रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर आन्दोलनमा उत्रिएका छन् । मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिवन’ को प्रतिकले जनाउँछ ।

आज रास्वपाका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ । तर, साढे १ बज्न लाग्दा पनि आजको बैठक बसेको छैन ।

रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरण जोडिएको भन्दै संसद बैठकमा विरोध गर्दै आइरहेका छन् ।

सूरुमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने अडान लिँदै संसद बैठक अवरोध गर्दै आइरहे पनि पछिल्लो समय माओवादीले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहमति गरेर अवरोध गर्न छाडेको छ । तर, यी दुई दल रास्वपा र राप्रपाले भने विरोध कायम नै राखेको छ ।

प्रतिक्रिया