यातायात कार्यालय कलैयाले उठायाे २ करोडभन्दा बढी राजस्व

पर्सा । मधेस प्रदेश सरकारको सहयोगमा बारा जिल्लाको सदरमुकाम कलैयाको गंगापुरमा मंसिर २५ गतेदेखि यातायात व्यवस्था कार्यालयको सेवा सुरु भएको र सेवा सुरु गरेको दिनदेखि अहिलेसम्म २ करोडभन्दा बढी राजस्व उठाउन सफल भएको छ ।
उक्त कार्यालयका प्रमुख नवाज हुसैनले अहिले यस कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गरिरहेको बताए । अहिले धेरैजसो यातायात व्यवस्था कार्यालयमा विभिन्न आर्थिक मामिलामा पटकपटक मुछिने गरेकोले त्यसबाट मुक्त गर्न र सेवाग्राहीको काम छिटोछरितो गरेर कार्यालयमा भिड कम गर्न आफूले निर्देशन दिएको उनले बताए ।

कार्यालय प्रमुख नवाज हुसैनले जनशक्ति कम भए पनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको बताए । कार्यालयमा रहेका कर्मचारीले बिहान ७ बजेदेखि राती ९ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । त्यस्तै अहिले यातायात व्यवस्था कार्यालय बारा जिल्लाको सम्पूर्ण सेवाहरू अनलाइनमार्फत प्रदान गरिने भएकोले कुनै पनि काम बिचौलियामार्फत नगराउन उनले जानकारी गराए ।

उक्त कार्यालयमा लाइसेन्सका लागि फागुन २३ बाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको र उक्त कार्यलयमा अहिलेसम्म १ हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमति पत्र लिने अन्तिम चरणमा पुगेका छन् । अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरू पढेलेखेका भएर लिखितमा पास भए पनि प्रयोगात्मक परीक्षामा फेल हुने गरेका छन् ।

पहिला पहिला सवारी चालक अनुमति पत्र बनाउनका लागि वीरगन्ज र हेटौँडा जानुपर्ने रहँदै आएकोले अब सो समस्याको समाधान भएपछि अहिले सवारी चालक अनुमति पत्र कलैयामा नै बनाउन पाइने भएपछि बारा जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरूसमेत सेवा लिन आउन थालेका छन् । अहिले सो कार्यालयले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्रयाक्टर लगायतका सवारी साधनहरूको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमति पत्र दिँदै आएको छ ।

प्रतिक्रिया