कोशीमा नयाँ सरकार गठनको प्रक्रिया बढाउन एमाले र माओवादीको माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरुले त्यस्तो माग गरेका हुन् । उनीहरुले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरे ।

नेपालको संविधानको धारा १८३ (३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई वि.स. २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८ (२) बमोजिमको अवधिभित्र अर्थात् ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उनीहरुको भनाइ छ ।

आफू अल्पमतमा परेको भएपनि संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि समयावधी भित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा राजिनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उनीहरुको दाबी छ ।– रासस

प्रतिक्रिया