वर्तमान अवस्थामा खस जाति लद्दाखदेखि म्यान्मारसम्म सरकार सञ्चालन गर्नेदेखि घुमन्ते अवस्थामा रहेका छन् । नेपाली भाषाको जननी खस भाषा हो जसको मूल रूप दार्चुलाको त्यस भेगमा आज प्रचलनमा रहेको छ । त्यस क्षेत्रमा बोलिने भाषालाई सुरक्षित गर्ने हो भने नेपाली भाषाको भण्डारमा अर्को भकारी भरिनेछ ।
दार्चुलाको उत्तर–पूर्वमा रहेको पाथा गाउँ क्षत्ती र घाजिरपछि उच्च स्थानमा रहेको सुन्दर हिमाली गाउँ हो । अपि हिमाल गाउँपालिका–३ मा पर्ने यो गाउँमा ५० घरपरिवार रहेका छन् । समुद्र सतहदेखि २ हजार ७०० मिटरको उचाइमा रहेको यो गाउँ मुख्य हिमालयको तल्लो उपत्यकामा रहेको छ । ढुंगा काटेर ४ सुर बनाइएका ढुंगे घर आकर्षक छन् । उच्च पहाडी क्षेत्रका त्यस्ता कलात्मक, सांस्कृतिक पहिचान बोकेका बलिया घरको छुट्टै ऐतिहासिक महत्व हुन्छ । मोटरबाटो पुगेपछि ऋणै काडेर किन नहोस् त्यस्ता घर भत्काएर पक्की घर बनाउने चाहनाले परम्परागत सीपमा आधारित ती घर लोप हुँदै छन् । ढुंगाले छाइएका ती घरका काठका पल्लासहितका राम्रा झ्यालले भक्तपुरको काष्ठकलाको झलक दिन्छन् ।
गाउँनजिकै ठुलो र मलिलो फराकिलो फाँट छ । यात्राको क्रममा तराईको समथर मैदान नाघेर बैतडीतिर उक्लँदै गर्दा त्यहाँका किसानले खेतको गहुँ काटेर थन्क्याएका थिए । दार्चुलाको घुसामा गहुँ काट्दै थिए । पाथामा भने जौ हरियै थियो । नेपालको विशेषता उचाइ भूगोलको कारण त्यस्तो भएको हो । त्यसैले प्रकृतिमा हामी धनी भएका हौँ ।
यहाँका बासिन्दाले आलु, तल्ती (तिते फापर) र जौ खेती गर्छन् । नलको टौवा बारीको छेउमा देखिन्थ्यो । सबैका घर अगाडि स्याउको बगैँचा थियो । त्यहाँ स्थानीय निकायको सहयोगमा हालै मात्र स्याउ र ओखर खेती गर्ने योजना भएको रहेछ । पाथाका बासिन्दाको मुख्य पेसा कृषि, घुमन्ते शैलीमा भेडा च्याङ्ग्रापालन र भारतमा कृषि मजदुरी गर्नु हो । भारतबाहेक अन्य देशमा जानेको संख्या पातलो छ ।
गाउँमा २०२३ सालमा स्थापित श्री हिमालय आधारभूत विद्यालय रहेको छ । दार्चुलाको त्यस कुनोमा त्यसबेला नै स्कुल स्थापना हुनु भनेको त्यस क्षेत्रका बासिन्दा पहिलेदेखि शिक्षाप्रति जागरुक थिए भन्ने कुराको प्रमाण हो । मैले यसभन्दा पहिले १०औँदेखि १३औँ शताब्दीको खस साम्राज्यको फैलावट उत्तरमा कैलाश र गुगे, पश्चिममा लद्दाख, दक्षिणमा काशी र पूर्वमा त्रिशूलीसम्म भएको उल्लेख गरेको छु ।
