रास्वपा र राप्रपाको विरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधपछि आधा घण्टाका लागि स्थगित भएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गृहमन्त्री रमेश लेखक यसमा जोडिएको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।

प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस् भन्दै सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाइन् ।

त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वेल घेराउ गर्न पुगे । सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए ।

‘सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ’, उनले भने । रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि माग गर्दै आएको छ । तर, सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले भने गत शुक्रबार नै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन् ।

प्रतिक्रिया