जेल जाने त फर्किएर आउँछ, मेरो छोरो कहिल्यै आउँदैन !

जसले आलमको 'भयको राजनीति'मा विराम लगाए

रौतहट । जिउँदै व्यक्तिलाई इटाभट्टामा पोलेर हत्या गरेको घटनामा दोषी ठहर गर्दै अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएपछि पीडित परिवारले १६ वर्षपछि न्याय पाएको प्रतिक्रिया दिएको छ ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर–२ मा राजनीतिक दबदबासँगै आफ्नो नामको ‘आतंक’ फैलाएर शासक बनेको आलम परिवारको ‘भयको राजनीति’ अन्त्य भएको पीडित परिवारको भनाइ छ । हजुरबुबा पूर्वमन्त्री शेख इद्रिसदेखि २०६४ सालसम्म आइपुग्दा नाति अफताबसम्मले यहाँ भयको राजनीति गरेका थिए । राज्यसत्ताको धम्की दिँदै नागरिकलाई भयमा राखेर मतपत्रसमेत हेर्न नदिने वातावरण बनाएको आरोप उनीमाथि लाग्ने गरेको थियो । तिनै अफताबलाई रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि आलमको राजनीतिकसँगै गुण्डागर्दीको यात्रामा समेत विराम लागेको छ ।

आलम दाजुभाइको विरुद्धमा कोही स्थानीय आवाज निकाल्न नसक्ने अवस्थामा रहेका बेला रौतहटको सरुअठाका ८३ वर्षीय नारायण सिंहले हिम्मत जुटाए र कानुनभन्दा माथि कोही छैन भन्ने प्रमाणित गर्ने अठोट लिए । छोराको हत्यारालाई कानुनको कठघरामा उभ्याउने उनको प्रण १६ वर्षपछि पूरा भएको छ ।

प्रत्येक आमनिर्वाचनमा बुथ कब्जा गरेर जित हासिल गर्ने गरेका अफताब आलम र उनका भाइ महताब आलमले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि बुथ कब्जा गर्ने योजना बनाएका थिए । बुथ कब्जा गर्न आतंक फैलाउन बम विस्फोट गराउने योजनामा रहेका उनीहरूले हजुरबुबा शेख इद्रिसको गोठघरमा बम भण्डारण गरी राखेका थिए । सोही बम विस्फोट हुँदा घाइते भएका त्रिलोकप्रताप सिंहसहितलाई उनैले सञ्चालन गरेको इटाभट्टामा हालेर जलाएका थिए ।

सोही अभियोगमा दोषी ठहर गर्दै अदालतले आलम दाजुभाइसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएपछि लामो संघर्षपछि आफूहरूले न्याय पाएको पीडित परिवारको प्रतिक्रिया छ ।

यमुनामाई गाउँपालिका–४ का २३ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप सिंह भारतको सीतामढीस्थित गोयन्का कलेजमा राजनीतिशास्त्रमा स्नातक गरिरहेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनका लागि आलमले उनलाई चुनाव प्रचार गर्न भनी नेपाल बोलाए । जसका लागि चुनावी प्रचारमा नेपाल आए, उसैले राखेको बम पड्किँदा त्रिलोक घाइते भए । घाइते भएका उनलाई उपचार गराउनुको सट्टा आलमले आफ्ना समर्थकलको साथ लिएर जिउँदै इटाभट्टामा हालिदिए । इटा पोल्ने आगोको लप्कामा परेका त्रिलोकले छिनभरमै लोक छाडे ।

बम विस्फोट भएको आवाज आफूले पनि सुनेको भन्दै नारायणले भने, ‘त्यही आवाजसँगै मेरो छोराको पनि आवाज अस्ताउँछ भन्ने मलाई के थाहा ! उपचार गर्दा बाँच्ने छोरालाई भट्टाको आगोमा हालेर मारिदिए ।’

घटनामा सामान्य घाइते भएका छोरालाई आलमका भाइ महताब आलम, बद्री सहनी, शेख फाजिले हकले जिउँदै इटाभट्टामा हालेर हत्या गरेपछि न्यायका लागि जाहेरी दिँदा सत्ता र पावरको बलमा सुरु जाहेरी दर्ता गर्नै नदिएको नारायण सुनाउँछन् ।

१२ वर्षसम्म दौडधुप गर्दा पनि केही सीप नचलेपछि नारायणलाई लाग्यो– नेपालमा कानुन छैन । तर, उनको अर्को मनले भनिरह्यो– मेरो छोराको हत्यारालाई कानुनी सजाय नदिलाई म मर्दिनँ, चैनको सास लिन्नँ । यही आत्मविश्वास र अलिकति भए पनि बचेको न्यायालयप्रतिको भरोसाका कारण उनले अदालतको ढोका ढकढक्याइरहे ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दाको अनुसन्धान गर्न आदेश दिएपछि न्यायको आशा पलाएको र १६ वर्ष ८ महिनापछि न्याय पाएको भन्दै नारायणले खुसी व्यक्त गरे ।

मुद्दाको फैसला आउनुअघिसम्म आलमका नजिकका व्यक्तिहरूले दबाब, प्रलोभन, धम्की दिइरहे । नारायणले भने, ‘मुद्दा मिलापत्र गर्न पटक–पटक गाउँकै व्यक्ति लगाएर धम्की, प्रलोभन आए । तर, मैले न्यायबाहेक केही नचाहिने भन्दै उनीहरूसँग कुनै कुरा नै गरिनँ ।’

मिलापत्र गर्न प्रस्ताव लिएर आउनेहरूलाई उनी भन्थे– मैले छोरा गुमाएको छु, बाख्रा गुमाएको भए मिलापत्र गर्न सकिन्थ्यो । छोराको न्यायका लागि नारायणले सवा ३ बिघा जग्गा बेचेका छन् । सो जग्गाको अहिलेको मूल्यांकन २ करोड रुपैयाँभन्दा बढी रहेको उनी बताउँछन् ।

अदालतको फैसलापछि सुरक्षा चुनौती थपिएको भन्दै नारायण सिंहले कुनै पनि बेला अप्रिय घटना हुनसक्ने चिन्ताले सताएको बताए । मुद्दाको फैसलापछि सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको सुनाउँदै उनले छोराको हत्यारालाई जन्मकैद दिलाउन सफल भएको भन्दै बल्ल छोराको आत्माले शान्ति पाएको जनाए ।

उनको जाहेरीपछि २०७६ साल असोज २६ गते पूर्वमन्त्री आलम पक्राउ परेपछि मात्रै उनले छोराको क्रियाकर्म भारतको गयामा पुगेर गरेका थिए । आलमविरुद्ध जाहेरी दिएकी रोक्साना खातुनको हत्यापछि घटनामा मारिएका ओसी अख्तरकी श्रीमती आमना खातुन र ससुरा समसुल मियाँले बयान फेरे पनि सिंह भने आफ्नो अडानमा कायम रहेका थिए ।

त्रिलोककी आमा ८० वर्षीया कमलादेवी अझै छोरा गुमाएको पीडाबाट बाहिर निस्किन सकेकी छैनन् । ‘सपनामा छोरो रुँदै गरेको देख्छु । जेल गएको मान्छे एक न एक दिन फर्केर त आउँछ,’ उनी रुँदै भन्छिन्, ‘तर, मेरो छोरो त कहिल्यै आउँदैन ।’

भाइ गुमाएका दाइ सत्येन्द्रले १६ वर्ष पछि न्याय पाए पनि परिवारमाथि खतरा कायमै रहेको बताए । फैसलापछि आलमका परिवार आक्रोशित अवस्थामा रहेकाले जुनसुकै बेला आक्रमणमा पर्न सक्ने चिन्ता उनमा छ ।

प्रतिक्रिया