त्यसबारेमा डेभिड जुरिक र पिपी करनले ‘हिमालय’ पुस्तकमा विस्तृत रूपमा प्रकाश पारेका छन् । उनका अनुसार खसजाति ई.पू. १५००–१००० मा हिमालयतिर प्रवेश गर्नुभन्दा पहिले मध्य एसियामा महत्वपूर्ण भूमिकामा थिए (पृ.६८) । तिनीहरू हिन्दुकुश, अफगानिस्तान, पश्चिम तिब्बत हुँदै हिमालयको दक्षिणकाखमा आए । इ.पू. ६०० मा कस्मिरमा खस राज्य स्थापना गरे । त्यसपछि ११औँ शताब्दीमा कर्णालीको जुम्ला, दैलेख र पश्चिम तिब्बतको गुगेलाई केन्द्रमा राखी खस साम्राज्य चलाए । त्यसबारे विस्तृत रूपमा जोसेफ टुचीले ‘नेपाल द डिस्कभरी अफ मल्ल’ र प्राडा सूर्यमणि अधिकारीले ‘खस साम्राज्यको इतिहास’मा उल्लेख गरेका छन् ।
वर्तमान अवस्थामा खस जाति लद्दाखदेखि म्यान्मारसम्म सरकार सञ्चालन गर्नेदेखि घुमन्ते अवस्थामा रहेका छन् । नेपाली भाषाको जननी खस भाषा हो जसको मूल रूप दार्चुलाको त्यस भेगमा आज प्रचलनमा रहेको छ । त्यस क्षेत्रमा बोलिने भाषालाई सुरक्षित गर्ने हो भने नेपाली भाषाको भण्डारमा अर्को भकारी भरिनेछ । खस साम्रज्यको बेला यो क्षेत्र विकसित थियो । त्यसपछि नेपाल खण्ड र लद्दाख क्षेत्रमा विभिन्न स–साना राज्यहरू भए । त्यसबेला मुस्ताङदेखि पश्चिम हिमालयको क्षेत्र साधु, तीर्थयात्रीको धार्मिक स्थल बन्यो । सातौँ शताब्दीतिर नै चिनिया भिक्षु हिमाल नाघेर दक्षिणमा पुगेको युरोपलाई थाहा थिएन ।
मार्कोपोलोको १३३१ सालको डायरीबाट यस क्षेत्रको भौगोलिक र संस्कृतिबारे थोरै थाहा पाएका हुन् । १७५० सालतिर भने पश्चिमा धार्मिक गुरु हिमालयतिर छिरे । उनीहरूले बौद्ध तथा हिन्दु धर्मबारे अध्ययन गरे । हाम्रो यस हिमाली उपमहादेशमा प्राचीनकालमा भएको सभ्यता सिन्धु सभ्यता, नालन्दा, तक्षशिलाझैँ ध्वस्त जस्तै भयो । चीन र दक्षिणपूर्व एसियाका बासिन्दाले पुरातात्विक चित्र, मूर्ति, भित्ते चित्र, देवल, गुफा र ऐसिहासिक स्थलको पहिचान गरी त्यसको गम्भीरतापूर्वक संरक्षण गरे । आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्दै मंगल ग्रहसम्मको यात्रा गरे । तर नेपालले साधन, स्रोत, क्षमता हुँदाहुँदै पनि गफ र टालटुले प्रवृत्ति भएको कारण ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा गर्व गर्न सक्ने गरी केही गर्न सकेन ।
एकीकरणको समयसम्म टुक्रे राज्य भए तापनि यो क्षेत्र प्रभावशाली थियो । तर एकीकरणपछि भने कर्णाली र सुदूरपश्चिमलाई नेपालको केन्द्रले हेला नै गर्यो ।
अपी र साइपाल क्षेत्रको यात्राको नवौँ दिन, २०८१ वैशाख २४ मा पनि बादलले नृत्य गर्न बिर्सेको थिएन । सुन्दर, शान्त, फराकिलो उपत्यकामा थपक्क बसेको पाथा गाउँमा १ रात बास बस्ने अवसर जुरेको थियो । हालै स्थापना गरिएका ५ होम स्टेमध्ये हामीलाई मंगला कार्कीको घरमा पाहुना हुने अवसर मिल्यो । स्थानीय निर्वाचनपश्चात् पर्यटन, स्वास्थ्य, फलफूल खेतीप्रति किसानमा चेतना जागृत भएको रहेछ । पर्यटकका लागि हृदय प्रफुल्ल हुने क्षेत्र भए तापनि पदमार्ग र होटल नभएकाले पर्यटक त्यहाँसम्म पुग्दैनन् । क्षेत्तीमा साउन महिनामा हुने जात्रामाबाहेक आन्तरिक पर्यटक पुग्ने अवस्था अझै सिर्जना भएको छैन ।
हामीसँग धेरै कन्दरा र पहराहरूमा, गाउँ अनि नदीका गहिरो उपत्यकामा हिराको खजाना छ तर हामीले त्यसको पहिचान गर्न सकेका छैनौँ । विक्रमको २२औँ शताब्दीको नजिक पुग्ने बेला, मेसिन मानवले काम गर्ने युगमा हामी प्राचीन कृषि र घुमन्ते पशुपालनको युगमा नै छौँ । यो क्षेत्र एकप्रकारले त्यस्तै अवस्थामा छ । किनभने यहाँका बासिन्दा जडीबुटी खोज्न अग्लो लेक चहार्छन् । भेडाच्याङ्ग्रा लिएर विभिन्न उचाइमा गुफामा बास बस्दै उच्च लेक पुग्छन् । वरपर भएका खेत र बारीमा वर्षको एकपटक उवा, जौ, गहुँ, आलु उमार्छन् ।
हामी बस्ने घर ढुंगाको छानो, कुँदेका ढुंगा र माटोको जोडाइको गारो भएको थियो । ठुलो झ्याल र काठको बार्दलीले त्यो घर प्राचीन डोटीका राजाको दरबारभन्दा सुन्दर देखिएको थियो । पहाडी क्षेत्रको पुरानो नमुनाघर । सहरतिर हुन्थ्यो भने त्यस्तोमा प्रवेश गर्न टिकट काट्नुपर्ने थियो । नेपालमा जिउँदोमा हेला र मृत्युपछि मानिसलाई सम्मान गर्ने चलन भए झैँ त्यस्ता ऐतिहासिक घर संरक्षणमा ध्यान नदिने तर भत्किसकेपछि भने खुबै चुकचुकाउने बानी छ । यहाँ पनि मोटरबाटो पुगेपछि ती ऐतिहासिक महŒवका घर ध्वस्त हुनेछन् ।
हामी पाथाको त्यो होमस्टेमा पुग्दा ५ खस क्षेत्री महिलाले गुलाबको रातो पूmल दिएर स्वागत गरे । त्यसै क्षेत्रका हिमाली पखेरामा उम्रेको जडीबुटीको चिया खुवाए । प्राचीन मानव सभ्यतामा धनी भएझैँ यो क्षेत्र जडीबुटीमा पनि उत्तिकै धनी छ । यहाँ जडीबुटी प्रशोधन कारखाना स्थापना गर्न सकिने सम्भावना छ । ‘चरक संहिता’मा उल्लेख भएअनुसार औषधि बनाउनका लागि हिमालयनजिक तत्कालीन ऋषिमुनिले सम्मेलन गरे । रोगबाट मुक्त हुन उपाय खोज्दै विभिन्न रोग निको पार्ने जडीबुटीको पहिचान गरेका थिए । यी तिनै क्षेत्र हुन् । अनुसन्धान गर्ने हो भने अवश्य पुष्टि हुने नै छ ।
ओल्लो–पल्लो घरका बालबालिका र महिलाले भक्तपुरमा पर्यटकलाई आँखीझ्यालबाट चियाएर हेरेझैँ हामी पर्यटक भई टोपलेका यात्रीलाई झ्यालबाट चियाएर हेर्दै मिठो मुस्कान पोख्दै थिए । त्यस दिन भक्कुको वनको पहरो, र थुम्कीपारिको ओरालोले मेरो सातो लगेको थियो । पाथा गाउँमा छिरेपछि बल्ल मुटुको धड्कन ठिक ढंगले धड्कन थाल्यो । वनमा डाँफे चरी नाचेझैँ त्यहाँ पुगेपछि मेरो मन पनि हर्षले गद्गद् भएर नाच्यो । दिउँसोको पीडा त्यहाँको हिमाली ग्रामीण परिवेशले चार डाँडापारी पुर्यायो ।
