डम्पिङ साइटको फोहोर बालेर सिमेन्ट उत्पादन

स्थानीयको स्वास्थ्यमा शिवम् सिमेन्टको खेलबाड

हेटौँडा । औद्योगिक इन्धन बचाउने खेलमा हेटौँडामा रहेको शिवम् सिमेन्ट प्रालिले स्थानीयबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको तथ्य बाहिरिएको छ । सिमेन्ट तथा क्लिंकर उत्पादनका लागि प्रयोग हुने इन्धन कोइलाको सट्टा प्लास्टिकजन्य फोहोरलाई उद्योगले इन्धनका रूपमा प्रयोग गरिरहेको पाइएको हो ।

करिब १ हप्तादेखि उद्योग वरपर दुर्गन्धित धुवाँ फैलिएपछि बिहीबार जनप्रतिनिधिसहित स्थानीय बासिन्दा उद्योग परिसरभित्र पुग्दा हेटौँडा उपमहानगरपालिकालगायत विभिन्न स्थानबाट जम्मा गरिएको फोहोरमैला उद्योग परिसरभित्र फेला परेको थियो । अधिकांश प्लास्टिकजन्य फोहोरका साथै विभिन्न पार्टी प्यालेसबाट निस्केको प्रशोधन नगरिएको फोहोर कन्टेनरसहित नै भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

‘जुठो प्लास्टिकका प्लेट, गिलासमात्र होइन, फोहोरका डंगुरमा प्रयोग भइसकेका सेनेटरी प्याडलगायत पनि भेटिएका छन्,’ हेटौँडा उपमहानगरपालिका–१७ का वडाध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।
उद्योगले हेटौँडा उपमहानगरपालिकाभित्रको फोहोर संकलन गर्ने जिम्मेवारी पाएको ग्रिन एन्ड क्लिन सिटी सर्भिससँग सम्झौता नै गरेर फोहोरमैला खरिद गरेको पाइएको छ । ग्रिन एन्ड क्लिन सिटी सर्भिसका सञ्चालक नवराज खतिवडाले उद्योगले आफूहरूसँग ६ रुपैयाँ प्रतिकिलोका दरले उपमहानगरमा संकलित फोहोर खरिद गर्दै आएको सौर्य दैनिकलाई जानकारी दिए ।

‘के प्रयोजनका लागि भन्ने हामीलाई थाहा भएन । डम्पिङ साइटमा लगेर फाल्नुपर्ने फोहोर उद्योगले किन्छु भनेर माग गरेकाले २ हप्तादेखि हामीले सप्लाई गरिरहेका छौँ,’ खतिवडाले भने ।

उद्योग प्रशासनले आफूहरूले इन्धनका रूपमा बाल्न हेटौँडा उपमहानगरपालिका मात्र नभई अन्य पालिकाबाट पनि फोहोर संकलन गरेको स्वीकार गरेको छ ।
स्थानीयले बिहीबार उद्योग बन्द गर्न सामूहिक दबाब दिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका तथा उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत सहभागी अनुगमन टोलीसमक्ष इन्धनका लागि विभिन्न सहरबाट प्लास्टिकजन्य फोहोर संकलन गरिएको उद्योगका प्रतिनिधिले स्वीकार गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काका अनुसार चाउचाउ, चकलेटका खोललगायत प्लास्टिक औद्योगिक क्षेत्रमा इन्धनका रूपमा प्रयोग हुने गरेको भए पनि त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । ‘तर उद्योगले ती मापदण्ड पूरा गरेर निश्चित तापक्रममा त्यस्ता वस्तु प्रयोग गरे÷नगरेको विषयमा यकिन गर्न सकिएन,’ खड्काले बताइन् ।

खड्काले कागजी रूपमा उद्योगले प्रदूषण नियन्त्रणका लागि नेपाल सरकारले तोकिएको मापदण्ड अनुसार कार्य गरेको भन्ने उद्योगको दाबी देखिए पनि प्रत्यक्ष अनुगमनका क्रममा त्यस्तो नपाइएको बताइन् । उनले भनिन्, ‘अनुगमनका क्रममा उद्योगबाट निस्कने धुलोको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ । तर, उद्योगको कागजी रिपोर्टमा सबै मापदण्ड पूरा भएको देखिन्छ ।’

पटक–पटक प्रदूषण नियन्त्रणका लागि अत्याधुनिक प्रविधि जडान गर्ने भने पनि एकपछि अर्को गरी प्रदूषण थपिरहेको भन्दै स्थानीय आन्दोलित भएपछि बिहीबार नै यसबारे छानबिन गर्नका लागि उद्योगका प्रतिनिधिसमेत सम्मिलित १९ सदस्यीय समिति गठन गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामकृष्ण कोइराला संयोजक र वडा–१६ का अध्यक्ष उद्धव सत्याल सहसंयोजक रहेको टोलीमा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्कासहित जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय बासिन्दाहरू सदस्य छन् । समितिले ७ दिनभित्र उद्योगको अनुगमन र नीरिक्षण गरी निष्कर्ष प्रस्तुत गर्ने सत्यालले जानकारी दिए ।

उद्योग स्थापनाकै समयदेखि नै स्थानीयबासीलाई झुक्याउँदै राजनीतिक आडमा जबरजस्ती मानव बस्तीको बीचमा उद्योग स्थापना गराएर प्रदूषण फैलाइरहेको भन्दै स्थानीय बासिन्दाले पटक–पटक उद्योगविरुद्ध आन्दोलन गर्दै आएका छन् । यद्यपि प्रत्येक पटक उद्योगले सीमित व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिएर आन्दोलन दबाउँदै आएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया