेको हो । नेपाल विद्युत प्राधिकरणले त्यस क्षेत्रमा मिटर जोड्ने काम सुरु गरिसकेको उनले बताए । ‘कतारी राजा आउने दिन प्राधिकरणले परीक्षण मात्र गरेको हो । त्यसका लागि आवश्यक मिटरको जडानको काम बाँकी नै रहेछ,’ शाहले भने ।

काठमाडौँ महानगर र विद्युत् प्राधिकरणको साझेदारीमा यस क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । महानगरको सार्वजनिक निर्माण विभागका सहायक निर्देशक पदमराज पौडेलका अनुसार यसका लागि महानगरको ६० र प्राधिकणको ४० प्रतिशत लगानी छ । करिब १२ करोड रुपैयाँ लागतमा जडान भएका यी सडक बत्तीको ठेक्काको काम भने प्राधिकरण आफैँले गरेको हो ।
‘अबको ४–५ दिनभित्र मिटर जडानको काम सकिन्छ । त्यसपछि फेरि ११ गतेकै जस्तो गरी सडकमा झिलिमिली बत्ती बल्छ,’ पौडेलले भने, ‘हामीलाई यो बत्ती प्राधिकरणले अहिलेसम्म हस्तान्तरण गरेको छैन । हामीलाई हस्तान्तरण भएपछि निरन्तर बालिरहनेछौँ ।’

जडान भएका ती २ हजार ८९ सडक बत्ती गौशाला हुँदै एअरपोर्ट–तिनकुने–नयाँ बानेश्वर र बानेश्वरबाट माइतीघर हुँदै भद्रकाली र टुँडिखेल वरिपरि तथा लाजिम्पाट क्षेत्रमा छन् । सार्वजनिक निर्माण विभागका पौडेलका अनुसार जडान भएको उक्त सडक बत्तीको प्रकाश घटबढ गर्नेदेखि निभाउनेसम्मको सम्पूर्ण नियन्त्रण महानगरको केन्द्रीय कार्यालयबाटै हुनेछ ।

प्रतिक्रिया