कांग्रेसको महाधिवेशन २०८३ मा हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिर अगावै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (क) को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिर अगावै हुने बताएका हुन् ।

‘विसं २०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्, शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने अधिवेशन २०८३ मङ्सिर अगावै हुन्छ’, उनले भने ।

महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताए । सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्य खोलिने उनको भनाइ थियो । उनले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए ।

कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पार्टीभित्र विद्यमान गुटगत राजनीतिको अन्त्य आवश्यक भएको बताए । उनले कांग्रेसको संगठन निर्माणमा पार्टी कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले क्रियाशील हुन युवा पुस्तालाई आह्वान गरे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारीले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । हरेक कार्यकर्ताको मूल्यांकन पार्टीमा हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया