दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि जेल चलान, ३२ जना धरौटीमा रिहा

तिनकुने घटनामा जिल्ला अदालतको आदेश

काठमाडौँ । गत १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनीहरूलाई शुक्रबार नै डिल्लीबजार कारागार पठाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रसाईंसहित डण्डपाणि रेग्मी, सुशील बराल, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।

बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले बिहीबार मध्यरातमा प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अन्य ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ । उनीहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । तीनकुने घटनामा प्रतिवादीमध्ये ३९ जना प्रतिवादी हिरासतमा थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ४ जना भने नाबालक रहेकाले बालसुधार गृह भक्तपुर पठाइएको थियो ।

उनीहरूमाथि ११ जेठमा मुद्दा दायर भएको थियो भने सो मुद्दामा ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् । राजावादी आन्दोलनका कमान्डर प्रसाईंसहित ७ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो । १५ चैतमा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा १ जना पत्रकारसहित २ जनाको ज्यान गएको थियो । आन्दोलनका क्रममो निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।

तीनकुने घटनाको मुख्य जिम्मेवार प्रसाईं

अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका ७ जनालाई तिनकुने घटनाको मुख्य अभियुक्त मानिएको छ । कर्तव्य ज्यानको समेत मुद्दा चलाइएका ७ जनामध्ये दुर्गा प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवार व्यक्तिको रूपमा व्याख्या गरिएको छ । त्यस्तै, कारागार चलान भएका कुमार तामाङलाई जडीबुटी प्रशोधन केन्द्रको कारखानामा आगो लगाउने व्यक्ति, गोकर्ण शाहीलाई प्रसाईंको गाडीमा झुन्डिँदै हिंसा भड्काउन उक्साउने व्यक्ति भनिएको छ ।

अदालतले सरोज गौतमलाई पुर्पक्षका लागि जेल पठाउनुपर्ने आधारमा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउने व्यक्ति भएको र सुशील बरालले दमकललाई आगो निभाउन अवरोध गरेको भनिएको छ । त्यस्तै इन्द्रमणि रेग्मीले पत्रकार सुरेश रजक मृत भेटिएको तीनकुनेस्थित घरमा र केशब बस्नेतले जडीबुटी प्रशोधन केन्द्रमा राखेका गाडीमा आगो लगाएको उल्लेख छ ।

रविन्द्र र धवलशमशेर अझै फरारकै सूचीमा


गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा हिंसा भड्काउन भीड उचालेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवलशमशेर राणा भने अझै प्रहरीको फरार सूचीमा छन् । गत चैत १५ गते राति पक्राउ परेका महामन्त्री राणा क्यान्सरको फलोअप उपचार गर्न भन्दै वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए भने वरिष्ठ उपाध्यक्ष मिश्र सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत् पक्राउ परेको ४९ औँ दिनमा गत जेठ २ गते रिहा भएका थिए ।

तर, यी दुवैजना सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा लैजाँदा उपस्थित भएनन् । स्रोतका अनुसार उनीहरू कानुनी परामर्शपछि अदालतमा उपस्थित हुने बताइएको छ । काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा उनीहरूलाई पनि प्रतिवादी बनाइएको थियो । तर, थुनछेक बहस हुँदा उनीहरू उपस्थित भएनन् । अब उनीहरू अदालतमा हाजिर भएपछि थुनछेकको प्रक्रिया सुरु हुन्छ । अन्य प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमै बस्नुपर्ने स्थिति आउनस

प्रतिक्रिया