रौतहटमा विभिन्न पार्टीका दर्जानौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

रौतहट । रौतहटमा आज दर्जानौँको संख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको माधवनारायण नगरपालिका– ५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जर्नौँ व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस माधवनारायण नगरपालिका– ५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेको बताइएको छ । नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता, कांग्रेसका मधेश प्रदेश सभापति, पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सांसद कृष्ण प्रसाद यादवले उनीहरुलाई टिका–माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेसका मधेस प्रदेश सभापति यादवले नव प्रवेशीहरुलाइ पार्टीमा स्वागत गरेका छन् । कांग्रेस मधेस प्रदेश सभापति यादवले पार्टीमा आएका नव प्रवेशीहरुलाई आगामी सफल कार्यकालको शुभकामना दिएका थिए ।

नेता कृष्ण प्रसाद यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकाले चाहेर पनि कसैले परास्त गर्न नसक्ने बताएका थिए ।

अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनले कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने भएको हुँदा सबैलाई कांग्रेसमा लाग्नुपर्ने धारणा राखेका थिए । कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताको विशेष पहलमा उनीहरू विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गरेको बुझिएको छ ।

राजनीतिमा ठूलो पकड भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरु कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनको लागि मिठुअवा र माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टी अझै मजबूत भएको कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताएका छन् ।

एउटै टोलको दर्जानौँ नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता गुप्ताले विश्वास व्यक्त गरेका हुन् ।

कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सचिव मिथलेश मिश्रा लगाएतका वक्ताहरुले देशमा एकमात्र पार्टी नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दै कांग्रेसमा लाग्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया