महोत्तरी । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खननमा स्थानीय सरकारकै मिलेमतो रहेको आरोप लागेको छ । महोत्तरीको गौशाला नगरपालिकाका मेयर दीपेन्द्र महतोको निर्देशनमा पालिकाको मरहा, बाके खोलामा भयावह उत्खनन भइरहेको स्थानीयको आरोप छ ।
मेयर महतो एमालेबाट संघीय सांसद बनेका लक्ष्मी महतो कोइरीका छोरा हुन् । शक्तिको आडमा मेयरले गलत कामलाई प्रोत्साहन गरिरहेको र पछिल्लो समय नगर क्षेत्रमा अराजकता बढाएको स्थानीयको आरोप छ ।
उत्खननको विषयमा गुनासो बढेपछि मंगलबार जिल्ला समन्वय समितिले उत्खनन क्षेत्रमा अनुगमन गर्दा उत्खननमा कैयौँ त्रुटि भेटिएको जिसस सभापति सुमनलाल कर्णले बताए । ‘नगरले ठेक्का लगाएको खोलामा मात्र होइन, अन्य खोलाहरूमा पनि वातावरणीय सन्तुलन नै ध्वस्त बनाउने गरी उत्खनन भइरहेको देखियो,’ सभापति कर्णले भने, ‘एकातिर व्यापक राजस्व छली भइरहेको छ भने अर्कातिर वातावरण ध्वस्त बनाउने दिशामा अगाडि बढेको देखियो ।’
अनुगमनका क्रममा ९ फिटसम्म गहिरो खनेर उत्खनन गरेको पाइएको छ । आइई रिपोर्टले निर्दिष्ट गरेभन्दा २ गुणा बढी नदीजन्य पदार्थ निकालेको खाल्डोसमेत भेटिएको समन्वय समितिले जनाएको छ । उत्खननलाई लिएर जनप्रतिनिधिहरूले समेत मेयर महतोको चर्को आलोचना गरेका छन् । उपमेयर रेणुकुमारी महतोले अनुगमनको पाटो चुस्त बनाए पनि कसैबाट अपराधको संरक्षण भइरहेको आशंका व्यक्त गरिन् ।
बाके खोलाको वडा–१२ लक्ष्मीनिया घाट–घ को ठेक्का राधाकृष्ण निर्माण सेवाले ४२ लाख ४५ हजार रुपैयाँमा पाएको छ भने मरहा खोलाको ठेक्का अनिश कन्स्ट्रक्सनले पाएको छ । जेठ मसान्तसम्म सकाउने गरी ठेक्का लगाए पनि मेयरकै मिलेमतोमा सम्झौताभन्दा तेब्बर बढी उत्खनन भइरहेको स्थानीय बताउँछन् ।
‘आइई रिपोर्टदेखि ठेक्का लगाउने प्रक्रियासम्म नै मापदण्ड मिचिएको छ । उपमेयरले यस विषयमा मेयरलाई सचेत पनि गराउनुभएको हो,’ स्थानीय एक युवाले भने, ‘यसमा मेयर सा’बको संरक्षण भएको स्पष्ट देखिन्छ ।’ अनुगमन समितिले पनि उत्खनन क्षेत्रमा घाटगद्दी नगरेको, नगरको प्रतिनिधि नखटाएको, ३ फिटको ठाउँमा ४.५ देखि ९ फिटसम्म उत्खनन गरिएको, स्टक प्रमाणीकरण नगरी बिक्रीबितरण गरिएको र कति माल निकालिएको हो भन्ने एकिन नगरी प्रमाण नष्ट गरिएको जस्ता त्रुटि औँल्याएको छ ।
उत्खनन स्थलमा व्यापक विकृति देखिएपछि जिससले उत्खनन स्थलको घाटगद्दी र नापजाँच नगरेसम्म तत्काल उत्खनन रोक्न निर्देशन दिएको छ । यस विषयमा मेयर महतोसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यता संघीय सांसद लक्ष्मी महतो कोइरीले मापदण्डअनुसार नै उत्खनन भइरहेको दाबी गरे । विकासका कामहरूमा नदीजन्य पदार्थ नभई नहुने हुँदा स्थानीय सरकारले मापदण्ड अनुसार नै उत्खनन गरेको उनको भनाइ छ । ‘बाके खोलामा चाहिँ मापदण्डविपरीत उत्खनन भएको सुनेको छु । भोलि जान्छु अनुगमन गर्न,’ उनले भने ।
सांसद कोइरीले आफ्नो छोराले मापदण्डअनुसार नै गरेको दाबी गरे पनि स्थानीय युवा देवनारायण महतो भने खोलामा १० वटाभन्दा बढी एक्साभेटर प्रयोग गरेको र अवैधानिक तवरले खनिरहेको बताउँछन् ।
प्रतिक्रिया