त्यो साँझ जौको सुक्खारोटी, गाईको दूध, साग र आलुको तरकारी खायाँै । निकै स्वादिष्ट भयो । सबै कुरा पाथामै उब्जेकाले त्यसको स्वाद पहाडीभन्दा पूर्णतः हिमाली थियो । धेरै दिनपछि घरेलु परिवेशमा पाथाले हामीलाई दिल खोलेर स्वागत गर्यो । पाथाको स्वागतले यात्राका अनेकन दुःख कुलेलम ठोके । थकाइ मेटियो । मन हाँस्यो । महाभारत कथामा लामो यात्रापछि हिमालय पार गरेका वदान्य ऋषिलाई त्यहाँका नारीले स्वागत गर्दा हर्षित भएझैँ हामी हर्षले पुलकित भयौँ ।
भोलिपल्ट बिहान घ्यूमा पकाएको तल्तीको रोटी, सिमी, साग र दूध नै खायौँ । रोटी पातलो भएकाले मज्जाले पाकेको थियो र त्यसको स्वाद धेरै दिन र महिनासम्म पनि जिब्रोमा टाँसिइरह्यो । हामीले रोटी खाँदै गर्दा मंगला कार्कीले ठुलो ढुंगे बेलौटोमा बेल्नाले जौको पिठो बेलिन् । त्यसमा गाईको घ्यू दलिन् । त्यसलाई फेरि डल्लो पारेर डेक्चीमा राखिन् अनि १–१ गर्दै बेलिन् । त्यसलाई दाउरा बालेर अँगेनोमा तावामा पकाइन् अनि त्यसपछि अँगेनामा तातेको फलामको पातोमा सेकाइन् । भुलुक्क दुवैतिरबाट रोटी फुल्यो । त्यसलाई उनले डालोमा राखिन् । ती रोटी उनले करवीर र देवेन्द्रलाई दिइन् । थप रोटी यार्सा खोज्न लेकमा गएका पतिलाई पठाउन तयार गरिन् ।
त्यसरी उब्जाउने, थन्क्याउने, पिस्ने, पकाउने र आनन्दसँग खाने चलन सहरको त के कुरा गर्नु ! मध्यपहाडका गाउँमा पनि हराएको छ । बाँकी केही छ त उच्च लेक, हिमाली गाउँ र हिमाली साना उपत्यकामा रहेका घर र गोठमा । ती पनि एकाध पुस्तापछि लोप अवश्य हुनेछ । हामीलाई कम्तीमा सुरक्षित भएर हिँड्न, उपचार गर्न, सामानको लागि ओहोरदोहोर गर्न बाटो त चाहिएकै छ तर मोटरबाटो पुगेपछि मानिसले खेतबारी बेचेर भए पनि पक्की घर बनाएका छन् । चाउचाउ संस्कृति भित्रिएको छ अनि खेतबारी बाँझो भएका छन् । त्यो विडम्बना विकराल बन्दै छ । तराई र पहाडमा त त्यो अवस्था देखिइसकेको छ । अब बाँकी छ त केही पाथाजस्तै हिमाली गाउँमा, जसले सिंगो नेपालको हजारौँ वर्षदेखिको सभ्यता र संस्कृति बचाएका छन् । कृषि, पर्यटन र पशुपालनमा किसानलाई राज्यले सामान्य आडभरोसा दिने हो भने जीवनस्तर पनि उकासिने थियो र संस्कृति पनि बाँच्ने थियो ।
मंगला कार्कीको पारिवारिक हार्दिकताले हामी भावुक भएका थियौँ । यस क्षेत्रमा पर्यटन भन्ने शब्दको चर्चा भर्खर मात्र सुरु भएको छ । पर्यटकका लागि यो उत्कृष्ट क्षेत्र हो । गाउँ, परिवार, संस्कार र संस्कृति, भेषभूषा, बोलीचाली, हार्दिकताका साथै प्राकृतिक छटाले यो क्षेत्र असाध्यै धनी छ तर बाटोघाटो र बस्ने ठाउँको असुविधाको कारण पछाडि परेको छ । बिदा हुने बेला हामी सबैका आँखामा पारिवारिक नाताले बास गरेको झल्को देखिन्थ्यो । धेरै पखेरा नाघ्दा पनि पाथा गाउँ मेरा आँखा वरपर छमछमी नाचिरह्यो ।
प्रतिक्रिया