काठमाडौं । मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक भएसँगै शेयर बजारमा उत्साहजनक बृद्धि भएको छ । मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन् । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५ दशमल ६९ विन्दुले बढेर २०६४ दशमल ४५ अंकमा पुगेको छ । अहिले बजार न्यून तहमा रहेको समयमा राष्ट्र बैंकले गरेको यो व्यवस्थापछि बैंकहरूले सेयर खरिदको काम बढाउन सक्ने अनुमानमा बजार बढेको हो । आइतबारको बजारमा पाँच अर्ब २५ करोड १० लाख २४ हजार ७८६ रूपैयाँको सेयर कारोबार भएको छ ।
गत कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २ करोड रूपैयाँ वृद्धि भएको हो । यस दिन ३२३ वटा धितोपत्रको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । २ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ, भने ४० वटाको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सबैको लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यस्तै, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले बढेको छ । माण्डु हाइड्रोपावरको मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६९ रूपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, पिपुल्स पावरको मूल्य ७ दशमलव ७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९८ रूपैयाँमा झरेको छ । आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ दशमलव २५ प्रतिशत बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता ८३६ रूपैयाँ ३० पैसामा १४ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा फस्र्ट माइक्रोफाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ६ सय ९५ रूपैयाँमा ११ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया